पूर्वी नेपालमा निर्माणाधीन तमोर कोरिडोरको ट्र्याक खोल्ने काम अन्तिम चरणमा पुगेको छ । दुई छिमेकी मुलुक चीन र भारतलाई जोड्ने यो रणनीतिक तथा व्यापारिक महìवको सडकको तीन किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको र आगामी फागुनसम्ममा सम्पन्न हुने बताइएको छ । यो सडकले पूर्वी नेपालको मध्य पहाडी भूभाग हुँदै भारतको जोगबनीलाई चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोड्नेछ ।
सुनसरीको चतरादेखि ताप्लेजुङको ओलाङ्चुङगोला हुँदै उत्तरी सीमा टिपतालसम्म तमोर कोरिडोरले जोड्छ । चतरादेखि टिपतालासम्म २५४ किमि छ । यस्तै, चतरादेखि विराटनगर भन्सार नाका ६० किमि छ । अहिले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ मा पर्ने ओलाङ र चुङगोलाको सुकेपानीदेखि गैरीपाटीसम्मको तीन किलोमिटर दूरीमा ट्र्याक खोल्ने काम भइरहेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको सीमासँग जोडिएको टिपताला नाकादेखि ओलाङ्चुङगोलाको गैरीपाटीसम्म ३५ किलोमिटर सडक ओलाङ्चुङगोलावासीले आफ्नै सक्रियतामा निर्माण गरेका हुन् । तमोर कोरिडोरअन्तर्गत सुनसरीको चतारादेखि धनकुटाको मूलघाट, तेह्रथुम, पाँचथर र ताप्लेजुङमा पर्ने क्षेत्रमा पनि ट्र्याक खुलिसकेको छ । यीमध्ये धेरैजसो क्षेत्रमा सवारी साधन सञ्चालनमा छन् ।
२०६५ सालदेखि तमोर कोरिडोरको निर्माण सुरु भएको हो । सुरु भएको १२ वर्ष बितिसक्दा पनि यो सडकको ट्र्याकसम्म खुल्न नसक्नु चाहिँ दुःखको कुरा हो । खासगरी ठेकेदारको लापरबाहीले काममा ढिलाइ भएको हो । यो सडकमा पर्ने तमोर नदीमा निर्माण गर्नुपर्ने ठूला पुल निर्माणले धेरै समय लिने गरेको छ । पाँचथर र ताप्लेजुङ जोड्ने पुल निर्माण एक वर्षअघि नै सकिनुपर्ने हो तर अहिलेसम्म एक चौथाइ मात्रै काम भएको छ । यो पुल नबन्दा सवारी साधन सञ्चालनमा बाधा पुगेको छ । सरकारले नियमित रूपमा बजेट विनियोजन नगर्दासमेत काममा ढिलाइ भएको छ । यो सडक कञ्चनजङ्घा संरक्षण क्षेत्रबाट निर्माण हुने भएकाले रुख कटाइ तथा विस्फोटक पदार्थ प्रयोगमा अनुमति पाउन धेरै समय लाग्ने गरेकाले पनि सडक निर्माणले अपेक्षित गति लिन सकेको छैन ।
यो सडकले पूर्वी नेपालको समृद्धिको ढोका खोल्छ । तमोर कोरिडोरले यस क्षेत्रका बासिन्दालाई तराईसम्म आउ जाउमा धेरै सहज बनाउने छ । अहिलेको तुलनामा समय आधाले घटाउँछ । यस क्षेत्रमा निर्माण भएका कोसी राजमार्ग, मेची राजमार्ग र मध्यपहाडी राजमार्गले छुन नसकेका पहाडी क्षेत्रलाई यो सडकले जोड्ने भएकाले ती क्षेत्रबाट तराईसँग सहज पहुँच बन्छ । यस क्षेत्रमा उत्पादित कृषिजन्य वस्तुले तराईको बजार पाउन सक्छन् । मध्यतमोर जलविद्युत् आयोजना, तमोर जलाशययुक्त आयोजना, तमोर मेवा जलविद्युत् आयोजना, तमोर खोला ५ जलविद्युत् आयोजनाजस्ता ठूला र मध्यम आकारका जलविद्युत् आयोजनाको निर्माणमा सहजता थप्नेछ ।
तमोर कोरिडोरले व्यापारिक महìव बोकेको छ । चतराबाट विराटनगरको रानी ६० किलोमिटर र पूर्वी नाका काकडभिट्टा एक सय २५ किमि दूरीमा छ । यो कोरिडोरले चीन र भारतलाई छोटो दूरीमा जोड्ने भएकाले अन्तर्राष्ट्रिय व्यापारको मार्ग बन्न सक्छ । टिपतालासम्म तिब्बती क्षेत्रमा पक्की सडक निर्माण भइसकेको र यहाँको रियु व्यापारिक केन्द्रसँग सीधा सम्पर्क स्थापित हुने भएकाले आयात निर्यात व्यापार सहज हुने छ । पूर्वी पहाडको प्रमुख निर्यातजन्य नगदे बाली अलैँची अहिले भारततर्फ मात्रै निर्यात भइरहेकोमा यो सडक खुलेपछि चीनतर्फ निर्यात हुने ढोका खोल्छ । चिनियाँ पर्यटक भिœयाउन पनि सहज हुने छ । बुद्ध जन्मस्थान लुम्बिनी आउनलाई यो बाटो सहज, छिटो हुनेछ । विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा ताप्लेजुङमै पर्छ र तमोर कोरिडोर छोडेर एक सातामा यो हिमाल पुग्न सकिन्छ । तेह्रथुम, इलाम र पाँचथरका पर्यकीय क्षेत्रमा पर्यटकको चहलपहल बढ्न सक्छ ।
पूर्वी नेपालको आर्थिक, सामाजिक विकासमा महìवपूर्ण भूमिका निर्वाह गर्ने भएकाले तमोर कोरिडोर निर्माणले गति पाउनुपर्छ । यसको निर्माणमा सरकारले उच्च प्राथमिकता दिँदै पर्याप्त बजेट व्यवस्था गर्नुपर्छ । ठेकेदारका ढिलासुस्ती र प्रशासनिक झमेला हटाउँदै यो सडक चाँडोभन्दा चाँडो निर्माण सम्पन्न गर्नेतर्फ सबैको ध्यान जानुुपर्छ ।