logo
२०८१ मंसिर ११ मंगलवार



खेलाडीलाई प्रोत्साहन (सम्पादकीय)

विचार/दृष्टिकोण |




नेपाली खेलकुद क्षेत्र वर्षौंदेखि उपेक्षित अवस्थामा छ । खेलाडी सधैँ हातमुख जोर्ने समस्यामा हुन्छन् अनि उनीहरूबाट राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट नतिजाको अपेक्षा गर्नु कति युक्तिसङ्गत हुन्छ ? हिजोआज खेलकुद क्षेत्रको अन्तर्राष्ट्रिय क्षेत्रमा बेग्लै मान, सम्मान, इज्जत एवं प्रतिष्ठाका साथै मुलुकलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने कार्य पनि गरिरहेको हुन्छ । यसैले पनि खेलकुद क्षेत्र तथा खेलाडीलाई राज्यले प्रोत्साहन गर्ने कार्य संसारभरि नै व्याप्त छ । यस्ता कार्यबाट खेलाडीको मनोबल बढ्न गएर राष्ट्रिय अन्तर्राष्ट्रिय सफलता प्राप्त गर्न सक्षम हुन्छन् । यसै सन्दर्भमा माल्दिभ्सको राजधानी मालेमा सम्पन्न १३औँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता भएको नेपाली राष्ट्रिय फुटबल टोलीलाई सरकारका तर्फबाट मङ्गलबार सम्मान गरियो । स्वयं प्रधानमन्त्री शेरबहादुर देउवा नै उपस्थित भएर खेलाडीलाई पुरस्कृत एवं सम्मान गर्नु आफैँमा समग्रमा खेल क्षेत्रका लागि खुसी एवं हौसलाको विषय हो । उपविजेता टोलीमा समावेश २१ खेलाडीलाई पाँच, पाँच लाख तथा तीन प्रशिक्षकलाई तीन तीन लाख जनही नगद पुरस्कार तथा सम्मानपत्र गरिएको सो कार्यक्रममा प्रधानमन्त्रीले खेलकुद विकास एवं खेलाडीको सम्मानलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नु भएबाट सरकारले खेलकुद क्षेत्रलाई दिएको महìव स्पष्ट हुन्छ । सरकारको यस कदमबाट समग्र खेलकुद जगत् तथा खेलाडीमा पक्कै पनि उत्साहको सिर्जना भएको मान्न सकिन्छ र आगामी दिनका महìवपूर्ण राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा थप उत्साहजनका परिणाम आउने तथ्यमा विश्वस्त हुने आधार पनि निर्माण भएको छ ।

फुटबल खेल नेपालमा सर्वाधिक लोकप्रिय खेल हो । एसियाली स्तरको दाँजोमा नभए पनि दक्षिण एसियाली स्तरमा फुटबल क्षेत्रमा नेपालको साख एवं स्तर सन्तोषजनक नै मान्नुपर्दछ । नेपालले दक्षिण एसियाली खेलकुदमा पटक पटक फुटबलमा स्वर्णका साथै अन्य पदक जिते पनि साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता भने नेपालका लागि त्यति शुभ समाचार प्रवाह गर्ने खालको हुन सकेको थिएन । १२औंँ पटक आयोजना हुँदासम्म पनि नेपाल यस प्रतियोगिताको फाइनलसम्म पनि पुग्न सकेको थिएन तथापि माल्दिभ्समा आयोजित १३औँ प्रतियोगितामा फाइनलमा पुगेर तीतो विगतलाई बिर्साउने अवसर पनि सिर्जना भयो । प्रयास हुँदाहुँदै पनि यस पटक पनि नेपाली टोली यस प्रतियोगितामा उपविजेतामा सीमित रहन पुग्यो । आशा गरौंँ, सरकार तथा आमजनताको उत्साहजनक साथ एवं समर्थनका साथ अर्को पटक नेपाल साफ च्याम्पियनसिपको विजेता बन्नेछ । मङ्गलबारको प्रोत्साहनको कार्यक्रमबाट निश्चित रूपमा खेलाडी एवं प्रशिक्षकहरूमा नयाँ जोश, जाँगर एवं उत्साहको सञ्चार हुनुका साथै आगामी दिनमा यसले सकारात्मक प्रभाव पार्ने नै छ ।

खेलकुदलगायत सबै कुराको विकासतर्फ क्रमिक रूपमा उन्मुख हुँदैछाँै । यस सन्दर्भमा सबै कुरामा सरकारको मुख ताक्नुपर्ने बाध्यता अझै विद्यमान छ । यस तथ्यबाट खेलकुद क्षेत्र पनि अछूतो रहन नसकेको वास्तविकता सबैसामु छ । मुलुक चिनाउने खेलकुद क्षेत्रको विकास एवं प्रोत्साहनका लागि मात्र नभएर खेलकुदका प्रत्येक विधाका समस्या समाधानका लागि पनि खेलकुदका निकायहरू सरकारी संलग्नता खोजिरहेका देखिन्छन् । हालै मात्र क्रिकेटका खेलाडीहरूलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले गरेको कारबाही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चाको विषय बन्यो । यसमा स्वयं प्रधानमन्त्रीले नै क्यानका अध्यक्षलाई फोन गरेर चासोसमेत व्यक्त गर्नुभएको सार्वजनिक भइसकेको छ । यस्ता समस्या खेलकुदका अन्य निकायमा पनि बेलाबेलामा सार्वजनिक भइरहेका हुन्छन् । हुन त यस्ता समस्या खेलकुदको उन्नयनभन्दा पनि व्यक्तिगत लाभहानिका उपज हुन् तथापि यसको समग्र मार खेलकुद जगत्लाई पर्छ । हरेक सानातिना कुरामा सरकारको मुख ताक्नु कहाँसम्म जायज हुन्छ ? आफ्नो समस्या आफैँले समाधान गर्नसक्ने हैसियत खेलकुदका निकायहरूले बनाउन सक्नुपर्छ । सबै समस्यामा सरकारको मुख ताक्नु राम्रो होइन । समग्रमा खेलकुद क्षेत्रको विकासका लागि सरकारका यस्ता प्रोत्साहनका कार्यक्रमले सकारात्मक प्रभाव पार्ने हुनाले यस्ता कार्यक्रमको निरन्तरतामा जोड दिनु आवश्यक छ । यसैगरी सरकारले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो नतिजा ल्याउने खेलाडी तथा प्रशिक्षक स्वतः पुरस्कृत गर्ने कार्यविधि ल्याउन लाग्नु खेलकुद विकासका लागि आफैँमा स्वागतयोग्य कदम हो । यस्ता कार्यले समग्र खेलकुद क्षेत्रको विकासमा सहयोग पुग्न सक्ने छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?