नेपालको लोकतान्त्रिक आन्दोलनमा अगुवाइपूर्ण भूमिका निर्वाह गरेको नेपाली काँग्रेसको १४औँ महाधिवेशन काठमाडौँमा चलिरहेको छ । स्थापनाको ७५ वर्षे भूमिकामा पुगेको काँग्रेसले यसबीचमा १३ वटा महाधिवेशन सफलतापूर्वक आयोजना गरेर पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासमा गहन अभ्यास देखाइसकेको छ । महाधिवेशनको प्रक्रियाअन्तर्गत काँग्रेसले यस पटक १३ पदाधिकारीसहित १३४ केन्द्रीय तहको नयाँ नेतृत्व निर्वाचित गर्दै छ । काँग्रेसले पछिल्लो संवैधानिक प्रावधानअनुसार पार्टीको विधानलाई परिमार्जन गरी सोहीअनुसारको नेतृत्व निर्वाचित गर्ने प्रक्रिया अगाडि बढिरहेको छ । सम्भवतः सोमबार नेतृत्वका लागि निर्वाचन हुनेछ । यसै महाधिवेशनदेखि समावेशी चरित्रलाई पूर्णतः आत्मसात् गर्दै काँग्रेसले महिला, दलित, जनजाति, आदिवासी, मुस्लिम, थारू, खस, आर्य, पिछडिएका वर्गलगायतलाई केन्द्रीय तहका पदाधिकारीमा पुग्ने गरी बाटोसमेत खोलिदिएको छ । पार्टी केन्द्रमा मात्र होइन, पार्टीको वडा, गाउँ तथा नगर, प्रदेश तथा क्षेत्रीय संरचनामा समेत समावेशी पक्षलाई अवलम्बन गरिएको विधानअनुसार निर्वाचन प्रक्रियाले निष्कर्ष दिइसकेको छ ।
महाधिवेशनमा मुख्यतया नीति र नेतृत्व गरी दुईवटा विषयले विशेष महìव राख्दछ तर काँग्रेसले यस पटकबाट नीतिगत बहसका लागि १४औँ महाधिवेशनपछि अलग्गै नीतिगत महाधिवेशन गर्ने सैद्धान्तिक प्रस्ताव पारित गर्दै यो अधिवेशनलाई मूलतः नेतृत्वको निर्वाचनमा नै सीमित गर्दै छ । यस हिसाबले यो महाधिवेशनमा कुनै नीतिगत विषयमा छलफल हुने छैन र नेतृत्व चयनमा नै रस्साकस्सी हुनेछ । काँग्रेसको महाधिवेशन एउटा राजनीतिक दलको नियमित वैधानिक प्रक्रियाभित्रको विषय भए पनि महाधिवेशन यतिबेला राष्ट्रिय राजनीतिको केन्द्रबिन्दुमा नै परेको छ । काँग्रेसको महाधिवेशनबाट चुनिने नयाँ नेतृत्व र यसले अवलम्बन गर्ने नयाँ नीतिको विषयमा चासोपूर्वक हेरिएको अवस्था छ । अन्य राजनीतिक दल र देश–विदेशबाट समेत काँग्रेसको जारी महाधिवेशनलाई गम्भीर रूपमा हेरिएको छ ।
यतिबेला सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत तथा संविधानको सफल कार्यान्वयनमार्फत नेपालीलाई समृद्धिको यात्रामा अगाडि लैजानुपर्ने गहन जिम्मेवारी काँग्रेसको काँधमा छ । काँग्रेसको नवनिर्वाचित नेतृत्वको मुख्य कार्यभार पनि यही हुनेछ । प्रमुख लोकतान्त्रिक शक्ति भएको नाताले पार्टीभित्रको आन्तरिक राजनीतिलाई व्यवस्थित गर्दै अन्य राजनीतिक दललाई पनि सँगै हिँडाउने अभिभावकीय भूमिकामा काँग्रेस पुगेको छ । एउटा राजनीतिक दलका लागि यो निकै गहन जिम्मेवारी हो । काँग्रेसको महाधिवेशन उद्घाटन सत्रमा नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताले पनि काँग्रेसलाई अभिभावकीय भूमिका नै निर्वाह गर्न सुझाएबाट पनि राष्ट्रिय राजनीतिमा काँग्रेसको भूमिका सहजै बुझ्न सकिन्छ ।
काँग्रेससित नेपालको लोकतान्त्रिक आन्दोलन, विकास र संस्थागत क्रममा गौरवपूर्ण इतिहास छ । राणा शासनको अन्त्य, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना मात्र होइन, संविधानको सफल कार्यान्वयनमा काँग्रेसले निर्वाह गरेको भूमिका विशेष महìवको छ तर गौरवपूर्ण इतिहास भएर मात्रै काँग्रेसलाई आगामी राजनीतिक यात्रा अगाडि बढाउन कठिन हुनेछ । समयअनुसार रूपान्तरण हुँदै जनजनमा झन् दरिलो ढङ्गले स्थापित हुनेतर्फ काँग्रेस अग्रसर हुनुपर्ने बेला आइसकेको छ । काँग्रेसले यस पटकको महाधिवेशनको नारामा पनि रूपान्तरणलाई विशेष जोडतोडका साथ उठाएको छ । यस पटकको महाधिवेशनमा सम्पूर्ण रूपमा समावेशी चरित्रको महाधिवेशन प्रतिनिधिको उपस्थिति हुनुले पनि काँग्रेस रूपान्तरणको पक्षमा रहेको सन्देश दिइसकेको छ । यसले पार्टीलाई समयानुकूल जीवन्त बनाउन पक्कै सहयोग पुग्ने आशा गर्न सकिन्छ । काँग्रेस अझै सशक्त, बलियो र जीवन्त छ भन्ने कुराको सन्देश दिनु काँग्रेसका नेता तथा कार्यकर्ताको मुख्य चुनौती पनि हो ।
पार्टीको महाधिवेशनमार्फत काँग्रेसले एकातिर पार्टीका लाखौँ कार्यकर्ता तथा शुभेच्छुकलाई काँग्रेसमा रूपान्तरण भएको भनी नयाँ आशाको रक्तसञ्चार गराउनु जरुरी छ । अर्कोतर्फ काँग्रेसको महाधिवेशनलाई नजिकबाट नियालिरहेका राजनीतिक शक्ति र आमजनतालाई पनि लोकतन्त्र, विकास, शान्ति र समृद्धिको क्षेत्रका काँग्रेस नै भरपर्दो राजनीतिक शक्ति रहेछ भन्ने विश्वास जागृत गराउनुपर्ने आवश्यकता छ । पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धालाई सदुपयोग र प्रभावकारी बनाउँदै नयाँ नेतृत्व निर्वाचित गरेर काँग्रेसले अन्य राजनीतिक शक्तिलाई पनि अर्थपूर्ण सन्देश दिन सक्नुपर्छ, साथै आमनेपालीलाई सुखद भविष्यको आशा सञ्चार गर्न सक्नुपर्छ । यसो हुन सक्यो भने काँग्रेसको जीवनले नयाँ युग प्राप्त गर्ने मात्र होइन, महाधिवेशन पनि पूर्ण रूपमा सफल भएको मानिने छ ।