logo
२०८१ श्रावण १२ शनिवार



राहदानी बनाउनेको भीड (सम्पादकीय)

विचार/दृष्टिकोण |




आइतबार पाँच हजार जना राहदानीका लागि आवेदन दिन नारायणहिटी परिसरमा रहेको परराष्ट्र मन्त्रालयको राहदानी विभाग पुगेका थिए । राहदानीका लागि एकै दिनमा यति धेरैले आवेदन दिएको यो पहिलो पटक भएको सम्बन्धित अधिकारीहरू बताउँछन् । अनपेक्षित रूपमा राहदानीका लागि आवेदन दिनका लागि भीड लागेपछि व्यवस्थापनमा पनि समस्या उत्पन्न भएको थियो ।

सामान्य अवस्थामा दैनिक रूपमा एक हजारदेखि एक हजार पाँच सय राहदानी वितरण हुँदै आएको छ । यसको आधाजति विभागबाट वितरण हुन्छ । कोरोना महामारीका कारण डेढ वर्षयता राहदानी वितरण घटेकोमा दोस्रो लहरपछि पुनः बढेको थियो । दशैँतिहारलगायतका चाडपर्वको आसपासको समयमा राहदानी लिनेको सङ्ख्या अन्य दिनभन्दा बढी हुने गरेको थियो । दशैँतिहार मनाउन स्वदेश आएका बेला राहदानी नवीकरण गर्ने र यसैबेला विदेश जानेको सङ्ख्या पनि बढ्ने भएकाले राहदानी वितरण पनि बढ्ने गरेको हो । कोरोना महामारीको दोस्रो लहर नियन्त्रणमा आउन थालेपछि आवागमन सहज बन्दै गएकाले विदेश भ्रमण, अध्ययन र रोजगारीका लागि विदेशिनेको सङ्ख्या पनि बढेको छ । यसले गर्दा राहदानी लिने वा नवीकरण गर्नेको सङ्ख्या बढ्नु स्वाभाविक हो तर अहिले बढेको राहदानी लिनेको भीड भने इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई–डीभी) का कारण भएको बुझाइ छ । गत सालदेखि अमेरिकी सरकारले डीभी भर्न राहदानी नम्बर अनिवार्य गरेको छ । असोजको तेस्रो सातादेखि ईडीभी–२०२३ को आवदेन खुलेपछि आवेदन दिनेको सङ्ख्या दैनिक तीन हजारको हाराहारीमा रहने गरेको विभागको तथ्याङ्क छ ।

राहदानी बनाउनेको भीडले नेपालीको विदेशप्रतिको मोह वा बाध्यता बढेको सङ्केत गर्छ । ई–डीभीमार्फत अमेरिकाको स्थायी बसोवास गर्ने आकर्षण होस् वा अध्ययनका लागि विदेश जाने रहरले नेपाली युवा स्वदेश छोड्न चाहन्छन् । बेरोजगार युवाको ठूलो सङ्ख्या विदेश जान बाध्य छ । कोरोना महामारीका कारण विदेश जान नपाएको यो समूह कोभिड खोप र सावधानी बढेसँगै विदेश जाने तरखरमा देखिन्छ । महामारीअघि बर्सेनि साढे चार लाख युवा रोजगारीका लागि विदेशिने गरेका थिए तर महामारीका कारण आव. २०७७/७८ मा यो सङ्ख्यामा ६० प्रतिशतले गिरावट आएको थियो । गत असारदेखि भने वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्न थालेको छ । जेठमा चार हजार जना जति रोजगारीका लागि विदेशिएकामा असारमा २० हजार, साउनमा २५ हजार र भदौमा ३६ हजार पुगेको छ । जबसम्म स्वदेशमै राम्रो रोजगारीको अवसर सिर्जना गर्न सकिँदैन वा बेरोजगार युवालाई रोजगारी वा स्वरोजगारीको अवसर दिन सकिँदैन, तबसम्म विदेश जानेको लर्काे घट्दैन । वैदेशिक रोजगारीले केही समयका लागि सहज बनाए पनि यो मुलुकको दीर्घकालीन हितमा छैन । मुलुकभित्रै रोजगारी र आय आर्जनका अवसर सिर्जना गर्ने हो भने त्यो बेरोजगारी समस्या समाधानको दीर्घकालीन समाधान हुन्छ र मुलुकको अर्थतन्त्रलाई धेरै बढी योगदान गर्न सक्छ ।

नेपालीको अन्तर्राष्ट्रिय आवागमन बढेको छ । अध्ययन वा औषधि उपचारका लागि विदेश जानेको सङ्ख्या पनि बढेको छ । घुम्न वा आफन्त भेटघाटका लागि विदेश जाने नेपाली पनि बढिरहेका छन् । रोजगारीका लागि विदेशिनु त बाध्यता नै हो । मुलुकभित्र अवसरको कमी देख्ने र विदेशीमा सहज जीवनयापन हुने विश्वास बोकेका युवाको मानसिकतामा परिवर्तन आउनुपर्छ । स्वदेशमै आफ्नो भविष्य सुनिश्चित हुने विश्वास सिर्जना गर्न युवाको सीप, क्षमता र आत्मविश्वास बढाउनुपर्छ । यसका लागि उपयुक्त वातावरण सिर्जना गर्ने जिम्मेवारी सरकारको हो । उपयुक्त वातावरण भए रोजगारीका अवसर व्यक्ति आफैँले वा निजी क्षेत्रले सिर्जना गर्छ । रोजगारी र आयआर्जन तथा भविष्य निर्माणका पर्याप्त अवसर सिर्जना हुनसके अहिले विदेशिन चाहने युवा पनि मुलुकको विकासमा योगदान गर्न सक्छन् । यस्तो अवस्थामा बाध्यात्मक रूपमा विदेशिनेको सङ्ख्या घटाउन मद्दत पुग्छ । त्यसैले स्वदेशमै अध्ययन र औषधि उपचार गर्ने सुविधा तथा रोजगारी र आय आर्जनको मौका तयार गर्नु आवश्यक छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?