logo
२०८१ मंसिर १४ शुक्रवार



आन्तरिक लोकतन्त्रको अभ्यास (सम्पादकीय)

विचार/दृष्टिकोण |




सत्तारूढ नेपाली काँग्रेसको १४आँैं महाधिवेशनको प्रक्रियाअन्तर्गत पार्टीको सबैभन्दा तल्लो वैधानिक निकाय वडा तहको अधिवेशन प्रारम्भ भएको छ । देशका ५८ जिल्लामा पार्टीका क्रियाशील सदस्यताको विवाद टुङ्गो लगाएर काँग्रेसले वडा अधिवेशनको सुरुवात गरेको छ । एकातिर कोरोना(कोभिड–१९) भाइरसको सङ्क्रमण र अर्कोतिर विभिन्न जिल्लामा निरन्तरको बाढी पहिरोलाई चिर्दै काँग्रेसले संवैधानिक प्रावधानको रक्षासमेत गरेर महाधिवेशनको माहोलमा होमिएको छ । पटक पटक विभिन्न तहको अधिवेशनको कार्यतालिका तोक्ने तर अन्तिम समयमा स्थगित हुने अवस्थाबाट समयमा सीमा घर्कदै गएको थियो । यो अवस्थाबाट अगाडि बढेर काँग्रेसले पछिल्लो पटक तयार गरेको निर्धारित कार्यतालिका अनुसार नै वडा तहबाट निर्वाचन प्रक्रिया सुरुवात गरेको हो । यसबाट काँग्रेसले पार्टीको विधान र मुलुकको संविधानको समेत पालना गरेको छ । यसबाट निर्धारित समयमा काँग्रेसको महाधिवेशन हुने विश्वास जागृत भएको छ ।

सात दशकभन्दा लामो इतिहास भएको काँग्रेसको यो महाधिवेशन विगतभन्दा भिन्न रहेको छ । काँग्रेसले यस पटक विधानत साङ्गठनिक संरचनालाई व्यापक परिवर्तन गरेको छ । वडामा सभापति, उपसभापति, सचिवलगायत मुख्य पद निर्वाचनकै माध्यमबाट नेतृत्व स्थापित हुने विधान बनाएर काँग्रेसले नेता कार्यकर्तालाई जनस्तरमा भिज्नुपर्ने, रम्नुपर्ने सन्देश दिएको छ । अर्कोतर्फ, पार्टीले समावेशी प्रतिनिधित्वका आधारमा नेतृत्व विकास गर्ने अवसर सिर्जना गरेर पार्टीभित्र विभिन्न पक्षको आकर्षण बढाउँदैछ । यो हिसाबले सबै तहका संरचनामा समावेशी प्रतिनिधित्वको सुनिश्चित गर्ने काँग्रेस पहिलो पार्टी बन्न पुगेको छ । अब वडा अधिवेशनबाट चयन भएका क्षेत्रीय प्रतिनिधिबाट काँग्रेसको गाउँ तथा नगरपालिका, प्रदेश, क्षेत्र, जिल्ला तहको नेतृत्व चयन हुनेछ । वडा अधिवेशनकै जगमा पार्टीले प्रदेश स्तरको संरचना पहिलो पटक बनाउँदैछ । मुलुकमा सङ्घीय संरचना अनुरूपको संविधान जारी भएको सात वर्ष भए पनि राजनीतिक पार्टीहरू विधिविधान र निर्वाचन अनुरूप आन्तरिक संरचना तयार गर्न सकेका थिएनन् । काँग्रेसले भने अब संविधानको मर्म र भावनाअनुसारको पार्टीको संरचना बनाउने भएको छ ।

पार्टी क्रियाशील सदस्य यो पटक दोब्बरले विस्तार गरी आठ लाखभन्दा बढी पु-याएको छ । त्यसमा पनि युवाको सक्रिय उच्च हुँदै गएको छ । क्रियाशील सदस्य, शुभेच्छुक नेता कार्यकर्ताका लागि पार्टी महाधिवेशन एक खालको राजनीतिक पर्व नै हो । नेता कार्यकर्तामा गाउँगाउँमा पुगेका छन् । यसले नेता कार्यकर्तामा एक खालको उत्साहमा वृद्धि हुनुका साथै मुलुककै राजनीतिमा नयाँ तरङ्ग सिर्जना गरिदिएको छ । पार्टीका केन्द्रीय सदस्यबाहेक केन्द्रीय महाधिवेशनमा आउन सबैले गाउँबाटै नेतृत्व चयन भएर आउनुपर्नेछ । काँग्रेसको अधिवेशनले पार्टीको वडा, नगर, प्रदेश, क्षेत्र, जिल्लामा सबल नेतृत्व मात्रै स्थापित हुने छैन, वडा तहदेखि नै हुने पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले लोकतन्त्रलाई सबल बनाउन योगदान दिन सक्नेछ । पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई लोकतन्त्रको सौन्दर्य पक्षका रूपमा लिइन्छ र काँग्रेस अहिले त्यसैको अभ्यासमा छ ।

दशकाँै लोकतन्त्र र जनताका अधिकारका लागि लडेका राजनीतिक दलहरू लोकतन्त्रका आधारस्तम्भ नै हुन् । पार्टी जति बढी आन्तरिक लोकतान्त्रिक संरचना र गतिविधिमा सहभागी हुन सक्यो, त्यसले मुलुकको लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने गर्छ । लोकतन्त्रमार्फत सङ्घीयता, समावेशी, समानुपातिक सहभागिता तथा युवा प्रतिनिधित्वलाई थप बलियो हुनेछ । महाधिवेशनबाट आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्दै पार्टीभित्र ताजा अक्सिजनको सञ्चार हुनेछ । यसले पार्टी, लोकतन्त्र र सिङ्गो राष्ट्रको बहुआयामिक भविष्य निर्माणका लागि सकारात्मक परिणाम दिन सक्छ ।
नेपालका हरेक लोकतान्त्रिक आन्दोलनमा आफ्नो नेतृत्व स्थापित गर्दै आएको काँग्रेसको महाधिवेशनलाई पार्टीको आन्तरिक जीवनमा मात्रै होइन, पार्टी बाहिरको राजनीतिक वृत्तबाट समेत निकै चासो र रुचिका साथ हेरिएको छ । त्यसैले काँग्रेसको महाधिवेशन पार्टीभित्रका नेता कार्यकर्ताको हारजित सित मात्रै जोडिएको छैन । यो सीधै नेपालको लोकतन्त्रसित गाँसिएको विषय बन्न पुगेको छ । राजनीतिक दलहरू बढी बलियो र लोकतान्त्रिक बन्न सके भने त्यसले नेपालको लोततान्त्रिक आन्दोलनको जग झनै बलियो बनाउनेछ । अरू राजनीतिक दललाई समेत उत्साहित गर्नेछ । स्थानीय, प्रदेश तथा सङ्घीय आम निर्वाचन मुखैमा आएका बेला भएको सुरु महाअधिवेशनले काँग्रेसलाई नेपाली जनताको सेवा गर्दै देशको आर्थिक तथा सामाजिक विकासमा अग्रता दिन ऊर्जा प्रदान गर्न सकोस् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?