धर्मेन्द्र झा
नेपाली काँग्रेसको चौधौँ महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी डा. शेखर कोइरालालाई ठूलो मतान्तरले पराजित गरी सभापतिमा विजयी हुनुभएका देउवाको राजनीतिक जीवन निकै उतारचढावपूर्ण छ । सुदूरपश्चिमको पहाडी जिल्ला डडेलधुराको रुवा खोलाका एक सामान्य विद्यार्थी देउवा काँग्रेसको सभापति बन्नेसम्मको राजनीतिक यात्रा कम रोमाञ्चक छैन । पाँच पटक देशको प्रधानमन्त्रीको कार्यभार समालिसक्नुभएका देउवा विविध कारणले राजनीतिक–चर्चामा रहनुभयो । वैचारिक र सैद्धान्तिक आधारका लागिभन्दा पनि आक्रामक व्यक्तित्व, सत्ता–चातुर्य, साङ्गठनिक चुस्तता तथा कार्यकर्ता संरक्षणका दृष्टिले प्रायः चर्चामा रहने देउवा सभापतिमा निर्वाचित भएसँगै काँग्रेस नयाँ धारको राजनीतिमा प्रवेश गरेको विश्वास गरिएको छ ।
सभापतिमा निर्वाचित भएसँगै लामो समयदेखिको देउवाको चिरप्रतिक्षित मनोकाङ्क्षाले आकार ग्रहण गरेको छ । दशौँ महाधिवेशनमा आफ्ना राजनीतिक गुरु गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धा गरेका देउवाको सभापति हुने इच्छा पूरा नभएपछि काँग्रेसको एघारौँ महाधिवेशन अलगअलग रूपमा सम्पन्न भएको थियो । नेपाली काँंग्रेस (प्रजातान्त्रिक) गठन गरी देउवा त्यसको सभापतिसमेत हुनुभयो । त्यसबेला देउवालाई पार्टी फुटाएको आरोप पनि लगाइएको थियो । बाह्रौँ महाधिवेशनमा पुनः सभापतिका लागि प्रतिस्पर्धी हुँदा देउवाले सुशील कोइरालासँग पराजय बेहोर्नुपरेको थियो तर देउवाले हरेस खानु भएन र सङ्गठनमा लगातार सक्रिय भइरहनुभयो । अन्ततः तेह्रौँ महाधिवेशनबाट कार्यवाहक सभापति रामचन्द्र पौडेललाई पराजित गर्दै देउवा सभापतिमा पहिलो पटक निर्वाचित हुनुभएको थियो ।
देउवा सभापतिमा दोस्रो पटक विजयी त हुनुभएको छ तर कांँग्रेसलाई सफल बनाउन उहाँले अनेक चुनौती सामना गर्नुपर्नेछ । उहाँको पहिलो कार्यकाल आशा गरेअनुरूप हुन सकेन, यो सत्य हो तर यो सँगै सत्य के हो भने उहाँले सफलताका लागि आवश्यक सम्पूर्ण सहयोग पनि प्राप्त गर्न सक्नु भएन । यस पटक साँच्चै काम गर्न चाहने हो भने उहाँले अनुकूल अवसर प्राप्त गर्नुभएको छ । यस पटक देउवाले कार्यसमितिमा करिब दुईतिहाइको बहुमत पाउनुभएको छ भने काम गर्न खोज्ने उत्साही युवा सहयोगी पनि प्राप्त गर्नुभएको छ ।
विगत निकै दिनदेखि काँंगे्रसमा अनेकथरि समस्याको अनुभूत गरिँदै आइएको छ । काँंग्रेसलाई सुधार्नुपर्ने आवश्यकताको बोध भएको निकै भइसक्यो तर सुधारको प्रारम्भ भने हुन सकेको छैन । यस अवस्थामा वर्तमान परिवेशमा काँंग्रेसमा सुधारका दृष्टिले केही प्रयास आवश्यक छ । यहाँ तिनैका बारेमा चर्चा गर्ने प्रयत्न गरिएको छ ।
समयानुकूल साङ्गठनिक संरचना
आजको सन्दर्भमा सबैभन्दा महìवपूर्ण मुद्दा काँग्रेसलाई कसरी सङ्गठित र एकत्रित अर्थात् एकताबद्ध रूपमा डो¥याउन सकिन्छ भन्ने हो । पछिल्ला वर्षमा कांँग्रेसमा अनेक गुट–उपगुट विकसित भए । विचारभन्दा व्यक्ति हावी हुने स्थितिको निर्माण हुँदा पार्टीको सैद्धान्तिक धार भुत्ते हुने खतरा वर्तमानमा निम्तिएको छ । भनिन्छ, लोकतन्त्रमा पार्टीको सबैभन्दा महìवपूर्ण पक्ष नै कार्यकर्ता र जनशक्तिको व्यवस्थापन हो तर कांँग्रेसले अझै पनि यो कुरालाई आत्मसात् गर्न सकेको छैन । जनशक्ति व्यवस्थापनको पाटोलाई महìव दिई पार्टीलाई सुदृढ बनाउन भूमिका निर्वाह गरिनु जरुरी छ ।
आवश्यकता डिजिटल काँग्रेस
काँंग्रेस पार्टी जति पुरानो छ यसको सञ्चालन प्रक्रिया पनि सोही अनुपातमा परम्परावादी छ । पार्टी सञ्चालनको वैज्ञानिक सोच विकसित हुन नसकेको परिप्रेक्ष्यमा आधुनिक सूचना प्रविधिमार्फत पार्टी सञ्चालन विधिलाई ‘डिजिटलाइज्ड’ बनाउनु जरुरी छ । आज काँग्रेसको अभिलेख पद्धतिप्रति थुप्रै टीका–टिप्पणी भइरहेका छन् । कार्यकर्ताको अभिलेख पद्धति विकसित छैन । मूल्याङ्कनको कुनै विधि छैन । प्रचार समग्री र प्रयोग विधि पुरातन छन् । धेरैजसो कुरा कागजका ढड्डामुनि थिचिएर रहन बाध्य छन् । यस अवस्थाको अन्त्य नभएसम्म पार्टी नयाँ ढङ्गले अगाडि बढ्न असम्भव छ ।
लोकतान्त्रिक समाजवादको प्रासङ्गिकता
काँग्रेसको सैद्धान्तिक आधार लोकतान्त्रिक समाजवाद हो । यसै सिद्धान्तका आधारमा काँग्रेसले सात दशकको सफल यात्रा तय गर्न सकेको हो । काँग्रेसका संस्थापक एवं सैद्धान्तिक व्याख्यकार बीपी कोइरालाले व्याख्या गर्नु भएअनुसारकै मानक अहिलेको समयमा पर्याप्त र उचित नहुन सक्छन् । यसलाई समयसापेक्ष बनाउनु आवश्यक छ । लोकतान्त्रिक समाजवादको अवधारणा लोकप्रिय र निर्विकल्प छ तर यसको व्याख्या आजको सन्दर्भमा हुनु अपरिहार्य छ । यसो गर्न नसकिए आजको पुस्तालाई आकर्षित गर्न समस्या हुने स्वीकार गरी पार्टीले लोकतान्त्रिक समाजवादको परिमार्जित अवधारणातर्फ सोच विकसित गर्नु आवश्यक छ ।
बहुलवादको वास्तविक कार्यान्वयन
यो देश जातीय र भाषिक आधारमा एक समृद्ध फूलबारी हो । देशको भूगोलमा बसोवास गर्ने अर्थात् फूलबारीका सबै फूलले समान रूपले फुल्ने अवसर पाउनुपर्छ । सारमा यही अवधारणा बहुलवाद हो । जसरी देश बहुजातीय र बहुभाषिक छ देशको सम्पूर्ण चरित्र सोहीअनुकूल हुनुपर्छ । देशका सम्पूर्ण निकाय र नीतिमा देशको मूल चरित्र परिलक्षित हुनु नै बहुलवादको कार्यान्वयन हो । यसले एकातिर जहाँ सामाजिक सद्भाव विकसित हुन्छ त्यही अर्कोतिर देशका सम्पूर्ण वर्गको आत्मसम्मानको रक्षा हुन सम्भव हुन्छ । काँग्रेसले सैद्धान्तिक रूपमा बहुलवादी अवधारणालाई स्वीकार गरेको छ तर व्यवहारमा यो धारणा कार्यान्वित हुन सकेको छैन, जो दुःखदायी छ । पार्टीले यस विषयमा सार्थक नीति तय गर्नुपर्छ र कार्यान्वयनमा जुट्नुपर्छ ।
उपार्जनका लागि श्रमको सम्मान
आर्थिक उपार्जनका विविध क्षेत्रसम्बन्धी उचित नीति निर्माण हुन नसक्दा श्रमको सम्मानको उचित वातावरण तयार हुन नसकेको स्पष्ट छ । काँग्रेसमा यससम्बन्धी स्पष्ट नीति नहुँदा यसको लाभ वामपन्थी प्रतिस्पर्धीले उठाउँदै आएका छन् । यही श्रमको मुद्दा हो जसलाई प्रमुखताका साथ उठाएर वामपन्थीले आफूलाई विस्तारित गरेकोमा शङ्का छैन । आगामी दिनमा कांँग्रेसले यस सम्बन्धमा गम्भीर हुनु आवश्यक छ । नेपालमा असङ्गठित क्षेत्रका मजदुरको ठूलो सङ्ख्या छ । असङ्गठित मजदुरबारे हालसम्म कुनै अध्ययन नै हुन सकेको छैन । काँग्रेसले अब यसप्रति आँखा चिम्लिएर बस्ने स्थिति छैन ।
कार्यकर्ताको उचित परिचालन
काँग्रेसले अहिलेसम्म कार्यकर्तालाई कसरी व्यस्त राख्ने र उनलाई कस्तो दायित्व दिने भन्ने विषयमा कुनै नीति बनाएको पाइँदैन । अबको काँंग्रेस यसप्रति गम्भीर हुनु जरुरी छ । कांँग्रेसले कार्यकर्तालाई अर्थोपार्जनमा सक्रिय गराएर सम्बन्धित कार्यकर्ता र समग्रमा देशको आर्थिक विकासलाई बल प्रदान गर्ने दृष्टिले नीति तय गर्नु जरुरी छ ।
राष्ट्रियता प्रवद्र्धन
नेपाली राष्ट्रियता यतिखेर इतिहासकै सर्वाधिक कठिन मोडमा छ, पुनव्र्याख्याको पर्खाइमा छ । पछिल्लो दिनमा साम्प्रदायिक रूपमा जसरी राष्ट्रियताको व्याख्या गर्ने प्रयास गरियो त्यो दुखद छ । यो प्रयासले जनता विभाजित गर्ने प्रपञ्च रचिएको छ भनेर भनियो भने अतिशयोक्ति हुने छैन । यस्तो अवस्थामा कांँग्रेसले यस विषयमा पुनर्विचार गरी सर्वस्वीकृत अवधारणा विकसित गर्नु अपरिहार्य छ । सत्तारोहणलाई सहज बनाउने राष्ट्रवाद देशका लागि खतरनाक छ भन्ने कुराको बुझाइलाई फराकिलो बनाउनु आवश्यक छ ।
नेतृत्व हस्तान्तरण
प्रत्येक पटकको महाधिवेशनका सन्दर्भमा सर्वाधिक चर्चित र महìवपूर्ण विषय नेतृत्वको विषय हुने गर्छ । यस पटकको महाधिवेशन त सम्पन्न भइसकेको छ र देउवाको नेतृत्वमा नयाँ नेतृत्वको चयन भइसकेको छ । यससँगै भविष्यको नेतृत्वका लागि एउटा बहस सुरु भएको छ । चौधौँ महाधिवेशनले भविष्यको काँग्रेसको परिचालन युवाले गर्नुपर्ने स्पष्ट सन्देश दिएको छ । वर्तमान नेतृत्वले यो यथार्थलाई अस्वीकार गर्न मिल्दैन । परिवर्तित राजनीतिक परिदृश्यमा पार्टीले आगामी महाधिवेशनमा यस्तो नेतृत्व चयन गर्नु जरुरी छ जो सिद्धान्त, आस्था, विचार, निष्ठा र इमानदारीका दृष्टिले सबल होस् ।
लोकतन्त्रप्रति दृढ विश्वास राख्ने नेतृत्वले मात्र भविष्यका चुनौतीको सामना गरी माथि उल्लिखित मुद्दाको सम्बोधनका माध्यमबाट नेपाल देश, नेपाली लोकतन्त्र र नेपाली जनताको सर्वोत्तम हितको मार्ग तय गर्न सक्छ । स्मरण रहोस, लोकतान्त्रिक मूल्य–मान्यतासँग सम्झौता गर्नेहरूबाट यो राष्ट्रिय दायित्व निर्वहन सम्भव हुन सक्दैन ।