logo
२०८१ मंसिर १० सोमवार



महामारीविरुद्ध प्रतिबद्धता (सम्पादकीय)

विचार/दृष्टिकोण |




विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को पछिल्लो आँकडाअनुसार कोरोना (कोभिड–१९) सङ्क्रमणका कारण विश्वभर ५५ लाख मानिसले ज्यान गुमाइसकेका छन् । यो महामारीबाट ज्यान जोगाउन नौ अर्बभन्दा बढी कोभिडविरुद्धको खोप लगाइसकिएको छ । दुई वर्षअघि चीनमा पहिलो पटक देखिएको कोभिड सङ्क्रमणको सन्त्रासबाट तत्कालै मुक्ति पाउने सम्भावना देखिएको छैन । स्वरूप फेरिरहने कोभिड सङ्क्रमणको विस्तार बढ्दै जाँदा हाल ओमिक्रोन नामक कोभिडको नयाँ भेरियन्टका कारण संसारभर नै चिन्ता बढ्दै जानु स्वाभाविकै हो ।

पछिल्ला खबरबाट ओमिक्रोनको सङ्क्रमण विस्तार निकै आक्रामक गतिमा भइरहेको छ । विशेषगरी दक्षिण एसियाली क्षेत्रमा सङ्क्रमण बढ्दै जानु हामी सबैका लागि निकै चिन्ताजनक विषय भएको छ । नेपालमा नै पनि यसबाट दैनिक रूपमा सङ्क्रमित हुनेको सङ्ख्या तुलनात्मक रूपमा वृद्धि हुँदै गइरहेको तथ्याङ्कले देखाउन थालेको छ । छिमेकी भारतमा २४ घण्टामा नै एक लाखभन्दा बढी व्यक्तिमा ओमिक्रोन भेरियन्टको सङ्क्रमण फेला पर्न थालेको सार्वजनिक भएका छन् । यसैगरी हाम्रा अन्य छिमेकी सार्क मुलुकहरू बङ्गलादेश, पाकिस्तान, अफगानिस्तान, श्रीलङ्कामा सङ्क्रमण बढ्दै गएको छ ।

तथ्याङ्कलाई आधार मान्दा नेपालले पनि ओमिक्रोन सङ्क्रमणलाई कुनै पनि किसिमबाट सामान्य दृष्टिले लिइनु हुँदैन । भारतमा सङ्क्रमणमा वृद्धि हुने गतिसँगै त्यहाँ रहेका हजारौँ नेपालीको स्वदेश फर्किने क्रम सुरु हुनेछ । विषम परिस्थितिको सामना गर्न अहिलेदेखि पर्याप्त तयारी एवं सतर्कता यसबाट बच्ने पूर्वसर्त नै हो । यसै परिप्रेक्ष्यमा कोभिड–१९ निर्देशक समितिको शुक्रबार काठमाडौँमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरोकार सबैलाई ओमिक्रोन सङ्क्रमण नियन्त्रणका लागि दिनुभएको निर्देशनले सरकार यसको नियन्त्रणका लागि पूर्णतयारीसाथ गृहकार्य गरिरहेको स्पष्ट हुन्छ ।

सीमा क्षेत्रमा स्वास्थ्य परीक्षण केन्द्र स्थापना गरेर विदेशबाट फर्किने सबैको स्वास्थ्य परीक्षण गरेर मात्र गन्तव्यतर्फ जान दिइने तथा सङ्क्रमितलाई होल्डिड सेन्टरमा राखेर स्वस्थ भएपछि मात्र घर पठाउने प्रधानमन्त्रीको निर्देशन सङ्क्रमण नियन्त्रणका दिशामा सकारात्मक छ । यसैगरी कोभिडविरुद्धको खोप कार्यक्रमलाई पनि कुनै पनि हालतमा नरोक्ने र यसलाई मुख्य प्राथमिकतामा राख्नुका साथै ‘बुस्टर डोज’लाई व्यापक बनाउने सरकारप्रमुखको प्रतिबद्धता पनि ओमिक्रोन सङ्क्रमण नियन्त्रणका लागि महìवपूर्ण कदम प्रमाणित हुने विश्वास लिन सकिन्छ ।

कोभिड–१९ को नयाँ लहर चल्दा स्वस्थ्य पूर्वाधारमा ध्यान दिनैपर्ने हुन्छ । विगतका अप्रिय घटना दोहोरिन हुन्न । प्रधानमन्त्रीले अक्सिजन र शय्याको समयमै व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलगायत नेपाली सेना, नेपाल प्रहरीलगायतका निकायलाई बेलैमा सचेत गराउनु भएबाट सम्भावित सङ्क्रमणका उपयुक्त तवरले सामना गर्न सकिने पक्षमा आशावादी हुन सकिन्छ । कोभिड नियन्त्रणका सम्बन्धमा आवश्यक धेरै पूर्वाधार एवं पूर्वसर्त सहजीकरणका लागि प्रतिबद्धता व्यक्त भएसकेको सन्दर्भमा अब कार्यान्वयनले गति लिनुपर्छ । यो महामारीबाट मुलुक तथा मुलुकबासीलाई आश्वस्त पार्ने तवरले कार्य गर्नुपर्छ । उच्चपदस्थदेखि सम्बद्ध सबैले एकजुट भएर आआफ्नो जिम्मेवारी बोधसँगै काम नगरी यो महामारीबाट पार पाउन सकिने अवस्था छैन ।

यसैप्रसङ्गमा कतिपय कमजोरी बाहिर आएको तथ्य बिर्सन मिल्दैन । कोभिडविरुद्धको एक करोड दुई लाख डोज खोप मौज्दात हुँदाहुँदै पनि सिरिन्ज अभावका कारण खोप लगाउन सकिएको छैन । यो अवस्थालाई सरोकारवाला निकायको कमजोरी वा लापारबाही के को सङ्ज्ञा
दिने ? यति परिणामको डोजको खोपलाई यति सिरिन्ज आवश्यक हुन्छ र यति सङ्ख्यामा सिरिन्जको व्यवस्था गरिनुपर्दछ भन्ने विषयमा लापारबाही देखिनु उपयुक्त मान्न सकिएला र ? ओमिक्रोन सङ्क्रमण विस्तार नियन्त्रणमा माघको पहिलो हप्ताबाट अग्रपङ्क्तिमा रहेर काम गर्नेहरूलाई तथा दोस्रो हप्ताबाट ६० वर्षभन्दा माथिका वृद्ध तथा अशक्त बिरामीलाई बुस्टर खोप लगाउन सुरु गरिने जानकारी आएको छ । नेपाली सेनाले सातै प्रदेशमा नौवटा एक÷एक हजार होल्डिड सेन्टर निर्माणक्रमलाई सराहनीय मान्न सकिन्छ । सरकारप्रमुखका प्रतिबद्धता, निर्देशन एवं सरोकारवाला निकायका कार्यक्रम कार्यान्वयनले ओमिक्रोन सङ्क्रमण नियन्त्रणमा सकारात्मक भूमिका निर्वाह गर्नेमा आमजनता आश्वस्त छन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?