logo
२०८१ मंसिर १३ बिहीवार



अपराध रोकथाममा सक्रियता (सम्पादकीय)

विचार/दृष्टिकोण |




नेपाली समाजमा केही वर्षयता जघन्य अपराधका घटनामा थरीथरीका प्रवृत्ति देखापर्न थालेका छन् । यस प्रकारका अपराधका घटनाको पछिल्लो उदाहरण सङ्खुवासभाको मादी नगरपालिका–१, उम्लिङस्थित खोलागाउँमा गत भदौ २१ गते भएको जघन्य घटना भएको छ । आफ्ना नजिकका ठूलाबुबा नाता पर्नेले गालीगलौज गर्ने, हेप्ने गरेको भन्दै परिवारका छ जना सदस्यको हत्या गरेको प्रहरी अनुसन्धानले बाहिर ल्याएको छ । घटनामा संलग्न अभियुक्त लोकबहादुर कार्की २६ वर्षीय लक्का जवान हुन् । उनले आफ्नै ठूलाबुबा नाता पर्ने तेजबहादुर कार्कीलाई एकाबिहानै पाँचै बजेको हाराहारीमा मारे । तेजबहादुर कृषि श्रमिक (खेताला) खोज्न गाउँतिर हिँडेका बेला त्यस्तो जघन्य अपराध गरे । उक्त घटना देख्ने कसैलाई पनि उनले बाँकी छोडेनन् । त्यस परिवारका छ जनालाई नै क्रूरतापूर्वक मारे । मारिनेमा ८४ वर्षीया वृद्धादेखि सात वर्षीया बालिकासम्म परे । आफूलाई हेप्ने ठूलोबुबा तेजबहादुरलाई मात्र मार्न खोजेको थिएँ तर सो घटना परिवारका अरू सदस्यले पनि देखेकोले देख्ने जति सबैलाई चिर्पटले हिर्काएर मारेँ भनी उनले प्रहरीलाई बयान दिएका छन् ।

भदौ २१ गतेको यो घटनामा प्रहरीलाई अनुसन्धान गर्नसमेत समय लाग्यो । सुरुमा लोकबहादुर खेलेनन् । लोकबहादुरले नै स्थानीयलाई सो घटनाको जानकारी गराएका थिए । कसले त्यसरी परिवारकै ज्यान दियो भन्ने कुराले वस्ती वरपर त आतङ्क भयो नै, देश–विदेशमा फैलिएको खबर पढ्नेको पनि आङै सिरिङ्ग भयो । घटना भएको झण्डै एक साताको मिहिन अनुसन्धानपछि मात्र प्रहरीले भदौ २७ गते औपचारिक रूपमा घटनाका अभियुक्त लोकबहादुरलाई सार्वजनिक ग¥यो । उनी सुरुबाटै प्रहरीको निगरानीमा रहे पनि उनले हत्तपत्त घटना स्वीकार गरेनन् । आफूले घटना पहिले देखेको दाबी मात्र गरिरहे तर अपराध गर्दा कहीँ न कहीँ चुक भएकै हुन्छ र प्रमाण देखापर्छ । मादी घटनामा पनि त्यही भयो । तेजबहादुरका छिमेकी पनि रहेका लोकबहादुरको घर खानतलासी गर्दा हत्यामा प्रयोग भएको कपडा भेटियो । उनले कपडामा लागेको रगत पाखालेर सुक्दै नसुकेको कपडा बाकसमा कोचेका रहेछन् । सो फेलापरेपछि विस्तारै उनी गल्दै गए । अन्ततः उनले अपराध स्वीकार गरेको प्रहरीको भनाइ छ ।


खासमा लोकबहादुर मानसिक समस्या (डिप्रेसन)मा रहेको पाइएको छ । उनी एक वर्ष अघिदेखि औषधि खाइरहेका थिए । दुई–दुई पटक वैदेशिक रोजगारीमा गएका भए पनि छोटो समयमा फर्किएका उनी विदेश गएको ऋण तिर्नसमेत सफल भएका थिएनन् । यस्तै केही कारणले उनले औषधि प्रयोग गरेको हुनुपर्छ । तर प्रहरीको छानबिनका क्रममा उनले जे जस्तो अड्डी लिए, त्यसले भने उनमा मानसिक समस्या भएको जस्तो देखिँदैन । यहाँ प्रसङ्ग अभियुक्त लोकबहादुरबाट उठान भए पनि हत्या र त्यो पनि एकभन्दा बढीको एकै पटक हत्याका घटनाले हाम्रो समाज कतातिर जाँदैछ भन्ने गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको छ । विगत चार वर्षमा देशभर २५ वटा सामूहिक हत्याका घटना भएको प्रहरीको तथ्याङ्कमा देखिएको छ । यस्ता हत्यामा पारिवारिक विवाद, यौन तृष्णा, डिप्रेसनलगायतका मानसिक समस्या, अनैतिक सम्बन्ध, रिस, आवेग, सम्पत्ति, जग्गा विवाद, लेनदेन आदि देखिएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

अपराध पनि समाजकै विकृत उपज हो । त्यसैले अपराधमा दोषीले सजाय भोग्छ, भोग्नुपर्छ तर अपराध किन भइरहेछ ? समीक्षा गरी अपराधै हुन नदिने अवस्थातिर राज्य र समाजको प्रयास हुनुपर्ने देखिन्छ । सामाजिक शिक्षा, धर्म, संस्कृति, परम्परा आदिले सुसंस्कृत समाज जरुरी छ । यसैगरी, आर्थिक रूपमा सिर्जना गर्ने अवसरले मानिस बेरोजगार हुँदैन । त्यस्तै, सामाजिक न्यायको प्रत्याभूतिका लागि राज्यका संरचनाहरू खडा भएका हुन्छन् । तिनको प्रभावकारितामा व्यक्तिले समन्यायिक प्रत्याभूति गर्छ । सबैभन्दा मुख्य कुरा शिक्षा हो । नैतिक आचरणमा आधारित शिक्षाले समाजमा अपराधका घटना न्यून गर्न सहयोग गर्नेछ । ठूलोबुबाले गरेको गाली लोकबहादुरलाई सुधार गर्नका लागि पनि हुनसक्थ्यो । आफन्तको गालीमा प्रेम पनि हुनसक्छ तर प्रेम र स्नेह मिसिएको गाली पनि कतिपयलाई क्रोधको उपज हुन जाँदा जघन्य अपराधको घटना भयो । समग्रमा समाजकै क्रियाशीलताले अपराधका घटना न्यूनीकरण हुन गई समाजले शान्तिको श्वास फेर्न सक्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?