चीनले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को १००औँ स्थापना दिवस सप्ताहव्यापी रूपमा मनाएको छ । सन् १९२१ जुलाई १ का दिन साङ्घाईमा सम्पन्न पहिलो बैठकको स्मरण गर्दै उक्त दिनलाई चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो स्थापना दिवसका रूपमा मनाउँदै आएको छ । यसै अवसरमा नेपाल र चीनका नेताहरूबीच भएको भर्चुअल बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेपाली नेताहरूले चीनको समृद्धि तथा चिनियाँ जनताको सुखमय जीवनका लागि शुभकामना व्यक्त गर्नुभएको छ । सशस्त्र युद्ध गरेको चिनियाँ कम्युनिस्ट पार्टीले सन् १९४९ मा बेइजिङमा जित हासिल गरी सोही वर्ष अक्टोबर १ मा चीनका संस्थापक माओत्सेतुुङले चीनलाई जनवादी गणतन्त्र घोषणा गरेपछि चीनले प्राप्त गरेका सफलता विश्वकै लागि उदाहरणीय बनेका छन् । कम्युनिस्ट पार्टीले नेतृत्व गरेको चीन विश्वकै समृद्ध र शक्तिशाली मुलुकका रूपमा स्थापित हुँदैछ । माओपछिका चिनियाँ नेताले माक्र्सवादको सिर्जनशील प्रयोग, माओ विचारधाराको सफल अवलम्बन गर्दै चीनलाई आजको उचाइमा पु¥याउन विशिष्ट योगदान दिनुभएको छ । वर्तमान राष्ट्रपति सी चिनफिङको नेतृत्व चीनको अर्थतन्त्रलाई अभूतपूर्व उचाइमा पु¥याउँदै चीनलाई विश्वशक्तिको अग्रपङ्क्तिमा उभ्याउन सफल छ । पार्टीको सतवार्षिकीका क्रममा तियानमेन स्क्वायरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै पार्टी महासचिव तथा राष्ट्रपति सीले चिनियाँ कम्युनिस्ट पार्टी माक्र्सवादलाई चिनियाँ परिवेशअनुसार लागू गर्दै विश्व शान्ति कायम गर्न, विश्व विकासमा योगदान दिन र अन्तर्राष्ट्रिय प्रणाली प्रवद्र्धन गर्न चीन सधैँ क्रियाशील रहेको सन्देश व्यक्त गर्नुभएको छ । उहाँले चिनियाँ कम्युनिस्ट पार्टीले मात्रै देशमा स्थायित्व कायम गर्नसक्ने र विभाजनका कुनै पनि विदेशी प्रयासलाई पार्टीले सहजै विफल पार्नसक्ने विश्वास व्यक्त गर्नुभएको छ–‘‘कम्युनिस्ट पार्टी विना नयाँ चीन सम्भव छैन ।’’
राष्ट्रपति सीको सम्पूर्ण वक्तव्यको सारमा चीनको आत्मविश्वासको झल्को पाइन्छ ।
सन् १९७८ बाट आर्थिक सुधार थालेको चिनियाँ अर्थतन्त्रमा पछिल्ला वर्ष प्राप्त उच्च आर्थिक वृद्धिदरका लागि सरकारी र निजी क्षेत्रको भूमिका सराहनीय देखिन्छ । उत्पादनका सबै साधन राज्य (सरकार) नियन्त्रित हुनुपर्ने कार्लमाक्र्सका सिद्धान्तलाई चिनियाँ शैलीको समाजवादमार्फत चीनले गरेको प्रगति छिमेकी मुलुक नेपालका लागि पनि सन्तोषको विषय बन्दै आएको छ । नेपाल छिमेकी तथा विश्वमा शान्ति तथा समृद्धिमा विश्वस्त रहेकाले चीनको विकासप्रति हर्षित हुनु स्वाभाविक छ । आर्थिक रूपमा विश्व प्रमुख बन्ने यात्रामा रहेको चीन विश्वको विकासका लागि पनि उत्तिकै प्रभावी हुँदै आएको छ । वि.सं. २०७६ असोजमा नेपालको राजकीय भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीले भन्नुभएको ‘‘भूपरिवेष्टित देशबाट भूजडित देश बन्ने नेपालको सपना साकार तुल्याउन मद्दत गर्नेछौँ’’ उद्गारलाई नेपालीले उच्च प्रतीक्षाका साथ सम्मान गरेका छन् । कोरोना (कोभिड–१९) को रोगथाम, उपचार सामग्री तथा खोपमा चीनले प्रदर्शन गरेको उदार हृदयको आम नेपालीले उच्च प्रशंसा गरेका छन् । सन् १९५५ मा दौत्य सम्बन्ध स्थापना भई नेपाल र चीनबीच आधुनिक सम्बन्ध विस्तार हुनुअघि नेपाली तथा चिनियाँ बौद्धहरूको दुवै देशतिरको आपसी भ्रमण, नेपाली राजकुमारी भृकुटीको तिब्बती राजासँगको विवाह, १३औँ शताब्दीमा नेपाली कलाकार अरनिकोद्वारा स्थापित सांस्कृतिक परम्पराले हाम्रा औपचारिक सम्बन्धलाई निःसृत गरेका छन् । चीनको शुभचिन्तक छिमेकी मुलुक नेपाल एक चीन नीतिप्रति सदैव प्रतिबद्ध रहँदै आएको छ । दुवै मुलुक पञ्चशीलका सिद्धान्तमा प्रतिबद्ध रहँदै एक अर्काको आन्तरिक मामिलामा अहस्तक्षेप, सार्वभौमिकताको सम्मान, सहअस्तित्व, समझदारी, असल मित्रता तथा छिमेकीपनको अभ्यासले आपसी सम्बन्धलाई थप उचाइ दिन कृतसङ्कल्पित छन् ।
वर्तमान नेपाल सरकार मुलुकमा विद्यमान पछौटेपनको अन्त्य गरी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय अभियानका साथ अघि बढिरहेको सन्दर्भमा चीनले गर्ने आर्थिक तथा नैतिक सहयोग नेपालको विकासका लागि सहायक हुनेछ । पछिल्ला दशक नेपाल भित्रँदै गरेको बढ्दो चिनियाँ लगानीले विकासशील नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न थप मद्दत गर्नेछ । चीनले प्रतिबद्धता जनाएको चीन–नेपाल सीमापार रेलमार्ग, अरनिको राजमार्गको सुनिश्चित सञ्चालन, केरुङ–काठमाडौँ सुरुङमार्गजस्ता परियोजनाले नेपाल चीनको सम्बन्धलाई थप उचाइ मात्र प्रदान गर्ने छैन क्षेत्रीय विकासमा नै सुखद परिणाम दिनेछ । क्षेत्रीय समृद्धि शान्त चीनका लागि पनि अपरिहार्य छ ।