logo
२०८१ माघ ५ शनिवार



स्थानान्तरण कि बसाइसराइ (सम्पादकीय)

विचार/दृष्टिकोण |




भौगोलिक, पर्यावरणीय तथा सांस्कृतिक दृष्टिले नेपाललाई मोटामोटी तीन भागमा विभाजन गर्ने गरिएको छ– हिमाल, पहाड, तराई–मधेस । यी क्षेत्रको भौगोलिक विशेषता मात्र भिन्न छैन, यहाँका सम्भावना र समस्या पनि फरक फरक छन् । हिउँले छोपिएका हिमशृङ्खला नेपालको जलस्रोत, जलविद्युत् तथा पर्यटन प्रवद्र्धनमा सेता–दाम (श्वेत मुद्रा) साबित हुँदैछन् । उचित व्यवस्थापन गर्न नसक्दा हिमपहिरो, हिमपात र हिउँवर्षाले त्यहाँको जनजीवन कष्टकर हुने गरेको छ । हिउँले काटिएका हातगोडाका दृश्य र हिमालको सम्भावनालाई सँगै राखेर हिमालको व्यवस्थापन गर्नुपर्छ । जनजीविकाको समग्र सम्भावना बोकेको पहाड पहिरो र बाढीले हरेक वर्ष त्राहीमाम हुन्छ । अन्नभण्डार तराई–मधेस कहिले डुबेर र कहिले सुक्खाले प्रताडित हुन्छ । तीनै क्षेत्रमा विशिष्ट सम्भावना र भिन्नभिन्न समस्या रहेकाले नेपालले विकास निर्माणका दृष्टिकोण तथा गतिविधि तय गर्दा क्षेत्रका सम्भावना र चुनौतीलाई आत्मसात् गर्नुपर्छ । बर्सेनि हुने बाढीपहिरो, भूकम्पीय जोखिमका कारण नेपालका कतिपय बस्ती मानव बसोवासका लागि उपयुक्त छैनन् । २०७२ सालको भूकम्पपछि कतिपय बस्ती स्थानान्तरण गर्नुपर्ने विज्ञहरूले बताउँदै आएका छन् । राष्ट्रिय योजना आयोगले १५ वटा हिमाली/पहाडी जिल्लाका १२६ वटा प्राकृतिक विपद्युक्त बस्तीको पहिचान गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएको छ । बस्ती स्थानान्तरण गरी एकीकृत बस्ती निर्माणका लागि आयोगले तत्तत् जिल्लामा २८ स्थानको पहिचान पनि गरेको छ ।
बासस्थान स्थानान्तरण सहज विषय होइन । बाससँग मानिसको गास जोडिएको हुन्छ । संस्कृति र सम्पदा जोडिएको हुन्छ । इतिहास र मौलिकता गाँसिएको हुन्छ । घरसार र बसोवास स्थानान्तरण त्यसैले भिन्न भिन्न तौलका समस्या हुन् । हिउँदमा पहाडतिर झर्नु र वर्षा लागेपछि हिमालतिर फर्कने ‘घरसार’ संस्कृति नेपाली सम्बद्ध समुदायका लागि नौलो अभ्यास होइन तर बाख्रा पाल्न चाहिने चरन, पानी खान चाहिने पधेँरो, कुलदेवताको स्थानजस्ता सम्भावना र पहिचान छाडेर मानिस फगत नयाँ स्थानमा जान तयार नहुन सक्छ । यसर्थ स्थानान्तरणसँगै उसलाई जीवन निर्वाहको प्रत्याभूति दिनुपर्छ । गरी–खान आवश्यक सबै विकल्प प्रदान गर्न नसक्दासम्म बस्ती हस्तानान्तरण सहज हुनेछैन । जीवन निर्वाहका लागि पर्याप्त सम्भावना देख्यो भने मात्र मानिस आफ्नो थातथलो वा जन्मदेश छाडेर अन्यत्र जान्छ अन्यथा त्यही माटो, पाटो वा बाटोमा खनीखोस्रीमै रमाउँछ । यसो गर्नु उसको बाध्यता पनि भएकाले बस्ती स्थानान्तरण गर्नुपूर्व नयाँ स्थानमा के कस्ता सुविधा र सम्भावना प्राप्त हुनेछ भन्नेमा उनीहरूलाई विश्वस्त बनाउनुपर्छ । बस्ती सुरक्षित स्थानमा सारियो तर खेतीपाती, गोठगोठाले र घाँसदाउरा त्यही असुरक्षित पाखोमा गर्नुपर्ने अवस्थामा स्थानान्तरित व्यक्ति, परिवार तथा समुदाय कति सुरक्षित हुनेछ ? घरले मात्र मानिसलाई सुरक्षा गर्ने होइन ।
धेरै काम हुन सकेका छैनन्, प्रशस्त समस्या पनि देखिएका छन् तर चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको एउटा सिङ्गै पदमपुर गाविस (तत्कालीन) चितवनकै जुटपानीमा स्थानान्तरण गर्दा केही मोडल अपनाइएको छ । सो मोडल केही सफल पनि देखिएको छ । पदमपुरको तुलनामा जुटपानीमा उपलब्ध सुविधा तथा अवसर (बजारसँगको सम्पर्क) का काराण पनि त्यहाँको स्थानान्तरण सम्भव भयो तर सबै स्थानमा उक्त मोडल लागू नहुन सक्छ । बस्ती स्थानान्तरण एउटा आवश्यकता हुनसक्छ तर सत्य कुरा के पनि हो भने हाम्रा पहाड–पर्वतलाई सम्याउन सम्भव छैन भने पहाड–पर्वत अनुकूल विकासका मोडल तयार गर्नुपर्छ । सडकले बस्ती जोखिम हुन्छ भने राज्यले निःशुल्क रोपवे वा केबुलकारजस्ता प्रविधिलाई सडकको विकल्प बनाउन सक्छ । अहिले नै चुरे संरक्षण गरिएन भने केही वर्षपछि तराई–मधेसका कतिपय बस्ती मरुभूमिको चपेटामा पर्न सक्छन् र पानी खोज्दै बस्ती स्थानान्तरण गर्नुपर्ने हुनसक्छ । कहीँं पानी नभएर, कहीँ पानी र पहिरोका कारण बस्ती स्थानान्तरण गर्दै जाने हो भने नेपालमा हाल वितरित जनसङ्ख्याको व्यवस्थापन र भू–उपयोगमा नयाँ चुनौती आउने छन् । यसर्थ विकास संरचना पु-याउन अति खर्चिला, अति जोखिमपूर्ण बस्तीका परिवार तथा समुदायलाई जीवन निर्वाहका नयाँ विकल्प दिएर बसाइसराइप्रति पे्ररित गर्न सकिन्छ । बस्ती नै स्थानान्तरण कर्णप्रिय भए पनि निकै चुनौतीपूर्ण रहेको यथार्थ बिर्सन हुँदैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?