logo
२०८१ मंसिर ११ मंगलवार



पानीको वैकल्पिक प्रयास (सम्पादकीय)

विचार/दृष्टिकोण |




मेलम्ची स्रोतबाट काठमाडौँ उपत्यकावासीको पानीको आवश्यकता पूरा गर्ने सपना प्राकृतिक विपत्तिका कारण धक्का लागेपछि सरकार नयाँ विकल्पको खोजीमा जुटेको छ । प्राकृतिक विपत्तिका कारण नराम्ररी क्षतविक्षत भएको मेलम्ची खानेपानी आयोजना तत्काल मर्मत गरेर राजधानीवासीलाई पानी खुवाउन कठिनाइ देखिएपछि डिप बोरिङलाई त्यसको विकल्पका रूपमा अगाडि सारिएको हो । यसक्रममा काठमाडौंँ उपत्यका खानेपानी आयोजना लिमिटेडले (केयुकेएल) ले मेचम्ची निर्माण भएर पानी वितरण सहज नहुँदासम्म डिप बोरिङबाट पानी खुवाउने योजना अगाडि बढाएको छ । त्यसक्रममा (केयुकेएल) ले थप १३ वटा डिप बोरिङ जडान गरी पानीको उत्पादन थप गर्दैछ । यो योजनाबाट दैनिक एक करोड ३० लाख लिटर पानीको उत्पादन थप गर्ने योजना छ । यसक्रममा तीनवटा डिप बोरिङ जडान भएर सञ्चालनमा आइसकेका छन् ।

राजधानीको नरेफाँट, सानेपा र टोखामा तीनवटा नयाँ डिप बोरिङ जडान गरी सञ्चालनमा ल्याइएको हो । यसबाट दैनिक लाखौँ लिटर पानी थप भइसकेको छ । दसवटा बोरिङ जडानका लागि ठाउँ पहिचान भएर हाल अध्ययनको काम भइरहेको छ । यसका लागि अहिले सम्भाव्यता अध्ययन भइरहेको छ । अबको दुई महिनामा अध्ययन सम्पन्न भई निर्माण कार्य सुरु गर्ने योजना बनाइएको छ । हाल योजनाकै चरणमा रहेका यी दसवटा जडान भई सञ्चालनमा आइसकेपछि वितरण प्रणालीमा दैनिक थप एक करोड लिटर पानी थप हुनेछ । मध्यपुर ठिमीको हनुमन्ते नदी किनार, लोकन्थली, महालक्ष्मी नगरपालिका, ललितपुर महानगरपालिका, बागेश्वरी र चाँगुनारायणमा एक/एक र तारकेश्वर र बूूढानीलकण्ठमा दुई/दुई वटा ‘डिप बोरिङ’ जडान गर्न लागिएको छ ।

अब मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण भएर पानी वितरण सञ्चालन नभएसम्म यही वैकल्पिक खानेपानीको योजनामा भर पर्नुपर्ने बाध्यता आइलागेको छ । क्षतिग्रस्त भएपछि मेलम्चीको पानी वितरण बन्द भएयता केयुकेएलले साताको एक वा दुई साताको मात्र नागरिकको घरमा पानी वितरण गर्न सकेको अवस्था छ । यसले मानिसको दैनिक आवश्यकता पूरा गर्न सकेको छैन । सरकारी अधिकारीहरूका अनुसार हाल भूमिगत स्रोतबाट तीन करोड तथा सतहगत स्रोतबाट आठ करोड लिटर पानी निकाल्ने काम भइरहेको छ । राजधानीमा दैनिक ४३ करोड लिटर पानीको माग भएको अध्ययनहरूबाट देखिए पनि त्यसअनुसारको मागपूर्ति भने हुन सकेको छैन ।

मेलम्चीको पानी काठमाडौँ आउन केही समय लाग्ने सक्ने प्रारम्भिक अनुमान सरकारी अधिकारीहरूले गरेका छन् । हालसम्म गरिएका अध्ययन अनुसन्धानहरूबाट मेलम्चीको पानी पूर्ण रूपमा सङ्लो नभएसम्म काठमाडौँ पानी ल्याउन सक्ने स्थिति देखिएको छैन । यो अवस्थामा समयमै पानीको वैकल्पिक विकल्प खोजी हुनु जरुरी थियो । जुन काम समयमै सुरु गरेर सरकारले प्रशंसनीय कार्य गरेको छ । मेलम्चीको आयोजनालाई महाविपत्तिले ठूलो असर गरेको छ । भाग्यवश नै भनौँ, पानीको सुरुङ मार्गमा कुनै क्षति नभएकोले पुनर्निर्माण गरेर पानी फेरि काठमाडौँ ल्याउने सपना कायमै रहने अवस्था भने बन्यो । हाम्रोजस्तो भौगोलिक संरचना भएको र विपत्तिले समेत पटक पटक दुःख दिइने नियति भागेका हामीलाई यस खालको जोखिम आगामी वर्ष आउँदैन भन्न सकिँदैन । विपत्ति जोखिम, बाढी पहिरोजस्ता कुरा पूर्व अनुमान गर्न सक्ने कुरा पनि भएन ।

यो अवस्थामा डिप बोरिङको योजनालाई छिटो सम्पन्न गरी तत्काल पानीको आवश्यकता पूरा गर्नु पहिलो आवश्यकता बनेको छ । भूमिगत पानीको स्रोतको सही सदुपयोग गरी राजधानीवासीको पानीको आवश्यकता पूरा गर्नुपर्ने आवश्यकता एकातिर छ भने अर्कोतिर यसको दिगोपनका बारेमा समेत सचेत हुनुपर्ने अवस्था छ । तत्काल पानीको आवश्यकता पूरा गरेर राजधानीवासीको सपना नै बनेको मेलम्ची आयोजनालाई पनि समयमै पुनर्निर्माण गर्नेतर्फ पनि सम्बद्ध निकायको ध्यान जानु आवश्यक देखिन्छ । राजधानीवासीको पानीको सपना मेचम्ची नै हो । कलकल मेलम्चीको पानी पिउने सपना अझै पूरा भएको छैन । त्यसैले पनि तत्काल मेलम्चीको विकल्पका रूपमा मात्र डिप बोरिङको योजना अगाडि सारिएको हो । स्वच्छ पानी प्राप्त गर्ने नागरिक हकलाई सकेसम्म अविलम्ब पूरा गर्ने दायित्व राज्य र त्यसभित्रका सरोकारी निकायको हो भन्ने बिर्सन मिल्दैन । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?