logo
२०८१ मंसिर ११ मंगलवार



कर्णालीमा चिकित्सा शिक्षा (सम्पादकीय)

विचार/दृष्टिकोण |




नेपालका सात प्रदेशमध्ये दुर्गम, अविकसित, पिछडिएको उपमा दिनुपर्दा धेरैजसोले सम्झिने क्षेत्र वा प्रदेश हो कर्णाली । भौगोलिक दुःख पीडा, भोक, पछौटेपन तथा राज्यको दृष्टि पुग्न नसकेको कर्णालीका सम्बन्धमा थुप्रै कुरा सुन्न पाइन्छ, कतिपय पढ्न पाइन्छ । तीमध्ये कतिपय नकारात्मक विम्बका रूपमा समेत चित्रण गरिन्छ  । तर गम्भीर भएर सोच्ने हो भने केका हातमा नरिवल भनेजस्तै हो कर्णाली । के छैन कर्णालीमा ? खस भाषाको उद्गमस्थल, दुर्लभ जडीबुटीका भण्डार, प्राकृतिक सौन्दर्यको खानी, ऊर्जाका लागि अविरल बगिराख्ने जलस्रोत । यस्ता अनेक सम्भावना बोकेको कर्णाली आज मुलुकमा विकासका दृष्टिकोणबाट सबैभन्दा पछाडि परेको छ र यो कटु यथार्थ पनि हो । यस अर्थमा भन्नुपर्दा मुलुकले चिन्न नसकेको मणि हो कर्णाली ।

सम्भावना छन् र अवसर उपलब्ध गराइए कर्णाली पनि भोलि विकास तथा समुन्नति मूल मार्गमा अगाडि बढ्न सक्छ । कर्णालीको विकासका लागि काठमाडौँको सही दृष्टिकोण चाहन्छ । तुलनात्मक रूपमा पिछडिएको कर्णाली सधँै पिछडिएकै अवस्थामा यथावत रहन सक्दैन । आशा गरौँ, अब त्यसो हुन सक्दैन । रोग र रोगी उत्पादन गर्ने भनेर चिनाइएको कर्णाली अब चिकित्सक उत्पादन गरेर देशको स्वास्थ्य सेवामा योगदानमा जुटेको छ । कर्णालीमा चिकित्सा विज्ञानमा स्नातक तह अर्थात् ब्याचलर अफ मेडिसिन एण्ड व्याचलर अफ सर्जरी (एमबीबीएस) को अध्ययन कार्यक्रम सुरु भएको छ । चिकित्सा शास्त्रको अध्ययनबाट क्षेत्रको विकासमा नयाँ क्षितिज खुल्नेछ । डा. गोविन्द केसीले चरण चरणमा सत्याग्रहण गरेर समग्र देशको स्वास्थ्य शिक्षाको विकासका माग गर्नुभएको थियो । कर्णालीका सन्दर्भमा समेत जुम्ला पुगेर राखिएका माग समग्रमा पूरा भए । यो पाटोलाई पनि यस घडीमा बिर्सन मिल्दैन ।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एमबीबीएसको कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार औपचारिक शुभारम्भ गर्नु भएबाट अब त्यस क्षेत्रले कोल्टे फेर्ने बाटो समाएको स्पष्टै छ  । अब कर्णाली हिजोको जस्तो रहेन । कर्णालीलाई हेर्ने दृष्टिकोणमा पनि फरक आउने छ । चिकित्सा प्रतिष्ठानबाट अब्बल चिकित्सक उत्पादन गरेर आफ्नै प्रदेशको स्वास्थ्य सेवाको गुणात्मक विकास गर्नेछ साथै, देशभरको स्वास्थ्य सेवामा समेत कर्णालीले योगदान पु¥याउने छ । यसबाट कर्णालीको नाम गर्वसाथ लिने अवसर मिल्नेछ । अनेक थरिका बहुमूल्य जडीबुटीको धनी यो क्षेत्रका सर्वसाधारणले हिजोका दिनमा जीवनजल र सिटामोल नपाएर ज्यान गुमाउन पनि बाध्य भएका तितो यथार्थ शायदै कसैको मानसपटलबाट हराउन सक्ला तर अब चिकित्सक र औषधिसहित सम्पूर्ण देशमा नै स्वास्थ्य क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्दैछ कर्णालीले । चिकित्सक मात्र होइन यहाँका जडीबुटीको सदुपयोग गरेर औषधि कारखाना खोल्न पनि अवसर तथा प्रोत्साहनको खाँचो छ । फलस्वरूप स्वास्थ्य क्षेत्रको अध्ययन, अनुसन्धान तथा विकासका निम्ति एक उत्तम स्थानका रूपमा स्थापित हुन सक्नेछ कर्णाली  ।

एमबीबीएस कार्यक्रम सञ्चालन आफैँमा साध्य होइन यो एक साधन वा माध्यम मात्र हो । हुन त कर्णाली जस्तो दुर्गम स्थलमा यसको शुभारम्भ आफँैमा एक विशिष्ट पक्ष हुँदै हो । यही कार्यक्रमकै फलस्वरूप यो क्षेत्रले आफ्नो छविमा सकारात्मक परिवर्तन गर्ने अवसर प्राप्त गर्ने नै छ सँगसँगै रोजगारीमा विस्तार आउनेछ । यसबाट कर्णालीको आर्थिक विकासमा पनि सकारात्मक प्रभाव पर्ने छ । यो क्षेत्रको परिचयलाई रूपान्तरित गर्ने कार्यमा चिकित्सा शिक्षाको यस कार्यक्रमले निकै महìवपूर्ण भूमिका खेल्ने छ तर त्यसका लागि गुणस्तरीय अध्ययन अध्यापनको आयामलाई भने बिर्सन हुन्न । यो अवसरलाई अधिकतम उपयोग गर्न यहाँका सबै क्षेत्रको समन्वय तथा सहकार्य समेत अनिवार्य छ । उत्पादित एमबीबीएस जनशक्तिलाई दक्ष तथा निपूर्ण बनाउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले निकै नै मिहिनेत पनि गर्नुपर्ने छ । चिकित्सा शिक्षाको गुणात्मक पक्षले नै यहाँको एमबीबीएस कार्यक्रमको मात्र होइन, समग्र प्रदेशको मुहारमा उज्यालोपन आउने छ । आरम्भ भएको उच्च चिकित्सा शिक्षाको यस कार्यक्रम कमजोर र असफल भएमा त्यसले प्रदेशका अन्य विकासका ढोकाहरू समेत खुल्न कठिन हुनेतर्फ गम्भीर हुनैपर्ने देखिन्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?