कोरोना (कोभिड–१९) को सङ्क्रमण दर घट्न थालेको छ । खासगरी कोरोनाविरुद्धको खोपको उपलब्धताले कोरोना महामारी नियन्त्रणमा सहयोग पुगेको छ । तर नेपालीको प्रमुख चाडपर्व सुरु भएसँगै बढेको चहलपहल र आवागमनले कोरोना सङ्क्रमणको जोखिम भने बढ्न सक्ने देखिएको छ । अहिले दैनिक थपिने सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा कम अर्थात् परीक्षण गरिएकामध्ये छ प्रतिशतको हाराहारीमा छ । यो दर चार महिनाअघि ४० प्रतिशतभन्दा बढी थियो । अहिले निको हुनेको सङ्ख्यासमेत बढेको छ । यो क्रमले सक्रिय सङ्क्रमितको सङ्ख्या निकै घटेको छ ।
कोरोना सङ्क्रमण दर घट्दै जानुको कारण खोपको उपलब्धता नै हो । हालसम्म एक करोड ४३ लाखभन्दा बढी मात्रा खोप दिइसकिएको छ र त्यसमा पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ६४ लाखभन्दा बढी छ । असारयता खोप मात्रा दोब्बर भएको छ । खोपको उपलब्धता बढ्नुका साथै प्रभाव पनि राम्रो देखिएको छ । असारको अन्तिम सातातिर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको ‘सिरोप्रिभलेन्स’ सर्वेक्षणले दुईतिहाईभन्दा बढी मानिसमा कोभिडविरुद्ध प्रतिरोध क्षमता देखापरेको निष्कर्ष निकालेको थियो । खोप वा प्राकृतिक रूपमै प्रतिरोधी क्षमता बनेको देखिएकाले सामुदायिक प्रतिरोध विकास (हर्ड इम्युनिटी) तर्फ गएको यो सर्वेक्षणको नतिजाले सङ्केत गर्छ । जनस्वास्थ्यविज्ञहरू समुदायमा ७० प्रतिशतभन्दा धेरै मानिसमा प्रतिरोधी क्षमता विकास भए सामुदायिक प्रतिरोध विकास हुने र त्यसपछि भाइरस कमजोर हुँदै जाने बताउँछन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाविरुद्ध प्रयोग गरिने विभिन्न कम्पनीको सवा तीन करोड मात्रा खोप आउने निश्चित भएको जनाएको छ । यसरी खोपको उपलब्धता बढ्दै जानु र सामुदायिक प्रतिरोध विकास हुँदै जाँदा आगामी दिनमा कोरोना महामारी नियन्त्रणमा सहजता आउने आशा गर्न सकिन्छ ।
अहिले सङ्क्रमण दर घटे पनि महामारी नियन्त्रणमा आइसक्यो भनेर ढुक्क हुने बेला भने अझै आइसकेको छैन । हामीले कोरोना महामारीको पहिलो र दोस्रो लहरको अनुभव गरिसकेका छौँ । अहिले घटेको सङ्क्रमण दर फेरि बढ्ने जोखिम पनि उत्तिकै छ । सबै क्षेत्र तथा व्यवसाय खुला भइसकेका छन् । हाम्रा मुख्य र ठूला चाड सुरु भइसकेका छन् । चाडबाडका बेला मानिसको चहलपहल धेरै हुन्छ । कोरोना महामारीमा बन्द गरिएका सीमा नाका खुला गरिएका छन् । दैनिक ठूलो सङ्ख्यामा नेपाली दशैँ मनाउन घर फर्कन थालेका छन् । सीमा क्षेत्रका नेपाली दैनिक उपभोग्य वस्तुको किनमेल गर्न भारतीय बजारमा जाने गर्न थालेका छन् । विदेशी पर्यटक प्रवेशलाई पनि सजिलो बनाइएको छ । यसले कोरोना भने जोखिम बढाउँछ । अर्काे जोखिम भनेको भाइरसको उत्परिवर्तनशील चरित्र पनि हो । विगतमा कोभिड–१९ को उत्परिवर्तित रूप डेल्टा भेरियन्टका कारण दोस्रो लहर आएको थियो । अब फेरि कोभिड–१९ भाइरस अर्काे रूपमा विकास भए त्यसले फेरि सङ्क्रमण बढाउने छ ।
उच्च जोखिममा रहेको जनसङ्ख्याको ठूलो हिस्साले खोप लगाइसकेका छन् र यो क्रम निरन्तर चलिरहेको छ । कोरोना जोखिमलाई ध्यानमा राख्दै सीमा क्षेत्रमा स्वास्थ्य सहायता कक्ष सञ्चालन, कोरोना परीक्षण, शङ्कास्पद व्यक्तिलाई त्यहीबाट आइसोलेसन वा क्वारेन्टिनमा पठाउने प्रबन्ध गरिएको भनिएको छ तर परिपालना राम्ररी भएको छैन । यसले महामारी नियन्त्रणमा अवश्यै सहयोग पुग्ने छ तर पर्याप्त छैन । खुला आउजाउ नियन्त्रण गर्न सकिन्न । कोरोना भाइरस नयाँ रूपमा विकास भयो भने अहिले लगाइएका खोपले रोक्न सक्ने हो वा होइन भन्ने निश्चित छैन । अहिले विकास भएको मानिएको सामुदायिक प्रतिरोधी क्षमताले पनि नयाँ रूपलाई रोक्न असमर्थ हुनसक्ने विज्ञहरू औँल्याउँछन् । त्यसैले खोप सँगसँगै स्वास्थ्य मापदण्ड पालनामा कडाइ हुनैपर्छ । मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, हिँडडुल/भेटघाट/भीडभाड नगर्नु नै कोरोना भाइरसबाट हुने सङ्क्रमणबाट बच्ने सर्वोत्तम उपाय हुन् । आफू पनि होसियारीपूर्व स्वास्थ्य मापदण्ड पालना गर्ने र अरूलाई पनि पालना गर्न लगाउने हो भने सङ्क्रमणको जोखिम कम गर्न सकिन्छ ।