डा. प्रकाश बुढाथोकी
दशैँ, तिहार, छठ तथा अनेकौँ चाडबाडले धेरै मानिसलाई बिरामी बनाएर अस्पताल पु-याउँछ । चाडपर्वको बेला खानेकुरामै बढी ध्यान केन्द्रित गरेर जीवनशैलीमा ध्यान दिनुपर्छ । बिहान उठेदेखि राति नसुतेसम्म तथा दिनभर नै हामी अब अर्काे पटक के खाने भन्ने छलफलमै व्यस्त बन्छौँ । अस्वस्थकर, तयारी वा जङ्क खाना र खाजा नै प्राथमिकतामा पर्दछन् । भोजमा राखिने खानेकुरा तथा जङ्क खानामा प्रशस्त चिल्लो, पिरो र नुन बढी हुन्छ । भोज खान बिहानैदेखि भोको बस्ने, जमातका लागि पकाउने, पस्कने, धेरै भएमा बासी राख्ने र अर्को दिन खाने गर्दा विभिन्न जीवाणुको संसर्गमा आई अपच, आउँ, टाइफाइड तथा कमलपित्तजस्ता रोग लाग्ने गर्छन् । ट्राइग्लिसिराइड, युरिक एसिड, मधुमेह, उच्च रक्तचाप, मोटोपनाजस्ता दीर्घरोगको मात्रा र गाम्भीर्यता ३० देखि ५० प्रतिशत माथि गएको हुन्छ । जसको स्तर ठीकमा ल्याउँदासम्म शरीरको भित्री भागमा केही न केही नोक्सान भइसकेको हुन्छ ।
खाद्य पदार्थको गुणस्तर
स्वस्थ तथा गुणस्तरयुक्त खाद्य पदार्थको खोजीमा बजार जाने उपभोक्ता रुपियाँ तिरेर पनि सफा र स्वस्थ खाद्यवस्तु नपाउँदा हैरान छन् । शरीरलाई फाइदा पुगोस् भनेर खरिद गरिने खानेकुराबाट उल्टै धनको नाश र जीवनकै बरबाद हुने पो हो कि भन्ने भय छ । एकातिर उपभोक्तामा चेतनाको कमी छ भने अर्काेतिर व्यापारीले दूषित र मिसावटयुक्त पदार्थ उत्पादन, बिक्री–वितरण जानाजानी र शिक्षाको कमीले अन्जानवश गर्ने गरेको पाइन्छ ।
मिसावटयुक्त खाद्य पदार्थले खाना विषाक्त भई बान्ता हुने, एलर्जी हुने, झाडापखाला, हैजा, टाइफाइड, पक्षाघात, क्यान्सर लगायतका रोग लाग्न सक्छ र मृत्यु पनि हुनसक्छ । बालीनालीमा हालिने रसायनले पनि हानि गर्दछ । राम्ररी पखालेर नखाँदा वा पशुजन्य दूधबाट मान्छेमा पुग्दा कतिले तत्काल त, कतिले धेरै समयपछि चिलाउने, क्यान्सर, मुटु, मिर्गौला लगायतका संवेदनशील अङ्गमा क्षति पु-याउँछ ।
फलफूलमा कार्बाइड
मनै लोभ्याउने पहेँला केरा, मेवा, अम्बा, आँप, भुइँकटहर एकैनासले छिटो पकाउन कार्बाइड रसायन प्रयोग गरिँदै आइएको छ । जबर्जस्ती पकाइएका फलफूलको स्वाद र सुगन्ध त कम हुन्छ नै, पौष्टिक तìव पनि कम हुन्छ । फस्फोरस, आर्सेनिक र क्याल्सियम कार्बाइडको प्रयोगले पाकेका फलफूलमा फस्फोरस, आर्सेनिक, न्यून फ्रुक्टोज खाँदा क्यान्सरसम्म हुनसक्छ । परबल, तरकारी, सागपात र केराउ हरियो बनाउन मालाचाइट ग्रिनको प्रयोगले आँखा तेजिलो हुनुको साटो ज्योति र स्मरण शक्ति घट्ने हुन्छ ।
कार्बाइडको प्रयोग गरेर पकाएको फलफूल नियमित खाँदा मुखमा घाउ, वाकवाकी आउने, बान्ता हुने, पखाला लाग्ने, ग्यास्ट्रिक, पेटसम्बन्धी गम्भीर समस्या हुनसक्छ । ग्यास्ट्रिक बढ्ने, पेट दुख्ने, पखाला लाग्ने, शरीर आलस्य हुने, रिङ्गटा लागेर मानिस ढल्ने हुन्छन् । तत्काल असर नपरे पनि लामो समयपछि फोक्सो, स्नायु प्रणाली र शरीरको प्रतिरक्षा प्रणाली कमजोर बनाउँछ । अत्यधिक प्रयोगले मधुमेह, उच्च रक्तचाप, पक्षाघात, मुटुरोग, पत्थरी र क्यान्सरले आक्रान्त पार्दछ ।
रङ्गिन मिठाई
खाद्यवस्तुमा रङको महìव, गुणस्तर तथा स्वास्थ्य असरबारे धेरै लेख, समाचार, कार्यक्रम र पसलमा अनुगमन हुन्छ । तत्पश्चात् न कारबाही हुन्छ, न परीक्षणको नतिजा आउँछ । ‘चम्किने सबै वस्तु हीरा हुँदैनन्’ भनेजस्तै व्यापारिक क्षेत्र पनि आकर्षक देखिने सबै राम्रा हुँदैनन् भन्ने तथ्यलाई ध्यान दिनुपर्दछ । सधैँभरि खाद्यवस्तुको गुणस्तरप्रति चनाखो हुनु राम्रो हो । तसर्थ तिहारलगायत सबै बेला सय ग्राम मिठाई खाए पनि त्यो स्वास्थ्यवद्र्धक होस् भन्नेमा सबैको ध्यान जानुपर्दछ ।
नेपालमा आठ प्रकारका प्राकृतिक रङ र ११ प्र्रकारका कृत्रिम रङ सीमित मात्रामा प्रयोग गर्न सरकारले अनुमति दिएको छ । खाद्यवस्तुमा अन्य रसायन तथा रङ मिसाइएको छ भन्दैमा त्यो खान नहुने र हानिकारक हुने भन्ने हुँदैन तर खाद्यवस्तुमा मिसाइएको रसायन तथा रङ कस्तो हो भनेर उपभोक्ताले थाहा पाउन सक्ने अवस्था छैन । बजारमा भने मिनरल, अखाद्य तथा कपडा रङ्गाउने रङ, मसीसमेत प्रयोग भइरहेका छन् । मिठाईमा त झन् निर्माण मिति, बनावट केही लेखिएको हुँदैन । न प्रयोग गर्ने तरिका र अवधि नै लेखेको हुन्छ । हचुवाकै भरमा किन्ने र सेवन गर्ने गर्नुपर्दछ । बर्फीको बाहिर लगाइएको चम्किने वस्तु चाँदी हो भन्दै अल्मुनियम खाइन्छ ।
मिठाईमा खुवामा आरारोट, उसिनेको आलु र सुजी मिसाउँदा पेटमा खराबी गर्दछ । यस्ता मिठाई खाँदा पेट दुख्ने, पखाला लाग्ने, अपच हुने, बान्ता आउने, हैजा लाग्नेसम्म हुन्छ र निम्न गुणस्तरको घिउको प्रयोगबाट घाँटीमा समस्या उत्पन्न हुनुका साथै श्वास–प्रश्वाससम्बन्धी रोग देखापर्दछ । रङमिश्रित तथा दूषित घिउतेलको प्रयोगले बनेका खाद्य पदार्थले रक्तकोषिकालाई विशाक्त बनाई तथा भई शरीरमा रगत कम हुने समस्या एनिमिया, अण्डकोषमा असर परी पुरुषको बीजकोष मार्दै लिङ्ग सानो हुँदै जाने तथा पुरुषत्व नाश हुने, मिर्गौला तथा कलेजोमा घाउ हुने, रोग लाग्ने, फोक्सोमा र छालामा दीर्घरोगका साथै क्यान्सरजस्तो भयानक रोग देखिन सक्छ । गर्भवतीको गर्भपतनसम्म हुनसक्छ ।
एडिटिभ र प्रिजरभेटिभ
खाद्यवस्तुमा एडिटिभले स्वाद र सुगन्ध बढाउने तथा प्रिजरभेटिभले लामो समय सुरक्षित राख्नेबाहेक कुनै पोषण र खाद्य महìव राख्ने गरेको पाइँदैन । एडिटिभका कारण कैयौँ किसिमका एलर्जी र विकार हुनसक्दछ । छाला चिलाउने, पसिना बढी आउने, अनुहारको रङ उड्ने, डाबर आउने, आन्द्रामा पीडा, वाकवाकी, बान्ता, झाडापखाला, दम, खकार, पिनास, मांशपेसीमा पीडा, जोर्नीमा पीडा, थकान, कमजोरी, व्यवहार र मनस्थितिमा परिवर्तन, हाइपर एक्टिभिटी, माइग्रेन, मुटुको धड्कनमा समस्याजस्ता स्वास्थ्य समस्या हुने गर्दछ । अखाद्य प्रिजरभेटिभ बीएचएले बालकलाई चञ्चले बनाउँछ भने ईडीटीएले दम, दाग, पखाला, उल्टी, नसासम्बन्धी समस्या र पेटको क्यान्सरसमेत बनाउन सक्दछ । मिठाईलाई सड्नबाट जोगाउन प्रयोग गरिने प्रिजरभेटिभले जिब्रोमा स–साना खटिरा, पेट पोल्ने, मुखमा अमिलो पानी आउने, श्वासमा गन्ध आउने, दाँत सडाउने गरेको पाइन्छ ।
बजारबाट खाद्यवस्तु किनमेल र सेवन गर्दा आफ्नो स्वास्थ्यका लागि आफैँ सचेत रहौँ । कोरोना महामारीले अघिल्ला चाडबाड खल्लो बनाएकोमा यसपटक भने सबैले सबै प्रकारका चाड मनाउँदै छन् । धेरै नागरिकले कोरोना खोप पाएकाले जटिलता र मृत्यु नगन्य भएपछि बन्दाबन्दी हटेको छ । व्यापारीलाई बेच्न र उपभोक्तालाई किन्न मात्र ध्याउन्न छ । सार्वजनिक यातायातमा खुट्टा टेक्ने ठाउँ छैन । भीड थामी नसक्नु छ । सबै पसल खोल्न र जीवन चलायमान भए पनि सरकारले जनस्वास्थ्य मापदण्ड पालनामा निरन्तर सावधानी र निगरानी गरिरहेको छ । खोप लगाएकामा भ्रम बढी भई निर्धक्क छन्, कानमा तथा चिउँडोमा मास्क छ, सामूहिक भोज, पूजामा मस्त छन् । चाडबाडले सङ्क्रमण घर–घरमा भिœयाउने निश्चितजस्तै छ । रोग तथा सङ्क्रमणबाट जोगिएर चाडबाड मनाउनुको विकल्प छैन । रोकथाम भनेको एक मात्र उपाय सजगता र त्यसको व्यवहारमा पालना हो ।