सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने नीति र प्राथमिकताअनुसार सरकारले खोप सुनिश्चित गरेको छ । तीन महिनाअघि वर्तमान सरकार गठन हुँदा असोज मसान्तसम्ममा एकतिहाइ र चैतभित्रमा पूर्ण खोप लगाउने लक्ष्य राखेको थियो । अहिले खोप लगाउन योग्य बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई कोरोनाविरुद्धको खोप सुनिश्चित गरिएको सरकारले जनाएको छ । अहिलेसम्म खरिद र अनुदानबाट दुई करोड ८० लाख मात्रा खोप प्राप्त गरिसकेको छ । त्यसक्रममा पाँच करोड मात्रा सुनिश्चित भएको जनाइएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बालबालिकालाई समेत लगाउन मिल्ने फाइजर ६० लाख मात्रा र मोडर्ना ४० लाख मात्रा गरी एक करोड मात्रा खोप खरिद गर्ने निर्णय गरेको छ । यसले उच्च जोखिममा रहेका बालबालिका र किशाोरकिशोरीलाई कोरोनाबाट सुरक्षा प्रदान गर्ने छ । फाइजरलाई अमेरिकामा १६ देखि १८ वर्षसम्मका किशोरकिशोरीलाई दिन पूर्ण र १२ देखि १५ वर्षसम्मका बालबालिकाका लागि आपत्कालीन प्रयोगको अनुमति दिइएको छ । अमेरिका र युरोपका कतिपय देशले १२ वर्षमाथिका सबैलाई मोडर्ना खोप दिन थालेका छन् ।
नेपालमा २०७६ माघमा कोभिड–१९ को पहिलो सङ्क्रमित फेलापरेको थियो । त्यस यता नौ लाख जनामा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये सात लाख ९६ हजार निको भएका छन् । करिब ११ हजार जनाको मृत्यु भएको छ । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घटेर साढे सात हजारको हाराहारीमा झरेको छ । बुधबार छ हजार ८१४ जनाको परीक्षण गर्दा ४४० जनामा सङ्क्रमण देखियो भने छ जनाको मृत्यु भयो । महामारीको दोस्रो लहर चलेका बेला गत जेठ–असारतिर ५० हजारभन्दा बढी सक्रिय सङ्क्रमित थिए र सङ्क्रमण दर ४० प्रतिशतभन्दा बढी थियो । कोरोना सङ्क्रमितको सङ्ख्या घट्नुमा खोपको सहज उपलब्धता नै हो । बुधबारसम्ममा एक करोड ६२ लाख ३३ हजार मात्रा खोप लगाइसकिएको छ । यसमध्ये ८७ लाख ५० हजारले कम्तीमा एक मात्रा र ७४ लाख ८२ हजारले पूर्ण मात्रा लगाइसकेका छन् । अठार वर्ष उमेरमाथिका लक्षित जनसङ्ख्यामध्ये ४३.९ प्रतिशतले कम्तीमा एक मात्रा र ३७.६ प्रतिशतले पूर्ण मात्रा लगाइसकेका छन् ।
हालसम्म नेपालमा कोभिसिल्ड, भेरोसेल, जोन्सन एन्ड जोन्सन र एस्ट्राजेनिका खोप प्रयोगमा छन् । यी खोपहरू दुईदेखि आठ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । हाल माइनस ८० डिग्री सेल्सियस तापक्रममा पनि खोप भण्डारण गर्नसक्ने सुविधा तयार भइसकेकाले सरकारले फाइजर र मोडर्ना खोप खरिदका लागि प्रक्रिया आगाडि बढेको हो । कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध फ्रिजमा यी खोप एक महिनासम्म भण्डारण गर्ने सुविधा नेपालमा तयार भइसकेको छ ।
खोपको उपलब्धता बढेको र सङ्क्रमितको सङ्ख्या घट्दै गएको देखिए पनि जोखिम भने अन्त्य भइसकेको छैन । नयाँ भेरियन्टको उत्पत्ति हुने सम्भावना टरिसकेको छैन । कोरोना भाइरस नयाँ रूपमा विकास भइरहेकाले यी खोपले रोक्न सक्ने हो वा होइन भन्ने निश्चित छैन । पूर्ण मात्रा खोप लगाइसकेका व्यक्तिलाई पनि कोरोना सङ्क्रमण देखिने गरेको छ । त्यसैले खोपले मात्रै सङ्क्रमण रोक्न सकिन्न । खोप लगाइसकेका व्यक्तिमा पनि सङ्क्रमण देखिनु र परीक्षण गराउनेको सङ्ख्या न्यून हुनुले जोखिम कायमै रहेको स्पष्ट हुन्छ । शैक्षिक संस्था भौतिक रूपमै सञ्चालन हुन थालेकाले विद्यालय स्तरका विद्यार्थीका लागि खोप अति आवश्यक छ । त्यसैले फाइजर माडर्ना खोपलाई यथाशीघ्र प्राप्त गरी विद्यार्थीलाई लगाउनुपर्छ । खोप भण्डारण क्षमता तल्लो तहसम्म विस्तार गर्नुपर्छ । खोप सँगसँगै स्वास्थ्य मापदण्ड पालना अनिवार्य हुनुपर्छ । मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, हिँड्डुल÷भेटघाट÷भीडभाड नगर्नु नै कोरोना भाइरसबाट हुने सङ्क्रमणबाट बच्ने सर्वोत्तम उपाय हुन् । आफू पनि होसियारीपूर्व स्वास्थ्य मापदण्ड पालना गर्ने र अरूलाई पनि पालना गर्न लगाउने हो भने सङ्क्रमणको जोखिम कम गर्न सकिन्छ ।