स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विज्ञहरूले कोरोना महामारीको तेस्रो लहरको चेतावनी दिइरहेका छन् । सङ्क्रमणको जोखिम बढेको भन्दै आवश्यक तयारीका लागि आग्रहसमेत गरिएको छ । सोमबार एक सरकारी अधिकारीले नै आगामी असोज महिनादेखि कोरोना महामारीको तेस्रो लहर सुरु हुने र पाँच महिनामा दुई लाख सङ्क्रमित थपिने भयावह प्रक्षेपण सार्वजनिक गर्नुभएको छ । अहिले सङ्क्रमण केही मत्थरजस्तो देखिए पनि झन्डै डेढ महिनादेखि सङ्क्रमण दर २०,२१ प्रतिशतको हाराहारीमा रहँदै छ । यो स्थितिले निकट भविष्यमा सङ्क्रमण बढ्ने अनुमान गरिँदै आएको छ ।
असार २९ गते गठन भएको वर्तमान मन्त्रिपरिषद्को पहिलो बैठकले नै असोजसम्ममा एक तिहाइ जनतालाई खोप लगाउने र चैतसम्ममा सबैलाई खोप लगाइसक्ने प्रतिबद्धता जनाएको थियो । १८ वर्षमाथिको उमेर समूहमा सवा दुई करोड नागरिक छन् । एक तिहाइ जनसङ्ख्याका लागि आवश्यक खोप उपलब्धता करिब सुनिश्चित भएको छ भने चैतसम्म तीन करोड मात्रा
खोप ल्याइसक्ने सरकारी अधिकारीले बताएका छन् । तर खोपको प्रबन्ध गर्न निकै मिहिनेत गर्नुपर्ने देखिएको छ । कोभ्याक्स सुविधाअन्तर्गत पाउने र सरकारले किन्न चाहेको खोप सहज रूपमा उपलब्ध हुनसके लक्ष्य हासिल गर्न सजिलो हुनसक्छ । उपलब्ध खोप लगाउन पनि चुनौतीपूर्ण छ । हामीसँग भएको जनशक्ति र पूर्वाधार, दुर्गम स्थानसम्म खोप पु-याउनुपर्ने र मौसमलगायत कारणले चाहेअनुसार खोप लगाउन सक्ने अवस्था छैन । एक खोप लगाए पुग्ने जोनसन खोप लगाउनेको सङ्ख्या सोमबारसम्ममा दुई लाख ६५ हजार ६८६ पुगेको छ । दुई मात्रा लगाउनुपर्ने कोभिसिल्ड र भेरोसिल ३४ लाख पाँच हजार १५४ जनाले पहिलो मात्रा र ११ लाख ५७ हजार ७३० जनाले दुवै मात्रा लगाएका छन् । अहिलेसम्म १८ वर्षमाथिको उमेर समूहका करिब पाँच प्रतिशतले मात्र पूर्ण मात्रा खोप लगाएका छन् ।
कोरोना भाइरसबाट मुक्ति पाउन नसकिने वा धेरै समय लाग्ने विज्ञले बताउँदै आएका छन् । कोरोना भाइरसको नयाँ रूप देखा पर्दै जाने र त्यसले महामारीको लहर ल्याइरहेको छ । पछिल्लो पटक ‘डेल्टा भेरियन्ट’ले विश्वलाई महामारीको चपेटामा पारिरहेको छ । अब तेस्रो लहरको मुखमै रहेको अवस्थामा खोपको सहज उपलब्धता, सङ्क्रमितको उपचारका लागि पर्याप्त शøया, अक्सिजन, भेन्टिलेटर, आईसीयू र औषधिको सुनिश्चितता तथा स्वास्थ्य मापदण्ड पालना नै यो महामारीबाट बच्ने उपाय हुनसक्छ । समुदाय स्तरमै सङ्क्रमण फैलिएकाले फेरि सङ्क्रमण बढ्ने आशङ्का गर्न थालिएको छ । भारतमा सङ्क्रमण दर बढ्न थालेको सङ्केत देखिन थालेको र दुई तिहाइ जनसङ्ख्या कोरोनाको जोखिममा रहेको अनुमान गरिएको छ । भारतको यो स्थितिले नेपालमा जोखिम बढाएको छ । दोस्रो लहरलाई भयावह बनाउन राजनीतिक दलहरूका सभा, जुलुसले सहयोग गरेजस्तै अहिले पनि त्यस्तै कार्यक्रम हुन थालेकाले सङ्क्रमितको सङ्ख्या अपेक्षित रूपमा नघटी स्थिर रहेको अनुमान छ । अब नेपालीका मुख्य चाडपर्व आउने भएकाले सङ्क्रमणको जोखिम उच्च हुनेछ ।
कोरोना सङ्क्रमण नियन्त्रणका लागि खोपको उपलब्धता पहिलो सर्त हो । विश्वमै कम उत्पादन भइरहेकाले पैसा तिर्दैमा खोप पाइने अवस्था छैन । अनुदान, सहयोगमा पाइने खोप कहिले, कति पाइन्छ भन्ने टुङ्गो हुँदैन । महामारी बढेपछि सङ्क्रमित र मृत्युको सङ्ख्या देखाएर हारगुहार गर्ने विगतको प्रवृत्ति अन्त्य हुनुपर्छ । सङ्क्रमितको उपचारका लागि आवश्यक सुविधाका लागि पनि अहिलेदेखि नै तयारी चाहिन्छ । विगतको तुलनामा खोप र स्वास्थ्य सामग्री, उपकरणको उपलब्धता बढेको भए पनि तिनको व्यवस्थापनामा चुनौती देखिएको छ । उपकरण भए पनि तिनको प्रयोग हुन नसकेका उदाहरण धेरै छन् । यसका लागि स्वास्थ्य क्षेत्रको नेतृत्व योग्य, सक्षम र इमानदार व्यक्तिको हातमा हुनुपर्छ । यो क्षेत्र विवादमुक्त हुनुपर्छ र पारदर्शिता अपनाउनुपर्छ । विगतका घटनाबाट वर्तमान सरकारले पाठ सिक्दै जनस्वास्थ्यका विषयमा गम्भीर बन्नैपर्छ । महामारीको समयमा पनि खोप लगाएका व्यक्तिले पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ ।