कलि युगमा अन्याय, अत्याचार र आसुरी शक्तिको बोलवाला हुने शास्त्रीय विश्वास रहिआएको छ । मानिस स्वार्थ पूर्तिका लागि कुकर्मको भारी बोक्न सङ्कोच मान्दैन । समाजमा हत्या, आतङ्क, दुराचारजस्ता जघन्य अपराध व्याप्त हुने गरेको छ । यो समस्याबाट हाम्रो समाज पनि अछुतो छैन । अपराध न्यूनीकरणका लागि सुरक्षाको बलियो आधारशीला खडा गरिएको हुन्छ । आजको समाज व्यक्तिकेन्द्रित छ । त्यसको असर र प्रभाव नेपाली समाजमा समेत बलियो गरी स्थापित छ । त्यसैले अपराधजन्य घटना दैनिक वृद्धि हुने गरेका छन् । त्यसबाट जोगिनका लागि राज्यले प्रहरी प्रशासनको दरिलो उपस्थिति जनाउने गरेको छ । नेपालमा प्रहरी सुरक्षाकर्मी अपराधकर्म निस्तेज पार्न परिचालित छ तर यही समाजमा एउटा यस्तो पनि गाउँ छ, जहाँ प्रहरी चौकी त छ तर वर्षाैंदेखि कुनै उजुरी परेको छैन । घटना हो, उच्च हिमाली जिल्ला हुम्लाको नाम्खास्थित लिमीको ।
हिमालपारिको गाउँका रूपमा प्रसिद्ध लिमी भन्ने स्थानमा प्रहरी चौकी छ, प्रहरी तैनाथ पनि छन् तर अहिलेसम्म कुनै उजुरी भने परेको अभिलेख छैन । तामाङ जातिको बाहुल्य रहेको यो गाउँमा अपराधजन्य घटना प्रहरी चौकीमा पुगेको कसैलाई सम्झना छैन । यो ठाउँमा लामो समयदेखि बसोवास गर्दै आएका अधिकांशलाई अहिलेसम्म कुनै झैझगडा, अपराध वा चोरी भएको थाहा छैन । सबैले सबैको सम्मान र आदर गर्ने भएकाले कसैका प्रति आशक्ति वा रीसराग देखिँदैन । स्थानीय बासिन्दा एकआपसमा मिलेर बसेका छन् । त्यसैले यो गाउँ नमुनागाउँ बनेको छ । एक किसिमले भन्ने हो भने राम राज्यका रूपमा परिचित छ । राम राज्य भनेको कसैका प्रति इष्र्या, घृणा वा लालचबाट मुक्त शासन प्रणाली हो । अझै कसैले पनि अन्यायको अनुभूति गर्न नपर्ने अवस्था नै राम राज्यको परिकल्पना हो । त्रेता युगमा एउटा धोबीले माता सीताको चरित्रमाथि प्रश्न उठाउँदा भगवान् रामचन्द्रले अग्नि परीक्षा दिलाएको शास्त्रमा उल्लेख छ । यो राजधर्म, शासकको मर्यादा, लोकहित र नागरिकप्रतिको जवाफदेहिताको अनुमप उदाहरण पनि हो । यस्तो सुशासन आधुनिक युगमा कतै भएको पाइन्न । हाम्रै समाजको कुरा गर्ने हो भने दैनिक सयौँको सङ्ख्यामा अपराधजन्य घटना घटिरहेका छन् । सबैले व्यक्तिकेन्द्रित काम गर्न खोज्दा अपराध र कुकर्म बढ्ने गरेका छन् । यसै पृष्ठभूमिमा लिमीको कथा जोडिएको छ । लिमी हाम्रो समाजको राम राज्यको मिथक बन्ने यत्न गर्दैछ । सबैतिर यस्तै समाज निर्माण होस् भन्ने कामना गर्नु गलत होइन तर आजको युगमा त्यो कत्तिको सम्भव होला ?
लिमीका बासिन्दाको सबैभन्दा सुन्दर पक्ष भनेको आपसी विश्वास नै हो । वरिपरिका तीन गाउँका बासिन्दाबीच कुनै विषयमा विवाद हुँदा आपसी छलफल र संवादबाटै हल खोज्ने गज्जबको अभ्यास देखिन्छ । कुनै मुद्दामा विवाद भए वडा कार्यालयमै बसेर आपसी छलफलबाट निकास पहिल्याउने अनौठो प्रचलनले पनि प्रहरी प्रशासनसमक्ष उजुरी पुग्दैनन् । एकले अर्काको समस्या बुझ्ने र उदारता देखाउनेबित्तिकै धेरै समस्याको हल खोज्न सहज हुने गरेको छ । यहाँका बासिन्दा शालीन, अनुशासित र सकारात्मक सोचका भएकाले पनि न्यून अपराध हुने गरेको हो । ग्रामीण समाजमा यस्तो सकारात्मक सन्देश दिने घटना हुँदा सहरी समाजसँग तादात्म्यता कसरी गर्ने भन्ने विचित्रको अवस्था पनि छ ।
लिमीमा जस्तो शून्य अपराधको परिकल्पना गर्न अहिलेको अवस्थामा सहज नहोला तर नागरिक तहमा सकारात्मक सोच पलायो भने धेरै हदसम्म अपराध न्यूनीकरण गर्न भने सकिने विश्वास गर्न सकिन्छ । नागरिक नै समाजको औजार र शक्ति हो । सकारात्मक सोच र सबैलाई सम्मान गर्ने व्यवहारले परिणाम दिन सकिन्छ । राम राज्यकै कल्पना त नगरौँ तर केही न केही सकारात्मक परिणामको अपेक्षाका लागि नागरिक नै मुख्य पात्र हुन सक्छन् भन्ने गतिलो उदाहरण बनेको छ लिमीगाउँ । यो सो गाउँको सुन्दर पक्ष हो । लिमीजस्ता दुई÷चारवटा गाउँ निर्माण भयो भने त्यसले दिने सन्देशले समग्र मुलुकलाई नै परिवर्तनतिर डो¥याउन सघाउने छ ।