यस वर्षको मनसुन असोज पहिलो सातातिर बाहिरिने अनुमान छ । तीन महिनाजति रहने यो मनसुनमै अधिकांश नेपालीको कृषिमा आधारित जीविकोपार्जन निर्भर छ तर यसले निम्त्याउने विपत्तिको क्षति पनि धेरै छ । मनसुनसँगै तराईमा डुबान र पहाडमा पहिरो बर्सेनि दोहोरिने घटना हुन् । प्रत्येक वर्ष मनसुनले धेरैको ज्यान लिन्छ, बेपत्ता बनाउँछ र गाँसबास खोस्छ ।
यस वर्षको मनसुन अन्त्य हुनैलाग्दा शुक्रबार पहिरोमा परी पर्वतमा ११ जना र पोखरामा एक जनाको ज्यान गयो । चार दिनअघि विभिन्न स्थानमा तीन जनाको मृत्यु र दुई जना बेपत्ता भएका थिए । मनसुनको सुरुमै मेलम्ची खानेपानी आयोजनाले ठूलो क्षति बेहोर्नुपरेको छ । सिन्धुपाल्चोक, मनाङ, गोरखा र बझाङको बाढीपहिरो यस वर्षका ठूला विपत्का घटना हुन् । जेठको अन्तिम साताबाट सुरु भएको मनसुनका कारण हालसम्म ६७ जिल्लामा विपत्का घटना भएका छन् । गृह मन्त्रालयका अनुसार मनसुन सुरु भएयता बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउनेको सङ्ख्या १२२ जना पुगेको छ भने ४६ जना बेपत्ता र एक हजार २६९ परिवार विस्थापित भएका छन् ।
२९ वटा झोलुगे पुल, २७ वटा पक्की पुल र २५ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । अझै पनि झन्डै डेढ दर्जन राजमार्ग अवरुद्ध छन् ।
नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा छ । विश्वमा नेपाल बहुप्रकोपीय जोखिममा २०औँ, जलवायु परिवर्तनको जोखिममा पाँचौँ, बाढीपहिरोमा ३०औँ, भूकम्पीय जोखिममा ११औँ स्थानमा छ । यसको अर्थ नेपाल सधँै प्राकृतिक प्रकोपको जोखिममै रहेको मुलुक हो । वि.सं. २०२८ देखि २०७२ सम्मको अवधिमा सडक तथा अन्य दुर्घटनाबाहेकका प्राकृतिक तथा गैरप्राकृतिक प्रकोपबाट वार्षिक औसत नौ सय जनाको मृत्यु, एक हजार आठ सयभन्दा बढी घाइते र ३० हजारभन्दा बढी घरपरिवार प्रभावित हुने गरेको अध्ययनले देखाएको छ । बर्सेनि बढिरहेको यो तथ्याङ्कले प्राकृतिक विपत्को जोखिम उच्च भए पनि प्रकोप र त्यसबाट हुने धनजनको क्षति न्यूनीकरण गर्नेतर्फ प्रभावकारी काम हुन नसकेको देखाउँछ ।
प्राकृतिक घटना मानिसको नियन्त्रणभन्दा बाहिर छन् तर ती घटनाका पछाडि मानिसको प्रत्यक्ष–परोक्ष हात रहने गरेको छ । बाढीपहिरो, अधिक वर्ष वा खडेरी, डढेलो, हिमताल विष्फोट, हिमपहिरोलगायतका विपत् घटना जलवायु परिवर्तनका कारण बढेको धेरै अध्ययनले पुष्टि गरेका छन् । जलवायु परिवर्तनका पछाडि मानवीय गतिविधि जोडिएको छ । त्यसैले प्राकृतिक विपत्को पूर्वतयारी र सतर्कता अपनाए मात्रै पनि क्षति कम गर्न सकिन्छ । हाम्रो ज्ञान, व्यवहार र होसियारीले प्राकृतिक प्रकोपका घटना कम गर्न सकिन्छ । भिरालो जग्गामा खेती गर्ने, जोखिमयुक्त स्थानमा बसोबास गर्ने, वनजङ्गल फँडानीजस्ता कामले बाढीपहिरोका घटना मात्रै होइन, क्षति पनि बढाएको छ । भौगोलिक बनावटको अध्ययनबिनै खेतीपाती गर्ने, बस्ती बसाउने र सडकलगायत पूर्वाधार निर्माण गर्ने कामले जोखिम बढाएको हो । धेरै स्थानमा सडक, सिँचाइ, जलविद्युत् आयोजनालगायत सानाठूला आयोजना नै विपत्का प्रमुख कारण बनेका छन् ।
प्राकृतिक विपत् र त्यसबाट हुने क्षतिमा धेरै हदसम्म हामी आफैँ जिम्मेवार छौँ । हाम्रो सचेत व्यवहारले विपत्का घटना नै कम गर्न सक्छ वा त्यसबाट हुने क्षति न्यूनीकरण गर्नसक्छ । मूलभूत रूपमा प्राकृतिक स्रोतसाधनको उचित र दिगो उपयोगमा ध्यान दिने हो भने क्षति कम हुन्छ । वैज्ञानिक भू–उपयोग नीति निर्माण गरी जोखिमरहित ठाउँमा मानव गतिविधि र बस्ती विकास गर्न जरुरी छ । प्राकृतिक प्रकोपका घटना न्यूनीकरण, राहत, सुरक्षित बसोबास, पुनस्र्थापना राज्यको दायित्व हो । यसमा सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले जिम्मेवारी बोध गर्नुपर्छ तर आमनागरिकको सक्रिय सहभागिताबिना यो सम्भव हुँदैन । हाम्रो सचेतना वा सतर्कताले विपत्का घटना कम गर्न वा त्यसबाट हुने क्षति कम गर्न सकिने भएकाले आमनागरिकलाई प्रकृतिक विपत्बारे ज्ञान दिनुपर्छ र सचेत बनाउनुपर्छ ।