logo
२०८१ मंसिर ११ मंगलवार



राप्रपा महाधिवेशनको सन्देश (सम्पादकीय)

विचार/दृष्टिकोण |




मुलुकमा राजनीतिक दलहरूको महाधिवेशन मौसम नै चलिरहेको छ । केही दिनअघि नेकपा (एमाले)ले चितवनमा आयोजित महाधिवेशनमार्फत आफ्नो नेतृत्व चयन ग-यो । नेकपा (माओवादी केन्द्र) वडा तथा पालिका अधिवेशनमा व्यस्त छ । नेपाली काँग्रेस वडा, गाउँ, जिल्ला, प्रदेश अधिवेशन हुँदै १४औँ महाधिवेशनको सँघारमा छ । यस्तै वि.सं. २०४६ को बहुदलीय व्यवस्थाको पुनस्र्थापनापश्चात् पूर्व पञ्च भनेर चिनिने समूहले गठन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि पटक पटक टुट्दै फुट्दै जुट्दै एकता महाधिवेशनको रूपमा आफ्नो अधिवेशन नयाँ नेतृत्व चयनसहित आइतबार सम्पन्न गरेको छ ।

राप्रपाको इतिहास केलाउँदा नै नीति, सिद्धान्त तथा व्यवहार समान भए पनि नेतृत्वको टकरावका कारण प्रारम्भमै दुई शिरामा विभक्त भयो । विशेषतः पूर्व प्रधानमन्त्रीद्वय सूर्यबहादुर थापा तथा लोकेन्द्रबहादुर चन्दबाट यी दुई समूहलाई नेतृत्व प्रदान भएको थियो । यसरी विभाजित मनस्थितिबाट निर्माण गरिएको राप्रपाले इतिहासमा कैयौँ पटक जुटफुटलाई अङ्गीकार गर्नुपरेको थियो । पछिल्लो समयमा तीन चिरामा विभक्त राप्रपालाई यी चिराका अध्यक्षहरू कमल थापा, पशुपतिशमशेर राणा तथा डा. प्रकाशचन्द्र लोहनीबाट राष्ट्रिय राजनीतिमा आफूहरूको शक्ति क्षीण हुँदै गएको मनन गर्दै सुदृढ तथा सक्षम राजनीतिक दलको अपेक्षासहित नयाँ राप्रपा गठनमा अग्रसर भएकै फलस्वरूप आइतबार सम्पन्न महाधिवेशन तीन भिन्न राप्रपाको एकतापछिको एकता महाधिवेशन थियो ।

एकता महाधिवेशनले शान्तिपूर्ण रूपमा नयाँ नेतृत्वको चयन गरेको छ र पार्टीको नेतृत्व युवा पुस्तामा सरेको छ । प्रजातन्त्रको सौन्दर्य भनेकै आवधिक निर्वाचन हो र यसमा पनि दलभित्रको आन्तरिक प्रजातन्त्रको अभ्यास निर्वाचनमार्फत गरिनुले बहुदलीय प्रजातन्त्र तथा निर्वाचन प्रणालीप्रति सम्बन्धित राजनीतिक दलको आस्थालाई थप उजागर गर्दछ । यस अर्थमा राप्रपाले पनि आफूलाई प्रजातान्त्रिक मूल्यमान्यता तथा आस्थाप्रति पूर्ण रूपमा प्रतिबद्ध राजनीतिक दलका रूपमा फेरि उभ्याएको छ ।

राप्रपाको महाधिवेशनले नयाँ नेतृत्वका रूपमा झापाका राजेन्द्र लिङ्देनलाई चयन गरेको छ । वर्षौंदेखि राप्रपालाई नेतृत्व प्रदान गरेका कमल थापाले यस पटक पराजय भोग्नुपरेको छ । यस अर्थमा राप्रपाका मतदाता परिवर्तन र रूपान्तरणका पक्षधर रहेको सन्देश प्रवाह भएको छ । निर्वाचनमा कुनै एक पक्षको हारजित हुनु नितान्त स्वाभाविक पक्ष हो । पार्टीभित्रको निर्वाचनलाई त झनै स्वाभाविक प्रक्रियाका रूपमा लिइन्छ । थापाले पनि राप्रपालाई यो स्थितिसम्म ल्याइ पु-याउन गरेको मिहिनेतलाई दलले पक्कै पनि बेवास्ता गर्न मिल्दैन । अबका दिनमा नेतृत्वमा रहने तथा नेतृत्वमा रहिसकेका नेताहरूले आपसी तालमेल, अनुभव, सुझबुझका आधारमा आफ्नो दलका साथै समग्रमा देशहितका लागि अझै युवा जोशका साथ काम गर्नुपर्ने आवश्यकता छ । यसबाट राप्रपाको नयाँ पुस्तामा थप उत्साह तथा जाँगर अभिवृद्धि हुँदै जाने सम्भावना छ । यसका अतिरिक्त राष्ट्रिय महत्त्वका मुद्दामा अब राप्रपा थप स्पष्ट अडान तथा राष्ट्रिय स्वार्थलाई प्रश्रय दिएर अगाडि बढ्ने अपेक्षा गर्न सकिन्छ ।

नेपालमा प्रजातन्त्र स्थापानको केही दशक भए पनि विकास निर्माणका मुद्दा आज पर्यन्त पूर्ण रूपमा साकार भइसकेका छैनन् । अहिले पनि कतिपय राष्ट्रिय सरोकारका मुद्दा थाती छन् । जसमा सबै राजनीतिक दलले मुलुकको सर्वोपरि हितलाई दृष्टिगत गरी सहमति गर्नुपर्ने आवश्यकता छ । यी विषयमा राजनीतिक दलको सहमतिले विशेष भूमिका खेल्छन् । यसअर्थमा मुलुक तथा मुलुकवासीको सर्वोपरि हितलाई ध्यान दिएर राप्रपाको नयाँ नेतृत्वले कार्य गर्नेछ भन्ने विश्वास लिन सकिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?