ढुण्डीराज शास्त्री
समताको विज्ञान समाजको विज्ञान हो । यो विज्ञान नै समाजको वाद या विज्ञान भएकाले यो सिद्धान्तलाई समाजवाद भनिएको हो । यो सिद्धान्तमा आधारित विचार र यो विचारको कार्यान्वयनमा परिवर्तित र विकसित हुने राज्य र राज्य व्यवस्था समाजवादी हुन् । राज्यका अङ्ग जनसङ्ख्या, सीमाबद्ध वा भूभाग, सम्प्रभूता र सरकार भएझैँ आर्थिक, सामाजिक र राजनीतिक गरी तीन व्यवस्था राज्यका व्यवस्था हुन् । तीमध्ये एउटा व्यवस्था मात्र समताको विज्ञानमा आधारित समाजवादी सिद्धान्त र नीतिद्वारा परिचालित भए पनि व्यवहारमा त्यो समाजमा कार्यान्वयन हुन सक्दो रहेनछ अर्थात् समाजले त्यसको उपयुक्त प्रतिफल पाउन सक्दो रहेनछ ।
प्रजातान्त्रिक राजनीतिक व्यवस्था समताको समाजवादी सिद्धान्तको नीतिद्वारा परिचालित छ । जात, धर्म, वर्ग, लिङ्ग, धनी–गरिब आदि कुनै पनि आधारमा राज्य र राजनीतिका दृष्टिले भिन्न छैनन् । सबै समान छन् । मत लिने दिने अधिकार, राज्य सञ्चालनका उच्च पदमा पुग्न सक्ने अधिकार, न्यायमा समता र मत भार पनि समान छ । प्रजातान्त्रिक राजनीतिक व्यवस्था समताको समाजवादी सिद्धान्तमा आधारित नीतिअनुसार कार्यान्वयन भएको छ । समाजमा ती देशमा जातीय, वर्गीय र धार्मिक आदि अनेक विषमताजन्य पीडा सहन समाज बाध्य छ, किन ?
समताको समाजवादी सिद्धान्त राज्यका एउटा अथवा दुईटा व्यवस्थामा प्रयोग भए पनि त्यसको फल अथवा समताको लाभ समाजले पाउन सक्दैन । राज्यका तीनै व्यवस्थामा समताको समाजवादी सिद्धान्त कार्यान्वयन हुनुपर्छ । राज्यको राजनीतिक व्यवस्था जुन देशमा प्रजातान्त्रिक छ, त्यहाँ राजनीतिक व्यवस्था समताको समाजवादी नीतिअनुसार नै व्यवस्थित छ । आर्थिक र सामाजिक व्यवस्था विभेदपूर्ण असमानतामा आधारित भएकाले राजनीतिक व्यवस्था समताको समाजवादी हुँदाहुँदै यसको प्रतिफल समाजमा देखिँदैन र प्राप्त गर्न पनि सकिएको छैन । समाज विभेदपूर्ण छ, असमान छ । यही धुनचक्रमा पिसिएको छ । यसो हुनुको कारण राजनीतिक व्यवस्था नभएर आर्थिक र सामाजिक व्यवस्था हुन् ।
नेपालमा संविधान सभाद्वारा निर्मित संविधानमा प्रतिनिधित्वको हैसियतले सम्पूर्ण देश र जनताले अब उप्रान्त मुलुक समाजवादउन्मुख भई अघि बढ्नेछ भनी प्रतिज्ञा गरेका छन् । प्रायः धेरैजसो पार्टीले सिद्धान्त र उद्देश्य समाजवाद लेखेका छन्, भनेका छन् । पार्टीको नामको अगाडि समाजवाद लेखेका छन् । बाहिरी वातावरण हेर्दा र संविधान पढ्दा नेपालमा त समताको विज्ञान समाजवाद नै कार्यान्वयन भएजस्तो लाग्छ । वास्तविकता उल्टो छ । संविधानमा लेखिएको र वातावरणमा देखिएको यो विचारमा आधारित वैज्ञानिक व्यवस्था कार्यान्वयनमा हामी सबै नेपाली लागौँ ।
प्रजातान्त्रिक राजनीति व्यवस्था जुन मुलुकमा छ, त्यहाँ समताको समाज विज्ञान अर्थात् समाजवादी नीति राजनीतिमा अवलम्बन गरिएको छ । नेपालमा पनि राजनीतिक व्यवस्था समताको नीतिमा आधारित छ । राज्य समताका नीतिअनुसार परिवर्तन र विकसित हुन नसक्नु एउटा खुट्टा भाँचिएको मानिस दगुर्न नसक्नु र धेरै टायर भएको गाडीको एउटा–दुईटा टायर बिग्रँदा दगुराउन नसकिनु जस्तै हो । राज्य पनि तीन व्यवस्थाका बलमा अगाडि बढ्छ । तीनै व्यवस्था समताको समाजवादी नीतिअनुसार परिवर्तन र विकसित हुनुपर्छ । राजनीतिक व्यवस्था समताको सिद्धान्तअनुसार परिवर्तन भए पनि आर्थिक र सामाजिक व्यवस्था पूर्ववत यथावत रहनुका कारण राजनीतिक व्यवस्थामा सैद्धान्तिक र नीतिगत रूपमा परिवर्तन भए पनि व्यवहारमा परिवर्तनको असर देखिएको छैन ।
राजनीतिक–प्रजातान्त्रिक व्यवस्था समता विज्ञानको समाजवादी सिद्धान्त र उद्देश्यअनुसार हुँदाहुँदै आर्थिक र सामाजिक व्यवस्थाका कारण देश र समाज असमताको, असन्तुलित, दुःखदायी बाटोबाट नै अघि बढ्न बाध्य छ । आर्थिक र सामाजिक व्यवस्थाको वैज्ञानिक परिवर्तन आवश्यक छ । यसका लागि कोही न कोही सपूत सन्तानको जन्म अपेक्षित छ । २००७ सालका त्यागी, तपस्वी र बलिदानी ती सपूत नेपाल माताका सन्तानको पुनर्जन्म नै किन नहोस् । देश र सम्पूर्ण जनताको सुख, शान्ति, समता र स्वतन्त्रताको यो अपेक्षा पूरा हुनैपर्छ ।
राज्यका तीन व्यवस्थामध्ये कार्यान्वयनमा आइसकेको प्रजातान्त्रिक राजनीतिक व्यवस्था समताको समाजवादी सिद्धान्तअनुरूप नै छ । आर्थिक र सामाजिक व्यवस्थामा स्थापित र विकसित समताको समाजवादी सिद्धान्त विपरीतका व्यवस्थाका कारण प्रजातान्त्रिक राजनीतिक व्यवस्था छायामा परेको छ । आर्थिक र सामाजिक व्यवस्था समताको समाजवादी सिद्धान्तअनुसार परिवर्तन र विकसित गर्न सक्षम व्यक्ति र शक्ति आवश्यक छ ।
आर्थिक व्यवस्थाका सम्बन्धमा बृहत् अनुसन्धान, खोज, छलफलले नतिजामा पुग्न आवश्यक छ । राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमा छलफल गर्नुपर्छ । जहाँसम्म सामाजिक व्यवस्था छ, प्रायः विश्वासको आधारमा आधारित र संस्कारका रूपमा विकसित छ । यो व्यवस्था बदल्न या परिवर्तन गर्न कुनै मानवीय र भौतिक कुनै पक्ष पनि बदल्न पर्दैन, कुनै हानि–नोक्सानी सहन पनि पर्दैन ।
सम्पूर्ण रूपले समताको विज्ञानद्वारा विकसित र आवश्यकता र चेतनाका तन्तुले एक–अर्कासँग जीवनको अनिवार्यताको बाध्यताले सम्बन्धित एउटा मानिसलाई व्यक्ति र समूहलाई समाज भनिन्छ । यद्यपि राज्य आर्थिक, राजनीतिक र सामाजिक तीन भागमा कार्य–विभाजनको व्यवस्थाले देश र समाजको काम गर्ने कुरा सिद्धान्ततः ठीक होला तर राज्यका चार अङ्गमध्ये काम गर्ने सक्रिय अङ्ग सरकार भनिन्छ । त्यसभन्दा ज्यादा सरकार सञ्चालन गर्ने जिम्मेवारीमा पुगेका व्यक्ति नै भएको व्यवहारमा देखिन्छ ।
यो सबै बनाउने चलाउने समाजका नै व्यक्ति हुन् । त्यसबाट हुने हानि, दुःख कष्ट, लाभ र सुख सुविधा भोग्ने पूरा समाज हो । अतः सरकारमा सक्षम, इमानदार, देश–समाजका हितप्रति प्रतिबद्व, दूरदृष्टि भएका व्यक्ति छान्न समाजले पनि ध्यान दिनुपर्छ ।
समाजवादी राज्य आर्थिक, राजनीतिक र सामाजिक व्यवस्थाविहीन राज्य होइन । समता विज्ञानको वैज्ञानिक समाजवादी सिद्धान्तमा आधारित व्यवस्था भएको राज्य हो । अतः समाजको वैज्ञानिक व्यवस्थामा परिवर्तन आवश्यक छ । हाम्रो समाजको स्वरूप विश्वासका आधारमा आधारित र विकसित छ । विश्वास विज्ञान होइन, अज्ञान हो ।