logo
२०८१ मंसिर १३ बिहीवार



कमजोर नहोस् स्वास्थ्य मापदण्ड (सम्पादकीय)

विचार/दृष्टिकोण |




कोरोना (कोभिड–१९)को प्रभाव विस्तार कम हुँदै गएपछि निषेध गरिएका धेरै क्षेत्र खुल्न थालेका छन् । कोरोनाविरुद्धको खोपको प्रभाव बढ्दै गएपछि त्यसको प्रत्यक्ष र परोक्ष प्रभाव देखिन थालेको हो । केही महिनाअघि दैनिक चार हजारसम्म पुग्न थालेको कोरोना सङ्क्रमितको सङ्ख्या विस्तारै घट्दै गएर दैनिक एक हजारभन्दा तल आए पनि फेरि झस्कने बेला भएको छ । भदौ २५ गते एक हजारभन्दा तल झरेको कोरोना सङ्क्रमण बुधबार भने एक हजार ७६० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यस दिन सार्वजनिक गरेको तथ्याङ्कअनुसार कोरोना निको हुनेको सङ्ख्या एक हजार २२० मात्र भएको छ । त्यसअघि कोरोना सङ्क्रमण हुनेभन्दा निको हुनेको सङ्ख्या बढ्दै गएकोमा पछिल्लो प्रवृत्तिभने कोरोना सङ्क्रमण हुनेको बढी देखिन थालेको हो कि भन्ने देखिएको छ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ३०४ रहेको छ । त्यसमध्ये काठमाडौँ उपत्यकामै बढी सक्रिय सङ्क्रमित रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बिहीबार दिउँसोसम्मको तथ्याङ्कअनुसार काठमाडौँमा तीन हजार ५११, ललितपुरमा एक हजार ८१७ र भक्तपुरमा एक हजार ७५ सक्रिय सङ्क्रमित रहेका छन् ।

यो तथ्याङ्कले सङ्क्रमण दर कम भए पनि अझै चुनौती न्यून भएको छैन । कुनै दिन सङ्क्रमण कम देखिए पनि अर्को दिन बढ्ने गरेको छ । यसले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको स्पष्ट पार्छ । बजार, पसल, यातायात हुँदै मठमन्दिरसम्म खुल्दै जाँदा कोरोना सङ्क्रमणको फैलावटको जोखिम कायमै रहेको हो । जोखिमकै बीच असोज १ गतेदेखि विद्यालय खोल्नका लागि समेत प्रयास थालिएको छ । कोरोना भाइरसको प्रभावका कारण विगत डेढ वर्षदेखि मुुलुकको शैक्षिक क्षेत्रमा प्रतिकूल प्रभाव परेको छ । यो बीचमा केही समयमात्र भौतिक उपस्थितिमा अध्ययन अध्यापन गरिएको छ । गएको वैशाखदेखि विद्यालय तथा उच्चशिक्षाको भौतिक उपस्थितिको अध्ययनअध्यापन पुनःबन्द भएको थियो । परीक्षाका कार्यतालिकाहरू चरम रूपले प्रभावित भएपछि गएको साउनदेखि नै उच्चशिक्षाका परीक्षाहरू भने सञ्चालन हुन थालेका थिए । खोपको पहुँच विस्तारसँगै उच्चशिक्षाको परीक्षा केही सहज भएको थियो । कक्षा १२ को परीक्षासमेत दुई दिनअघिबाट सुरु भएको छ । गएको वैशाखतिरै हुनुपर्ने परीक्षा कोरोनाकै कारण रोकिएको थियो । साउन अन्तिममा समयसीमा तोकिए पनि सङ्क्रमण जोखिम बढ्नसक्ने भन्दै पुनःरोकिएको थियो । प्रवेश–पत्रका आधारमा विद्यार्थीलाई खोपको प्रबन्ध गरेपछि कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै आरम्भ भएको हो । सहजताका लागि विद्यार्थीले आफू अध्यापन गरेकै विद्यालयमा भौतिक उपस्थितिमा परीक्षा दिइरहेका छन् ।

सबैभन्दा पेचिलो विषयभने विद्यालय तहको पठनपाठन नै भएको छ । स्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमा पठनपाठन अगाडि बढाउन सक्ने सरकारको निर्णयसँगै देशका कतिपय स्थानीय तहमा विद्यालयहरू खुल्न थालेका छन् । काठमाडौँ महानगरपालिकाले कक्षा ८ देखि १२ सम्म भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न अनुमति दिएको छ । तर देशभरमै सबैभन्दा बढी सक्रिय सङ्क्रमित भएको काठमाडौँमा विद्यालय सञ्चालन गर्नु कम जोखिमपूर्ण छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुुुसार खोपका दुवै मात्रा लगाउनेको सङ्ख्या बिहीबारसम्म ५४ लाख १५ हजार ४२७ पुगेको छ भने एक मात्रा मात्र खोप लगाउने ६० लाख चार हजार १९ रहेका छन् । चीनबाट थप ४४ लाख मात्रा खोप एक दुई दिनमै आउँदैछ । त्यसले पनि खोपको थप पहुँच बढाउनेछ । तर पनि १८ वर्षभन्दा मुनिका बालबालिका खोपको पहुँचमा छैनन् । उनीहरूका लागि खोपको प्रबन्ध नभइसकेको अवस्थामा विद्यालय भौतिक रूपमा सञ्चालन गर्नु जोखिम नै हुनसक्छ । कतिपय विद्यालयमा वैकल्पिक माध्यमको अध्ययन अध्यापन पनि प्रभावकारी नै देखिएको अध्ययनहरूले देखाएको छ । तथापि समग्रमा २७ प्रतिशत हाराहारीमा मात्र वैकल्पिक कक्षामा जोडिन पुगेको तथ्याङ्कसमेत आएको परिपेक्ष्यमा भौतिक उपस्थिति अनिवार्यसमेत बन्दै गएको छ । अनिवार्य भए पनि खोपको पहुँच नपुगेका बालबालिकाको स्वास्थ्यलाई जोखिमै राखेर विद्यालय सञ्चालन गर्न सजग नै हुनुपर्नेछ । विद्याययमात्र होइन, सबैजसो क्षेत्रमा स्वास्थ्य मापदण्ड कडाइका साथ अवलम्बन गरिनु वाञ्छनीय छ । खोपका मात्र पूरा गरेकाहरू समेत कोरोना सङ्क्रमणबाट जोगिन नसकेको अवस्थासमेत मूल्याङ्कन गर्दा स्वास्थ्य मापदण्डलाई कसैगरी कमजोर हुन दिनु हुँदैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?