दुर्गाप्रसाद गौतम
पार्टी जीवनमा महाधिवेशनको ज्यादै ठूलो महìव रहन्छ । कुनै पनि राजनीतिक दलले आफ्नो ऐतिहासिक कार्यभारको समीक्षा, आत्मालोचना, वर्तमान जीवनको सजीव चित्र र भविष्यको जीवनको सुस्पष्ट चित्र कोर्ने साधनका रूपमा महाधिवेशनलाई अख्तियारी गरिएको हुन्छ । महाधिवेशन पार्टीको विद्यमान विचार, विमर्श तथा नीतिको गहन छलफल गर्ने थलो हो । जनताको राष्ट्रिय जीवनमा परेका सकारात्मक, नकारात्मक भावको समीक्षा गर्ने थलो पनि हो– महाधिवेशन । यही थलोबाट पार्टी जीवनलाई पुनर्ताजगी गरी जनउपयोगी र सान्दर्भिक बनाउने विचारको अनुमोदन र सोहीअनुरूपले नेतृत्व चयन गरिने परिपाटीको विकासका लागि महाधिवेशन महìवपूर्ण थलो हो । प्रजातान्त्रिक राज्य व्यवस्थामा मूल नीतिहरू प्रायः स्थिर प्रकृतिका रहने शास्त्रीय दृष्टिकोणवादीहरूले महाधिवेशनमा केवल नेतृत्व चयनलाई मात्र प्राथमिकता दिने गर्छन् । किनकि यस्तो विचारको पक्षपोषण गर्नेहरूले धेरथोर सैद्धान्तिक विचारका उपयोगी पक्षमा खासै ध्यान पु¥याउन र समयसापेक्ष यसको उपादेयतामाथि गम्भीर छलफल चलाउन आवश्यक नै ठान्दैनन् । त्यसैले यिनीहरूको विचारमा जनताबाट गरिने अपेक्षामा पार्टी खरो उत्रन नसक्दा देखा पर्ने जनमतको नोक्सानीलाई विश्लेषण गर्ने आधारको चयन नै गलत भई ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भन्ने उखान चरितार्थ हुन जान्छ । पार्टी दृष्टिकोणमा समय सन्दर्भले ल्याएको परिवर्तन र उक्त परिवर्तनमा जनताको भूमिका एवं पार्टीको अवस्थितिलाई परिभाषित गर्न सक्नुपर्छ । यसो गर्दा मात्र पार्टीले समय सन्दर्भ र आवश्यकताअनुसार आफूलाई ढाल्दै जनताको उपभोग्यताको आवश्यकतालाई समेत सम्बोधन गरी आफ्नो सार्थकता पुष्टि गर्न सक्छ । यी सबै कुराको विशेष छलफल, विचार, विमर्श गर्ने सबैभन्दा उपयुक्त र सान्दर्भिक थलो भनेको पार्टीको महाधिवेशन नै हो ।
नेपालको सबैभन्दा पाको प्रजातान्त्रिक पार्टी, जसको लामो सङ्घर्षपूर्ण जीवनगाथा छ र पछिल्लो समयमा नेपाली जनताको ठूलो सद्भाव र अपेक्षा रहँदारहँदै पनि जनताबीच विद्यमान ऐतिहासिक जीवनको सार्थकतालाई वर्तमानमा पुष्टि गर्न चुक्दै गइरहेको छ । यसका बारेमा चौधौँ महाधिवेशनको पूर्वसन्ध्यामा काँग्रेसका विभिन्न नेता, कार्यकर्तामा बढ्दै गइरहेको क्रियाशीलता, व्यक्त विचार आदिलाई विश्लेषण गर्दै काँग्रेस पार्टीको पुनर्जीवन के कसरी हुन्छ भन्ने विषयमा धेरैको ध्यान केन्द्रित छ ।
नेपाली काँग्रेस चौधौँ महाधिवेशनको सँघारमा पुगिसक्दा पनि अझै अन्योलबीच नै खडा छ । यसका अधिकांश नेताले अधिवेशनलाई केवल पार्टीसत्ता कब्जा गर्ने बाटोका रूपमा मात्र बोध गरेको कुरा स्पष्टतः सामाजिक सञ्जालहरूमा व्यक्त भइरहेका छन् । यदाकदा केही नेताले नेपाली काँगे्रसको नेतृत्वमा चुस्तता नभएकै कारण काँग्रेसको विचारमा सुस्पष्टता नआएको हो पनि भनेका छन् । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले चौधौँ महाधिवेशनमा वडा तहदेखि माथिका सबै तहमा पार्टी जीवनलाई बुझेको क्षमतावान र सशक्त नेतृत्व चयन गर्नुपर्छ भनिरहनुभएको छ । त्यस्तै युवापुस्ताका नेताहरू अब काँग्रेस राजनीतिमा पहिलो पुस्ताका नेताले अभिभावकत्वको भूमिका निर्वाह गरी युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्छ भनिरहेका छन् । अर्कोतर्फ आफूलाई दोस्रो पुस्ताका शास्त्रीय उत्तराधिकारी मान्दै आएकाहरूले पन्ध्रौँ महाधिवेशनमा क्षमताबाट माथि उठेको पुस्ताले नेतृत्व हत्याउन सक्ने आकलनसाथ यो पुस्तालाई रोक्नकै लागि आसन्न चौधौँ महाधिवेशनलाई कुनै न कुनै रूपमा प्रभावित पारी काँग्रेसको भावी नेतृत्वमा आफ्नो हिस्सा सुरक्षित गर्न चाहिरहेको देखिन्छ । छ महिना अगाडिसम्म महाधिवेशन नै हँुदैन कि जस्तो व्यवहार प्रस्तुत गरी बसेको संस्थापन पक्ष आफू अनुकूल वातावरण देखेर नै हुनसक्छ, कुनै पनि हालतमा चौधौँ महाधिवेशन गर्नुपर्ने र यसो गर्दा सजिलै बहालवाला सभापतिलाई नै पार्टीको सत्तामा पुनः एकपटक स्थापित गर्न सकिनेमा ढुक्क छ । यसरी हेर्दा नेपाली काँग्रेस चौधौँ महाधिवेशनमा के कस्ता एजेन्डा लिएर जाँदैछ र ती एजेन्डाले प्रत्यक्ष रूपमा जनतामा कस्तो उत्सुकता पैदा गर्न सक्छ, गाउँदेखि केन्द्रसम्म कत्तिको तरङ्गित गर्ला भन्ने कुरालाई खासै ध्यान पु-याउन सकेको जस्तो देखिँदैन । केवल दिनगन्तीमा नै छोटो समय बाँकी भएका बेला मात्र नेतृत्व हत्याउने होडबाजी र यसैका लागि तलदेखि माथिसम्म खडा भएका क्रियाशील सदस्यको विवाद र सोको निरुपण हालसम्म पनि भइनसक्नुले थप पुष्टि गर्न पर्दैन कि नेपाली काँग्रेसका अधिकांश नेता तथा कार्यकर्ताको रुचि केवल सङ्गठनका के कस्ता पदमा नेतृत्व प्राप्त गर्ने भन्नेमा मात्र केन्द्रित छ । महाधिवेशन ज्यादै सन्निकट भइसक्दा पनि केवल नेतृत्वकै बहस मात्र हुनु काँग्रेसको भविष्यको सुनिश्चिताका लागि पनि दुर्भाग्यपूर्ण हो भन्ने काँग्रेसीजनले हेक्का राख्नु आवश्यक छ ।
२०१५ सालदेखि हालसम्मका निर्वाचन जहाँ काँग्रेसले भाग लिएको छ, त्यसमा प्राप्त जनमतलाई हेर्दा यो स्थिर प्रकृतिको देखिन्छ । तथापि २०७२ पछिको जनमत भने तुलनात्मक रूपमा केही कम छ । यही तथ्य कम्युनिस्ट पार्टीहरूको हकमा भने ह्वात्तै बढेको देखिन्छ । यसबाट पनि बुझ्नुपर्छ कि जनउपभोग्य राजनीतिक भाष्यमा नेपाली काँग्रेस नेपालका कम्युनिस्ट पार्टीभन्दा निकै पछाडि परेको छ र यो कोर्सलाई उसले परिवर्तन गर्न जरुरी छ । यसका लागि पनि सबैभन्दा महìवपूर्ण थलो भनेको महाधिवेशन नै हो । यसैलाई प्रयोग गर्दै नेपाली काँग्रेसले आफ्नो सुस्पष्ट दृष्टिकोण जनताबीच राख्न सक्नुपर्छ ।
२०६२/६३ को परिवर्तनपछि नेपाली काँग्रेसको परम्परागत राजनीतिक कोर्समा परिवर्तन आएको छ । त्यसलाई स्पष्ट गर्ने आवश्यकता काँग्रेसले जनता तथा आमकार्यकर्तालाई गराउन सकेको छैन । यति मात्र नभई नेपाली काँग्रेस वैचारिक रूपमा बीपीको समाजवादी चिन्तनबाट केही रूपान्तरित भएको छ । यो रूपान्तरणको स्पष्ट मार्गचित्र काँग्रेसले न त पुष्टि गर्न नै सकेको छ, न त पुष्टि गर्नेतर्फ चासो नै देखाएको छ । नेपाली काँग्रेसका अग्रणी नेताको त्याग, तपस्या र बलिदानलाई मात्र व्याख्या गर्दा पछिल्लो पुस्ता काँग्रेसको वैचारिक, व्यावहारिक तथा कार्यगत धरातललाई ‘मेरा हजुरबुबाले घिउ खानुभएको थियो, ल मेरा हात सुँघ’का रूपमा अथ्र्याउन थालेका छन् । यसो हुनु नेपाली काँग्रेसको वर्तमान र भविष्यका लागि पनि अस्वस्थकर वास्तविकता हो । नेपाली काँग्रेसले साँच्चिकै आफूलाई बीपीको वैचारिक धरातलबाट सिञ्चित क्रान्तिकारी पार्टीका रूपमा यसको छविलाई निरन्तर कायम राख्ने हो भने चौधौँ महाधिवेशनमा केही महìवपूर्ण कुरामा स्पष्ट दृष्टिकोण सम्प्रेषण गर्न सक्नुपर्दछ । बदलिँदो परिस्थितिमा बीपीको समाजवादप्रति, राष्ट्र र राष्ट्रियताप्रति, राजनीतिक व्यवस्थाप्रति, धर्मप्रति, आर्थिक, सामाजिक, सांस्कृतिक व्यवहारप्रति कायम रहिआएको दृष्टिकोणबाट काँग्रेस स्खलित हुनुका स्पष्ट कारणको विश्लेष्ण गर्दै बीपीद्वारा प्रतिपादित दृष्टिकोणप्रति वर्तमान अवधारणालाई स्पष्ट सार्वजनिक गर्न सक्नुपर्दछ । राज्य व्यवस्था सञ्चालन गर्ने अवसरमा नेपाली काँगे्रसले उपलब्ध राज्यका साधनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिचालनमा के कस्तो नीति अवलम्बन गर्न चाहन्छ र त्यसको प्रत्यक्ष तथा परोक्ष लाभ राष्ट्र तथा जनतामा के कस्तो रूपले वितरित हुन्छ भन्ने सम्बन्धमा काँगे्रसको स्पष्ट दृष्टिकोण आउन जरुरी छ ।
वर्तमान समयमा विश्वव्यापीकरण, निजीकरण तथा खुलापनका कारण नेपाली अर्थव्यवस्थामा बढ्दै गइरहेको विदेशी हस्तक्षेपलाई न्यूनीकरण गर्ने सम्बन्धमा नेपाली अर्थतन्त्रका सन्दर्भमा निजीकरण तथा उदारीकरणको हिमायतीको पर्यायवाची बनेको काँग्रेससँग कस्तो दृष्टिकोण छ र उसको वैदेशिक दबाब न्यूनीकरणमा के कस्तो भूमिका हुनेछ भन्ने कुरालाई सम्बोधन गर्न काँग्रेसले अवलम्बन गर्ने नीति र दृष्टिकोण स्पष्ट हुनैपर्छ ।
नेपाली काँग्रेसले वर्तमान संविधानमा रहेका विवादित धाराको सुधार तथा खारेजीका सम्बन्धमा वर्तमान काँग्रेसको धारण के हुने भन्ने स्पष्ट दृष्टिकोण पनि यो महाधिवेशनबाट आउनु आवश्यक छ । यसले विभिन्न समुदायको चासो सम्बोधनमा काँगे्रसको संवेदनशीलतालाई उजागर गर्नेछ । सङ्घीयताको सबालमा धेरै चुनौती र प्रश्न खडा भएका छन् । यसको औचित्य पुष्टि गर्न आवश्यक देखिएको छ । यस सन्दर्भमा नेपाली काँगे्रससँग सङ्घीय गणतन्त्रलाई संस्थागत गर्दै सङ्घ तथा प्रदेशको औचित्यता पुष्टि गर्न के कस्ता आधारहरू प्रस्तुत गर्ने भन्ने निक्र्योल गरिहाल्नुपर्ने बेला भएको छ । अर्कोतर्फ वर्तमान नेपाली समाजको निराशाको जड कुशासन, भ्रष्टाचार, नातावाद तथा कृपावादको सम्बन्धमा नेपाली काँगे्रसप्रति जनतामा रहँदै आएको शङ्कापूर्ण प्रश्नमा काँगे्रसको नीतिगत एवं विश्वसनीय आधार के कस्तो हुने र यस्ता सबालको निरुपण गर्न काँगे्रससँग भएका र हुुने आधार सम्बन्धमा स्पष्ट व्याख्या हुन आवश्यक छ । शिक्षा, स्वास्थ्य तथा रोजगारी सम्बन्धमा काँगे्रसको नीतिगत दृष्टिकोण र व्यवहारगत कार्यशैलीका सम्बन्धमा प्रस्तुत हुन उत्तिकै जरुरी छ । नेपाली अर्थतन्त्रमा निरुसाहित हुँदै गइरहेको उत्पादनमुखी अर्थतन्त्रलाई आयात तथा बिचौलियामुखी अर्थतन्त्रबाट पुनः उत्पादनमुखी बनाउने सूचकाङ्क जगमा रही काँगे्रसले अवलम्बन गर्ने स्पष्ट आर्थिक तथा वित्तीय नीतिमा स्पष्टतासहितको व्याख्या जरुरी छ ।
उल्लिखित यस्ता केही महìवपूर्ण सन्दर्भमा काँगे्रसले अब लिने नीति र दृष्टिकोणबाट मात्र वर्तमान काँगे्रसको पुनर्जीवन र नतिजामुखी काँगे्रस निमार्ण हुनसक्छ । अन्यथा नेतृत्वको होडबाजी र तानातानीकै लागि हुने अधिवेशन र आउने नेतृत्वले नेपाली काँग्रेसलाई पुनर्ताजगीसहित पहिलेकै अवस्थामा पु¥याउँछ भन्ने केवल कोरा कल्पना मात्र हुनेछ ।