वि.सं. २०७८ को मङ्सिर र पुस नेपाली राजनीतिक दलहरूको आन्तरिक लोकतान्त्रिक अभ्यासका लागि निकै महìवपूर्ण रह्यो । यो दुई महिनामै नेपाली कांँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) र राष्ट्रिय प्रजातन्त्र पार्टीका महाधिवेशन सम्पन्न भए । महाधिवेशनबाट नेतृत्व निर्वाचनका साथै विधिसम्मत तवरबाट दललाई अगाडि बढाउने मार्ग प्रशस्त गरेका छन् । केहीबाहेक नेपालका प्रमुख राजनीतिक दलहरूले आआफ्ना महाधिवेशन सम्पन्न गरेर संवैधानिक दायित्व मात्र पूरा गरेनन्, आन्तरिक लोकतन्त्रको अभ्याससमेत सम्पन्न गरे । लोकतन्त्रका मूल प्रयोक्ता राजनीतिक दलहरू नै हुन् । यस अर्थमा दलहरूको आन्तरिक सुदृढीकरण बिना बहुदलीय व्यवस्थाको संस्थागत विकास सम्भव हुँदैन । त्यसैले भन्नैपर्छ, दलहरूको महाधिवेशन लोकतन्त्रको संस्थागत विकासकै उज्यालो आयाम हो ।
महाधिवेशन सम्पन्न गर्ने उपक्रमको पछिल्लो कार्यतालिका भने एक साताभन्दा बढी लगाएर नेकपा ( माओवादी केन्द्र)ले सोमबार विधिवत् रूपमा सम्पन्न गरेको छ । माओवादी केन्द्रको यो आठाँैं महाधिवेशन हो । यो महाधिवेशन विगतका तुलनामा बढी लोकतान्त्रिक अभ्यास गर्दै सम्पन्न हुनु आफैँमा ठूलो सफलता हो । माओवादी केन्द्रको विधानअनुसार महाधिवेशनले माओवादी केन्द्रको केन्द्रीय समितिका सदस्यहरू निर्वाचित ग-यो । पदाधिकारीमा आउने सबै केन्द्रीय समितिमा पर्नुपर्ने सो पार्टीको वैधानिक व्यवस्था रहेको छ । त्यसअनुसार पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय समितिमा विधिपूर्वक चयन भएर आउनु भयो । केन्द्रीय समितिको बैठकले सो पार्टीक नेता प्रचण्डलाई फेरि अर्को कार्यकालका लागि सोमबार अध्यक्षको जिम्मेवारी दिएको छ । माओवादी केन्द्रको सन्दर्भमा यसलाई निकै सकारात्मक तथा उपलब्धिमूलक मान्नुपर्छ । घटनाक्रमले पनि माओवादी केन्द्रको यो महाधिवेशनलाई ऐतिहासिक रूपमा सफल बनाएको छ । माओवादी केन्द्रले पुसमा महाधिवेशन होइन, राष्ट्रिय सम्मेलन गर्ने तय गरी त्यसैअनुसार तयारी अगाडि बढाएको थियो ।
राष्ट्रिय सम्मेलनको एक दिनअघि मात्र राष्ट्रिय सम्मेलनलाई महाविधेशनमा रूपान्तरण गरियो । महाविधेशनका सबै प्रक्रिया पूरा भएकोले सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरिएको हो । महाधिवेशन भएकै कारण केन्द्रीय समिति बन्यो र अध्यक्ष प्रचण्डलाई अर्को कार्यकालका लागि निरन्तरता दिइयो । संयोग नै मान्नुपर्दछ, नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का महाधिवेशनहरूले आफ्ना कार्यकारी प्रमुखहरूलाई पुनः नयाँ कार्यकालका लागि निरन्तरता दिएका छन् । यसले नेतृत्वको स्थायित्वको समेत सङ्केत गरेको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चित थोरै नेपाली नेताहरूमा पर्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले झण्डै तीन दशकदेखि नेतृत्व सम्हाल्दै आउनुभएको छ । कम्युनिस्ट अध्ययन केन्द्रबाट पाँच दशकअघि खारिँदै नेतृत्वमा अगाडि बढ्नु भएका प्रचण्ड वि.सं २०५२ देखि माओवादी सशस्त्र विद्रोहलाई नेतृत्व प्रदान गर्नुभएको इतिहास छ । प्रचण्डकै नेतृत्वमा जनयुद्ध, जनआन्दोलन, शान्ति सम्झौताका साथै संविधान सभा निर्वाचन, गणतन्त्र, संविधान निर्माणजस्ता मुलुकका लागि दूरगामी महìवका विषयमा सुरक्षित अवतरण सम्भव भएको इतिहास साक्षी छ । यस अर्थमा भन्नुपर्दा लामो राजनीतिक उतारचढावबाट गुज्रिएर नेपाली राजनीतिमा प्रचण्डले आफ्नो विशेष स्थान निर्माण गर्नुभएको छ ।
उमेरले सात दशक पुग्न थाल्नु भएका प्रचण्डमाथि फेरि माओवादी केन्द्रको नेतृत्वको जिम्मेवारी अवसर र चुनौती दुवै हो । स्वयं उहाँले पनि यो तथ्यलाई राम्रैसँग मनन गर्नुभएको देखिन्छ । देशमा मूलभूत रूपमा राजनीतिक व्यवस्थामा निकै ठूलो परिवर्तन आए पनि सामान्य जनताको जीवनयापनलगायतका आम सरोकारका विषयमा खासै परिवर्तन आउन नसकेको तीतो यथार्थ हाम्रोसामु छ । पार्टी सुदृढीकरण, माओवादीको मुख्य मुद्दाका रूपमा रहँदै आएको सामाजिक, आर्थिक रूपान्तरण अबको कार्यसूची हुनुपर्छ । देशका मूलभूत समस्या कुनै पार्टी र नेताले एक्लै गर्ने अवस्था छैन । मिलेर नै देशको भविष्य अगाडि बढाउनु पर्ने समयले दिएको अवसर हो । अरूसँग मिलेर काम गर्न सक्ने परीक्षामा प्रचण्डको सकारात्मक प्रभाव यताका दिनमा देखिँदै आएको छ । एक वर्षअघि अनाहक प्रतिनिधि सभा विघटनबाट सुरु भएको प्रतिगमन उन्मुख राजनीतिलाई सही दिशामा ल्याउन उहाँको भूमिकाको प्रधानमन्त्री शेरबहादुर देउवाले समेत सराहना गर्दै आउनुभएको छ । यस सन्दर्भमा राष्ट्रिय स्वार्थ र जनहित नै अगाडि बढ्ने सबैको मूल मार्ग भएको कुरा बिर्सन मिल्दैन ।