प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना (कोभिड–१९) विरुद्ध लगाइने खोप पूर्ण सुनिश्चित गरिने बताउनु भएको छ । वीर अस्पताल मातहतको नवनिर्मित सर्जिकल भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अधिकतम प्रयास गरेर जनताको जीउज्यानको सुरक्षामा सरकार गम्भीरताका साथ लागिरहेकाले नियमित रूपमा खोप आइरहने विश्वास दिलाउनु भएको छ । सन् २०२१ भित्र लक्षित सबै नागरिकलाई खोप लगाइसक्ने योजना पनि प्रधानमन्त्रीले सार्वजनिक गर्नुभएको छ । नेपालले चीनबाट खरिद गरेको खोपको पहिलो खोप असार २४ गते नेपाल ल्याएर देशका विभिन्न जिल्लामा पु¥याइएको छ । क्रमशः बाँकी ३० लाख डोज पनि चीनबाट ल्याइनेछ । यसैगरी अमेरिकाले १५ लाख डोज खोप उपलब्ध गराउनेछ । अमेरिकाले ‘अमेरिकी जनतामार्फत नेपाली जनतालाई उपहार स्वरूप उपलब्ध गराइने’ जोन्सन एण्ड जोन्सनद्वारा उत्पादित खोप आज सोमबार नेपाल आइपुग्नेछ । अमेरिकाले अनुदान सहयोगमा दिने खोप एक व्यक्तिले एकपटक (एक मात्रा) मात्र लगाए पुग्ने भएकाले यसले १५ लाख नागरिक लाभान्वित हुनेछन् । जापानले पनि सुरुमा तीन लाख डोज खोप उपलब्ध गराउने बताएको छ । सरकारले अन्य मुलुकबाट पनि खोप किनेर ल्याउने र विश्व स्वास्थ्य सङ्गठनले उपलब्ध गराउने कोभ्याक्सअन्तर्गतको खोप पनि आउने अवस्था रहेकाले खोपको सुनिश्चितता बढेको छ । यसबीचमा स्वास्थ्य संरचना, कोरोना परीक्षण तथा उपचार, अक्सिजनको उपलब्धता र कोरोनाको उपचारमा प्रभावकारी मानिएको रेम्डेसिभिरको उत्पादनमा उल्लेख्य प्रगति हासिल भएको छ भने विगतमा जस्तो अस्पतालको बेड र अक्सिजन अभाव नहुने अवस्था विकसित भएको छ । आगामी दिनमा आउन सक्ने कोभिडको नयाँ लहरमा बालबालिकामा सङ्क्रमण बढ्न सक्ने सम्भावनालाई मध्यनजर गरेर सरकारले सबै अस्पताललाई बालशøया लगायतको व्यवस्थापन गर्न निर्देशन दिएको छ । यस्ता उपलब्धि र पूर्व तयारीले आगामी दिन सुरक्षित बनेको देखिन्छ ।
दोस्रो लहरको कोरोनाले नेपालमा अघिल्लो पटकको भन्दा ठूलो मानवीय क्षति भए पनि क्रमशः त्यो अवस्था नियन्त्रणमा आउँदै गरेकाले जनजीवनलाई पूर्ववत् अवस्थामा फर्काउने निर्णयका साथ कतिपय स्थानमा निषेधाज्ञा हटाइएको छ भने कतिपय स्थानमा खुकुलो बनाइएको छ । मुलुकैभर जनजीवन सामान्य बनेपछि केही दिन यता सङ्क्रमितको सङ्ख्या बढेकोमा चिन्ता व्यक्त गरिएको छ । सङ्क्रमितको सङ्ख्या बढे पनि यो नयाँ लहर नभएर दोस्रो लहरकै सङ्क्रमण भएकाले आत्तिनुपर्ने अवस्था नरहेको सम्बन्धित जानकारले बताएका छन् तर उनीहरूले स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने आवश्यकतालाई पहिलो सर्तमा राखेकाले सम्पूर्ण नागरिकले सचेतना अपनाउनै पर्छ । जनजीवन सामान्य बनाउन निषेधाज्ञा खुकुलो पार्दै लैजानुपर्ने र नागरिकले स्वास्थ्य मापदण्ड पनि पालना गर्न नसक्ने हो भने अवस्था असामान्य बन्न सक्छ । दोस्रो लहरका बेला नेपालले जति कष्ट अनुभव गरेको भए पनि यसअघि लगाइएको र हाल उपलब्ध हुँदै गरेका खोपको सुनिश्चितताले नागरिकमा आत्मविश्वास बढेको छ । खोपको सुनिश्चितता बढेसँगै सरकारले पनि लामो बन्दाबन्दीको औचित्य नदेखेर जनजीवन खुकुलो गरेको छ तर सङ्क्रमणको अवस्था पूर्ण नियन्त्रणमा नआएकाले भीडभाड हुने केही क्षेत्र अझै खुलाउन बाँकी रहेकाले आमनागरिकले पनि अवस्थाको गाम्भीर्यता बुझेर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन उदासीन हुनुहुँदैन । स्वास्थ्य मापदण्ड अपनाउनु भनेको आफू सुरक्षित हुनु हो ।
सरकारले राजधानी उपत्यकालगायत देशका विभिन्न भागमा सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको भए पनि सरकारसँगको सहमतिअनुुसार यातायात व्यवसायी, चालक र सहचालकले यात्रु सङ्ख्या र उल्लिखित स्वास्थ्य सामग्रीको प्रयोगमा ध्यान नदिएका समाचारहरू आएका छन् । र, दृश्य पनि यस्तै छ । यात्रु पनि स्वास्थ्य सुरक्षामा सचेत देखिँदैनन् । बजारमा नागरिकको भीडभाड बढेको छ यस्ता प्रवृत्तिले अवस्था बिग्रन गएमा पुनः कठोर निर्णयका साथ सरकारले अप्रिय कदम पनि चाल्नुपर्ने हुन्छ । त्यसैले विद्यमान अवस्था बिग्रन नदिन सबैले कर्तव्यनिष्ट हुनुपर्ने दायित्व बिर्सन हुँदैन । एकातिर खोप, अक्सिजन, रेम्डेसिभिरको उपलब्धताले वातावरणलाई सुनिश्चित बनाएको छ अर्कोतिर युरोपका केही देशलगायतमा देखिएको कोरोनाको सम्भावित तेस्रो–चांैथो लहरले नेपालजस्ता देशलाई गम्भीर बनाउनु स्वाभाविक भएकाले सरकार र नागरिकले निर्वाह गर्नुपर्ने दायित्वमा कोही कहीँ चुक्नु हुँदैन ।