उमेशप्रसाद मैनाली
निजामती सेवा दिवस मनाइँदैछ । आफू पनि तीन दशकभन्दा बढी निजामती सेवामा रहेकोले पनि अलि–अलि आफ्नै विगतका घटना–परिघटना सम्झिँदा ‘नोस्टाल्जिक’ भइँदोरहेछ । अर्को सन्दर्भले पनि यस दिवसप्रति विशेष अपनत्व महसुस हुन्छ, त्यो हो २०६१ सालमा प्रथम निजामती दिवस मनाउन तत्कालीन मुख्य सचिवको सहयोगीको रूपमा सानो भए पनि योगदान पु¥याउन पाउनु । त्यसबेला पनि अहिलेकै प्रधानमन्त्री शेरबहादुर देउवा नै प्रधानमन्त्री हुनुहुन्थ्यो । सेना, प्रहरी र सशस्त्र प्रहरीले आ–आफ्नो दिवस मनाउने, सार्वजनिक सेवाकै नेतृत्व गर्ने नेपाली सेनापछिको पुरानो संस्था निजामती सेवाको दिवस किन नमनाउने त ? भन्ने सन्दर्भमा छलफलपश्चात् मुख्यसचिवले पहल गर्नुभयो र प्रधानमन्त्रीको सहमतिपछि प्रथम दिवस धुमधामसँग मनाइएको थियो । अहिलेको संविधान सभा भवनमा भव्य रात्रि भोजसमेत आयोजना भएको थियो । यो क्षणको स्मरणले अहिले पनि रोमाञ्चित गराउँछ । त्यस वर्षदेखि यो दिवसले निरन्तरता पाइरहेछ, आशा छ– भविष्यमा अझ बढी रचनात्मक कार्य गरेर यसले निरन्तरता पाउने नै छ । यो सन्दर्भ किन पनि उल्लेख गरिएको हो भने पछिका निजामती कर्मचारीले यसको इतिहास थाहा पाउनु पर्छ ।
दिवस केवल औपचारिकता निर्वाहका लागि मात्र मनाइँदैन, न त यो कुनै सांस्कृतिक पर्वको रीतिरिवाज जस्तो हो । यो मनाउनु भनेको आफ्नो विगतप्रति गौरवबोध गर्ने, आत्मसमीक्षा गर्ने, कमी–कमजोरीबाट सिक्ने, संस्थाका आदर्शको पुनर्पुष्टि गर्ने र भविष्यका सुधारप्रति प्रतिबद्धता व्यक्त गर्ने हो । चिनियाँ दार्शनिक कन्फ्युसियसले भनेजस्तै, ‘सौन्दर्य बिनाको पद्वी, श्रद्धा बिनाको उत्सव र दुःख बिनाको शोक’को कुनै अर्थ हुँदैन । त्यसैले निजामती कर्मचारीले यसलाई आफ्नो संस्थाको सामाजिक प्रतिष्ठा र जनविश्वास आर्जन गर्ने अवसरको रूपमा लिनुपर्छ । अहिलेसम्म दिइएका नारा र गरिएका सङ्कल्प कति पूरा भए ? जनतालाई यसले केही दिन सक्यो कि सकेन भन्ने समीक्षा गर्नुपर्छ । नत्र यस्ता दिवस नागरिकका लागि सामान्य चासोभित्र पनि पर्दैनन् । यो दिवस अन्य सेवाहरूको जस्तो होइन, जनताको दैनन्दिनको सम्पर्कमा काम गर्नुपर्ने वर्गको हो । त्यसैले केही रुचि नागरिकको र जनप्रतिनिधिहरूको पनि हुने गर्छ । यो स्थायी सरकार भनिने संस्थाको दिवस हो । राजनीतिक नेतृत्वले त राज गर्ने हो, मञ्च, माला र मान–सम्मान पाउने हो । वास्तविक शासन त कर्मचारीले र त्यसमा पनि नागरिक प्रशासन भनिने निजामती कर्मचारीले गर्ने हो भन्ने मान्यता छ । यिनीहरूले कानुनको व्यवस्थित कार्यान्वयन गरेर सामाजिक व्यवहारको नियमन गर्छन्, नीति र कार्यक्रम कार्यान्वयन गरेर वाचा गरिएका राज्यका सेवाहरू वितरण गर्छन् ।
यो सेवा नै समाजको स्थायित्व दिने शक्ति हो र यसले सामाजिक तनाव र द्वन्द्वको समाधान गरेर सामाजिक सामन्जस्य कायम गर्न सघाउँछ । अझ योभन्दा पनि महìवपूर्ण कुरा त यस सेवाले राज्य निर्माण र राष्ट्र निर्माणमा अतुलनीय योगदान पु¥याउन सक्छ । त्यसैले भारतका वल्लभ भाइ पटेलले ‘राष्ट्रियताको स्टिलफ्रेम’ भनेका थिए । राज्य र सरकारको राजनीतिक इच्छाको कार्यान्वयन गर्ने संस्था नै निजामती सेवा हो । जुनसुकै राजनीतिक व्यवस्था वा सरकार किन नहोस्, उसको शासन प्रशासन सञ्चालनका लागि कुशल, प्रभावकारी निजामती सेवा आवश्यक हुन्छ । अझ लोकतन्त्रमा त यसको महìव बढी हुन्छ । नागरिकलाई अधिकारको पहुँच दिन र लोकतान्त्रिक प्रक्रियामा संलग्न गराउन सघाउँछ । त्यसैले यिनीहरूले लोकतन्त्रको वितरण गर्छन् भन्ने गरिन्छ । राज्य र सरकार यसका अङ्गका रूपमा रहेका व्यवस्थापिका, न्यायपालिका बेगर पनि चल्न सक्छ । तर कर्मचारीतन्त्र बेगर चल्न सक्दैन । त्यसैले यसलाई राज्यको चौथो शाखा (फोर्थ ब्रान्च अफ द गभर्नमेन्ट) भन्ने गरिन्छ । यो नै सर्जमिनको सरकार हो र यसले जस्तो अनुभूति दिन्छ, त्यसकै आधारमा सरकारप्रतिको जनधारणा बन्ने गर्छ । राज्यको यति महìवपूर्ण संस्थाको दिवस । त्यसैले बढी गम्भीर, जिम्मेवार र नागरिकको विश्वास जित्ने गरी मनाउन आवश्यक हुन्छ ।
निजामती सेवाका सफलताका कथा प्रशस्त छन्, जसमा यसका सदस्यहरूले गर्व गर्न सक्छन् । २००७ सालदेखि २०१७ सालको परिवर्तनको सफल अवतरण गर्न यो सेवा सफल भएको इतिहास छ । सामान्यतया कर्मचारीतन्त्रलाई परिवर्तनको विरोधी र यथास्थितिमा रमाउने संस्थाको रूपमा लिने गरिन्छ । नेपालको निजामती सेवा स्वयं परिवर्तनको लागि लडेको छ र यसको कार्यान्वयनको सङ्क्रमणकाल राम्रैसँग थामिदिएको उदाहरण छ । पञ्चायती व्यवस्थाको अन्त्यका लागि निर्णायक भूमिका नै कर्मचारीको आन्दोलनको थियो भन्ने कुरा सबै राजनीतिक नेतृत्वले पनि स्वीकारेका छन् । २०६३ सालको दोस्रो जनआन्दोलनमा पनि कर्मचारीको राम्रै भूमिका रह्यो । अझ सशस्त्र द्वन्द्वको बेला राज्यका राजनीतिकलगायत अन्य संस्था निष्क्रियजस्तै भई केन्द्रमा खुम्चिएको बेला राज्यको उपस्थिति ग्रामीण भेगसम्म देखाउने काम सुरक्षाकर्मी र निजामती कर्मचारीहरूले नै देखाएका थिए । यही कर्तव्य पालन गर्दा हजारौँ सुरक्षाकर्मी र सयौँ निजामती कर्मचारीले प्राणको आहुती दिनु प¥यो । यस दिवसमा ती महान् कर्मचारीको आत्माको चिरशान्तिको लागि कामना गर्दै श्रद्धा अर्पण गर्नु पहिलो कर्तव्य हुनुपर्छ । फेरेल हेडीका यी भनाई सान्दर्भिक लाग्छन्, ‘समाजका अन्य अवयवहरू लडखडाएको वा ध्वंस भएको बेला कर्मचारीतन्त्र उठ्दछ ।’ कति महान् छ यस सेवाको परम्परा, जसको लागि गर्व गर्नुपर्छ । तर विगतको गौरवमा रमाएर मात्र सफलता प्राप्त हुँदैन ।
निजामती सेवाको प्रभावकारिता उसको ल्याकत, लगन र लोकप्रियतामा हेर्ने गरिन्छ । यी आधारमा समाजले सेवाप्रति धारणा बनाउने गर्छ । निजामती कर्मचारी ‘आइभोरी टावर’ मा बस्दैनन् र उनीहरू यही समाजमा समाजकै हितका लागि छन् । त्यसैले कर्मचारीतन्त्रलाई समाजको सह–उत्पादन र राजनीतिको उप–प्रणालीको रूपमा लिने गरिन्छ । समाजले कस्तो सोच्छ, त्यसको आधारमा संस्थाले आत्मसुधार गर्न सक्नुपर्छ । नेपालको मात्र होइन, विश्वकै निजामती सेवालाई जनताको प्रिय हुन नसकेको आरोप लाग्ने गरेको छ । नेपालको निजामती सेवा त झन् समाजको सबै वर्गको नजरमा राम्रो छैन । केही कर्मचारीले राम्रो छवि बनाएका पनि होलान्, समग्रमा जनप्रिय छैनन् । सुविधा प्राप्त वर्ग सुविधाबाट वञ्चित भएकोमा, निजी क्षेत्र बढी हस्तक्षेप भएकोमा, राजनीतिज्ञहरू आफ्नो एजेन्डाको कार्यान्वयन भएन भनेर र सेवाग्राही नागरिक ढिलासुस्ती र भ्रष्टाचार भयो भनेर निजामती कर्मचारीप्रति असन्तुष्टि व्यक्त गर्छन् ।
जनतालाई अमूर्त रूपमा हेर्ने अर्थात् कार्टुनचित्रको ‘फ्यान्टम पब्लिक’को व्यवहार गर्नाले सम्बन्धको दूरी बढेको हो । यस्तो किन हुन्छ भने कर्मचारीले पद र अधिकार प्रत्यक्ष जनताबाट प्राप्त गरेका हुँदैनन् । त्यसैले जनताप्रति प्रत्यक्ष उत्तरदायी पनि छैनन् र चुनावमा जानु पनि पर्दैन । लगनशीलता र ल्याकतमा पनि यो संस्था उम्दो देखिएको छैन । राणाकालीन कर्मचारीहरू सिर्जनशील नभए पनि मिहिनेती थिए । सरदार भीमबहादुर पाण्डेले आफ्नो किताब ‘त्यस बखतको नेपाल’ मा लेख्नुभएको छ कि ‘...सास फेर्न फुर्सद पाएमा पैसाको दुई खिल्ली पाइने लालटिन मार चुरोट तीन चार जना कारिन्दाले दम खिचेर सर्को मार्दै पैसाको पाँच छ कुड्का पाइने निलकण्ठे सुपारी चपाउँदै एकचित्तले काम गर्दथे ।’ पञ्चायतकालमा कर्मचारीले शासनशैलीमा काम गर्दथे तर अनुशासित भने थिए । अहिले त कामचोर प्रवृत्ति बढ्दैछ र अनुशासनहीनता पनि बढ्दैछ । शीघ्र परिवर्तनशील प्रविधिअनुरूप ‘सफ्ट स्किल’ र ‘हार्डस्किल’ दुवैको ‘ग्याप’ कर्मचारीमा देखिएको छ ।
सार्वजनिक शासनको क्षेत्रमा नवीन अवधारणाको विकास र यसको सफल अभ्यासले निजामती सेवामा सुधारका लागि नयाँ चुनौती थपिएका छन् । त्यसबाहेक राजनीतिक परिवेशमा आएको ठूलो फड्कोले झन् सुधारको अपरिहार्यतालाई बढाइदिएको छ । यी चुनौतीहरूमा जनविश्वासको आर्जन सर्वोपरि मानिन्छ । यसका लागि सेवा दिने शैलीमा परिवर्तन हुनुपर्छ । पहिलेकाले शासन गरेर सेवा दिन्थे, अबकाले सेवा दिएर शासन गर्न सिकाउनु पर्छ । आफ्ना प्रक्रियाहरू पारदर्शी बनाएर, जनताको प्रतिनिधित्व प्रक्रियामा र संरचनामा गराएर, उनीहरूसँग अन्तक्र्रिया गर्ने मञ्च र ‘फोरम’ बढाएर साँच्चै ‘जनताको डार्लिङ’ हुन सकिन्छ । राज्य सङ्घात्मक स्वरूपमा गएकाले ‘सञ्जालीक्रित शासन (नेटवर्क गभर्नेन्स)’मा काम गर्न सक्षम बनाइनु पर्छ । यो भनेको तीन तहका सरकार र सरोकारवालाहरूसँग निरन्तर सहकार्य र समन्वय गर्ने संरचनात्मक व्यवस्था गर्नु हो । यसमा हाम्रो निजामती सेवा अभ्यस्त छैन । यसबाहेक ‘मूल्यमा आधारित निजामती सेवा’का लागि कर्मचारीलाई प्रशिक्षित तुल्याउन सक्नुपर्छ । अहिले सेवाग्राहीसँगै सेवाको ‘डिजाइन र डेलिभरी’ गर्ने सह–उत्पादनका अवधारणाले व्यापकता पाउँदैछ । नेपालमा पनि सामुदायिक प्रहरी र सामुदायिक वनमा यसको अभ्यास गरिएकै हो । यसलाई विस्तार गरिनुपर्छ । नवीन प्रविधिको प्रयोगले ल्याएको चमत्कारको उपयोग गर्नमा हामी सधैँ ‘ब्याकबेन्चर’ भएका छौँ । अब सेवालाई सम्भव भएसम्म ‘डिजिटाइज्ड’ गर्न आवश्यक देखिन्छ । आर्टिफिसियल इन्टेलिजेन्स’, ड्राइभरलेस कार, क्रिप्टो करेन्सी, ब्लकचेनजस्ता प्रविधिको प्रयोग र यसको नियमन गर्ने क्षमता बढाउन ढिलो भइसकेको छ । सानो पूर्वी यूरोपियन देश इस्टोनियाले आफ्ना नब्बे प्रतिशत सेवा ‘डिजिटाइज्ड’ गरेर ‘डिजिटल गभर्नेन्स’ मा अगुवा भएको छ । यी उदाहरणबाट धेरै सिक्न सकिन्छ । आफू पनि नवप्रवर्तन गर्न नसक्ने र अरूबाट पनि नसिक्ने हो भने यो सेवा पछिपर्ने निश्चित छ । प्रक्रियाले सिर्जनशील हुन दिँदैन र सार्वजनिक बजेटबाट प्रयोग गर्न मिल्दैन भनिन्छ । त्यसैले ‘सार्वजनिक सेवा अनुसन्धान केन्द्र’को रूपमा एक संस्थाको स्थापना गरेर यो काम जिम्मा दिन सकिन्छ ।
निजामती सेवा दिवस कुनै सन्देशसहित मनाउनु राम्रो हो । त्यसको प्राप्तिका लागि प्रेरित गर्न सक्छ । यस दिवसमा तय भएको पाँच वर्षे नारा सही छ, किनकि यसले शासन–सुशासनका सबै पक्ष समेटेको छ । यी आदर्श लक्ष्य मात्र हुन्, जसको प्राप्ति निकै कठिन हुन्छ । अहिलेको आवश्यकता तत्कालका चुनौतीको सामना गर्न सक्षमता बढाउनु हो । चुनौती सधैँ नयाँ हुन्छन् तर हामी अतितको भाषामा यसलाई सामना गर्न खोज्दछौँ । एउटा कुनाबाट अर्को कुनामा पुग्दा हामी परिवर्तित भयौँ भन्दछौँ तर त्यही चार किल्लाभित्र हुन्छौँ । यो चार किल्लाबाट बाहिर निस्केर नयाँ शिराबाट चुनौतीको सामना गर्ने प्रयास भएमा सफलता हात लाग्छ । निजामती सेवाको विकल्प छैन र यसलाई बढी जनमुखी बनाउँदै सुधार गर्नुपर्छ । आशा छ, निजामती सेवा समाजको प्रिय र लोकतन्त्रको परिपूरक संस्था बन्नेछ ।