मनसुन सकिएको केही दिनमै नेपालमा प्राकृतिक विपत्तिको नयाँ शृङ्खला सुरु भएको छ । केही दिनयता देशभरि भएको अप्रत्यासित वर्षाले जनजीवन तहसनहस बनाएको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बाढीपहिरोको वितण्डा मच्चिएको छ । यही वर्षाले कम्तीमा ५० जनाको जीवन हरेको छ भने अर्र्बाैं रुपियाँ बराबरको आर्थिक नोक्सानी गरेको छ । भारतको विहार र उत्तर प्रदेश राज्य आसपासमा उत्पन्न न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालभरि नै त्यसको असर देखिएको हो । केही दिनयता भएको भीषण वर्षाले क्षति विवरण गृह मन्त्रालयले अद्यावधिक गरिरहेको छ । पूर्वको इलाम, पाँचथर, धनकुटा सुनसरीमा जनधनको क्षति भएको छ भने पश्चिमको डोटी, कालीकोट, डडेल्धुरा, बझाङ, हुम्ला र कैलालीमा पनि बाढीले वितण्डा मच्चाएको छ । सयौँको उद्धार गरिएको छ । पूर्वदेखि पश्चिमसम्म तराईका अधिकांश भूभाग डुबानमा परेको छ ।
मनसुन बाहिरिएको एक साता नबित्दै आइपरेको यो विपत्ले नेपाली जनजीवन नराम्ररी बिथोलिएको छ । अक्टोबर महिना लाग्दा यस्तो डरलाग्दो बाढीपहिरो धेरैपछि मात्र आएको विज्ञहरूको भनाइ छ । गएको १२ वर्षमा यस्तो घटना पहिलो पटक भएको दाबी गरिएको छ । आइतबारदेखि सुरु भएको वर्षाका कारण देशका विभिन्न राजमार्गका एक दर्जनभन्दा बढी पुल बगेका छन् । यस्तै पश्चिमका धेरै जिल्ला सञ्चार सञ्जालबाट विच्छेद भएका छन् । सुदूरपश्चिम र प्रदेश १ को विद्युतीय सेवा ठप्प भएको छ । हजारौँ हेक्टरमा लगाएका धानबाली नष्ट भएका छन् । यो बबण्डर कसरी भयो त ? धेरैलाई अचम्मित तुल्याएको छ तर जानकार भन्छन्, जलवायु परिवर्तन नै यसको मुख्य कारक हो ।
सामान्यतया वर्षात्का बेला नेपालमा यस्तो क्षति हुनु सामान्य मानिन्छ । यही वर्ष मात्रै मेलम्चीमा आएको बाढीले खर्बाैं रुपियाँ बराबरको आयोजना ध्वस्त बनायो । त्यसको आलो घाउ रहँदै गर्दा फेरि अर्काे कहर आइलागेको छ । हुन त नेपाल प्राकृतिक प्रकोपको दृष्टिले बहुजोखिमयुक्त मुलुक हो । बाढीपहिरो मात्र होइन, आगलागी, भूकम्प, हुरीबतास, शीतलहर र हिमपहिरोको प्रकोप बर्सेनि झेल्नु परेको छ । केही मानव सिर्जित प्रकोप भए पनि धेरै चाहिँ प्राकृतिक प्रकोपकै चपेटामा नेपाल परिरहेको छ । नेपाल प्राकृतिक प्रकोपको जोखिमका हिसाबले विश्वको बीसौँ स्थानमा रहेको मुलुक हो । दक्षिण एसियामा भने यो सबैभन्दा जोखिमयुक्त मुलुक हो । हरेक वर्ष यस्तो क्षति हुँदा पनि हामीले जोखिम न्यूनीकरण गर्नेतिर खासै ध्यान दिन भने सकेका छैनौँ । हुन त नेपालीमा एउटा चल्तीको उखान छ विपत् बाजा बजाएर आउँदैन तर बर्सेनि यस्तो विपत् आइपरेको विगतको भोगाइ भने हामीले बिर्सने गरेका छौँ । प्राकृतिक प्रकोप निमिट्यान्न पार्न नसके पनि जोखिम न्यूनीकरण भने पक्कै गर्न सकिन्छ । समयमै सचेत र सजग हुने हो भने मानवीय र आर्थिक क्षति न्यूनीकरण गर्न सघाउ पुग्ने अवस्था रहने छ । प्रकृतिको वितण्डा रोक्न त नसकिएला तर त्यसको दुष्प्रभाव घटाउन भने अवश्य पनि सकिन्छ । यसका लागि जनचेतना नै मुख्य हतियार हो । जनचेतना अभिवृद्धिमा राज्यले महìवपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । सबैभन्दा महìवपूर्ण पक्ष भनेको विद्यालय तहबाटै प्राकृतिक विपत्बारे पाठ्यक्रममार्फत जानकारी दिइनुपर्र्छ । साथै, आमसञ्चार माध्यमलाई पनि यसबारे यथेष्ट सूचना उपलब्ध गराएर क्षति न्यूनीकरणमा सघाउन सकिन्छ । विकासका नाममा हुने गरेको डोजर आतङ्क नियन्त्रण गरिनु पर्छ ।
विपत् आइपरेपछि आत्तिनेभन्दा न्यूनीकरणमै जोड दिइनु बुद्धिमत्ता हुने छ । साथै, विपत् आइलागेपछि उद्धार र राहतमा पनि राज्य संयन्त्र परिचालित गरिनु पर्छ । सरकारले विपत्मा परेकाहरूको उद्धार र राहतका लागि प्रयास थालिसकेको छ । यो अभियानमा निजी क्षेत्रले समेत हातेमालो गर्नु सामाजिक दायित्व हो । मुलुकमा आइपरेको विपत्तिको सामना गर्ने काम सबैले साझा दायित्वका रूपमा लिनु पर्ने हुन्छ । अहिले आइपरेको विपत्बाट राहत र उद्धारका लागि सबैको साझा र एकीकृत प्रयास अपरिहार्य छ ।