नारद पोखरेल
अभिनयले कहिलेकाहीँ सत्य नै हो भन्ने आभास दिन्छ । यथार्थमा त्यो सत्य हुँदैन । मनोरञ्जनका लागि गरिएको नाटक मात्र हुन्छ । पृथ्वीनारायण शाहको विषयमा पनि यहाँ त्यसरी नै अभिनय गरियो । के सत्य हो, के मिथ्या हो, नागरिकले चाल पाइसकेका छन् । यदाकदा केही द्वन्द्व उद्यमीलाई छोडेर हेर्ने हो भने अब शाहका बारेमा छरिएका भ्रमहरू नागरिक स्तरमा काम नलाग्ने गरी मक्किइसकेका छन् । नेपाल राष्ट्रलाई एक सूत्रमा राख्ने नायक शाह नै हुन् भन्नेमा कहीँ कतै द्विविधा देखिँदैन । एकीकरण अभियानका सफल प्रणेता पृथ्वीनारायणप्रति जनजनमा पहिलेभन्दा बढी नै श्रद्धाभाव देखिएको छ । त्यसैले पूर्वीय दर्शनले भनेको छ, असत्य क्षणिक हुन्छ, सत्य दीर्घजीवी हुन्छ ।
जुनसुकै देशमा राष्ट्र निर्माण गर्ने विभूतिलाई राज्यले उच्च सम्मान दिएको हुन्छ । युरोपियन मुलुकमा मात्र होइन, छिमेकी भारत र चीनमा समेत एकता दिवस उल्लासमय वातावरणमा मनाइन्छ । विगत डेढ दशकभन्दा बढी समयदेखि यहाँ त्यसो गरिँदैन । पृथ्वीनारायणको कुशल नेतृत्व र सफल कूटनीतिले गर्दा फ्रान्सको राज्यक्रान्तिअगावै नेपाल र नेपालीको पहिचान युरोपिय महाद्वीपसम्म फैलिएको थियो । विस्मार्कले जर्मनी एकीकरण गर्नुभन्दा एक सय वर्षपूर्व पृथ्वीनारायणबाट नेपाल एकीकरणको कार्य पूरा भएको थियो । यस्ता राष्ट्रका धरोहरलाई सम्मानपूर्वक सम्झनसमेत
छोडिएको छ ।
पृथ्वीनारायणको सानो मेहनतबाट नेपाल बनेको होइन । त्यतिबेलाको जटिल परिस्थितिको सामना गर्दै उहाँ युद्ध मैदानमा स्वयं उपस्थित हुनुहुन्थ्यो । एकातिर इस्ट इन्डिया कम्पनी सरकारको दबदबा थियो भने अर्कोतर्फ राष्ट्र निर्माण अभियान सफल पार्नैपर्छ भन्ने शाहको दृढता थियो । यस्तो परिस्थितिमा उहाँले त्यो महान् कार्य प्रारम्भ गर्नुभएको थियो ।
युद्धमा जित मात्र हुँदैन, हार पनि हुन्छ । नुवाकोट पराजयपछि यसरी नै सिक्ने क्रम चलिरहेको थियो । त्यसका लागि जनताको सल्लाह मुताबिक जोहो गरेको सम्पत्ति लिएर उहाँ भारत पुग्नुभयो । भारतबाट हतियार खरिद गरी फर्किंदा हतियार मर्मत र सैन्य तालिमका लागि मुसलमान कारिगर र युद्धविज्ञसमेतलाई लिएर आउनुभयो । उहाँको अभियान कमजोर बनाउन इसाई पादरीहरूले काठमाडाँैंमा जयप्रकाश मल्ललाई उक्साइरहेका थिए । अङ्ग्रेजको सहयोग नलिई गोर्खालीलाई परास्त गर्न सकिँदैन भन्ने जयप्रकाशको ठम्याइ थियो । त्यसैले शाहले पनि आफ्ना दूत भारतको
बेतिया पठाउनुभयो ।
त्यो घटनाले अङ्ग्रेजमा अत्यन्त उत्साह छायो । कोलकातास्थित हाइकमिसनले नेपालमा अङ्ग्रेजको प्रभाव जमाउने सही अवसर यही हो भन्ने ठान्यो । कोलकातास्थित हाइकमिसनले गोर्खालीलाई हराउन पूर्ण सहयोग गर्ने वचन दियो । त्यति मात्र नभएर गोर्खालीलाई धम्कीपूर्ण पत्रसमेत पठायो । शाहले त्यसको बेवास्ता गर्दै बरु युद्ध मैदानमा लडेरै परास्त गर्छु भन्ने सोच बनाउनुभयो । १७६७ अगस्टमा कप्तान किनलेकको नेतृत्वमा सेनाको ठूलो जत्था नेपाल जाने भयो । त्यो फौज दरभङ्गा हुँदै सिन्धुली पुग्यो । त्यहीँबाट आक्रमणको निधो ग-यो अङ्ग्रेजले ।
यता पृथ्वीनारायणले त्यसको भेउ पाइसक्नुभएको थियो । उहाँले पहिला वीरभद्र पछि श्रीहर्ष र वंशराज पाण्डेको नेतृत्वमा गोर्खाली पल्टनलाई खटाउनुभयो । त्यस युद्धमा गोर्खाली सेनाको सामुन्ने अङ्ग्रेज सेना टिक्न सकेनन् । सेनापति किनलेकका धेरै सेना मारिए । पृथ्वीनारायणको साहसिक एवं सुझबुझपूर्ण नेतृत्वका कारण त्यहाँ पनि विदेशी आक्रमण विफल भयो । यदि त्यो बेला अङ्ग्रेज सेना काठमाडौँ छिर्न सकेको भए आज नेपाल रहन्थ्यो ? त्यसरी देशलाई विदेशीको षड्यन्त्रपूर्ण आक्रमणबाट बचाई राष्ट्रको अस्तित्व अक्षुण्ण राख्ने महान् राजा पृथ्वीनारायणलाई अपमान गर्नु भनेको इतिहास नबुझ्नु हो तर जे नहुनु थियो, त्यही भइरहेको छ कस्तो विडम्बना ।
जसले देश बनाए, आफ्ना भाइ, छोराभन्दा भारद्वार र नागरिकको सल्लाह मुताविक प्रजातान्त्रिक आचरणले शासन चलाए । पृथ्वीनारायण नेपाल एकीकरणका महान् नायक मात्र होइन, एक सफल कूटनीतिज्ञ एवं कुशल प्रशासक पनि हुनुहुन्थ्यो । जुनसुकै युद्ध मोर्चामा शाहले युद्ध कौशलको अद्भुत परिचय देखाउनुभएको छ । कमभन्दा कम मानवीय क्षति होस् भन्नेमा उहाँ सजग देखिनुहुन्थ्यो ।
एकातिर देशभित्रकै षड्यन्त्रकारीबाट राजनीति जोगाउनु थियो भने अर्कातर्फ अङ्ग्रेज साम्राज्यको नेपाल निल्ने रणनीति विफल तुल्याउनु त्यतिबेलाको जिम्मेवारी थियो । यी दुवै देशका लागि घातक थिए तर दुवै षड्यन्त्रलाई विफल पारियो । सिन्धुली युद्धमा अङ्ग्रेजको नराम्रो पराजयपछि वर्षौंसम्म नेपालसामु इस्ट इन्डिया कम्पनी सरकारले टाउको उठाउन सकेन । अङ्ग्रेज सेनापति किनलेक भागेर कोलकाता पुगे । त्यसपछि अङ्ग्रेजले बल्ल आफ्नो नीतिमा परिवर्तन ग¥यो । युद्धमा भन्दा फकाएर काम लिन सकिन्छ भन्ने ठान्यो उसले । यता पृथ्वीनारायणले अङ्ग्रेजसँग मित्रता पनि नगर्ने शत्रुभाव पनि नराख्ने नीतिलाई व्यवहारमा उतार्नुभयो । यसले गर्दा अङ्ग्रेजको रणनीति यहाँ पनि सफल हुन सकेन ।
पृथ्वीनारायण परिवर्तनकारी एवं लोकतन्त्रवादी राजा हुनुहुन्थ्यो । उदाहरणका लागि कुनै निर्णय गर्नुपर्दा आफ्ना भाइभन्दा छोरा, भारद्वार तथा नागरिकको राय तथा सुझाव लिई निर्णय लिनुहुन्थ्यो भन्ने तथ्य ऐतिहासिक दस्तावेजले पुष्टि गरेको छ । कतिपयले राजालाई नश्लवादी तथा जातिवादी भनी मनोगत धारणा बनाई नागरिकमा भ्रमको पर्दा हाल्ने गर्छन् । यथार्थमा पृथ्वीनारायण मानवतावादी एवं राष्ट्रवादी चिन्तक हुनुहुन्थ्यो । स्वयं क्षेत्री भए पनि राजाले पूर्व र पश्चिमका खस तथा ब्राह्मणलाई दरबार पस्न नदिनू, उनीहरूको भरोसा छैन भनी राज्यलाई सतर्क गराएको पाइन्छ । जुनसुकै जात र भाषाप्रति त्यतिबेला समान दृष्टिकोण रहेको देखिन्छ । नागरिकका सल्लाह र सुझावबाट नै राष्ट्रको निर्णय हुने गथ्र्यो । त्यसैगरी काले सार्की, धार्ने कामी, मणिराम गाइने, बनादार दमाई, विशे नगर्ची आदिसँगको उनको प्रगाढ मित्रताले पनि उनी नश्लवादी नभएर मानवतावादी भएको
पुष्टि गर्छ ।
गोरखाका राजा नरभूपाल शाहका पहिलो सन्तानका रूपमा १७७९ पुस २७ मा पृथ्वीनारायणको जन्म भएको हो । उहाँकै नेतृत्वमा नेपाल निर्माणको बलियो जग तयार भयो । ३२ वर्षको अनवरत परिश्रमबाट विश्व मानचित्रमा नेपालको परिचय स्थापित गराउन उहाँ सफल हुनुभयो । १८०१ सालको नुवाकोट विजयपछि एकीकरण प्रक्रियाले निरन्तरता पायो । विजयपुरको जितपश्चात् नेपालको पूर्वी सिमाना सिक्किमसम्म पुग्न सफल भयो । त्यसैगरी पश्चिमी सिमाना बढाउन लाग्दालाग्दै उहाँको निधन भएकाले बाँकी सपना छोरा बहादुर शाहबाट पूरा भयो ।
पुर्खाको आदर्श पन्छाएर मुलुक बनाउँछु भन्ने भ्रम कसैले नपाल्दा हुन्छ । देश, काल र परिस्थिति बुझेर समय अनुकूल निर्णय लिन सक्ने व्यक्ति नै महान् बन्छन् । तिनै महापुरुषले बनाएको गौरवपूर्ण इतिहास आत्मसात् गर्न सक्दा राजनीतिले सही मार्गदर्शन गर्छ । त्यसकारण इतिहासले भविष्य निर्धारण गर्छ भनिएको हो । यहाँको राजनीतिक परिदृश्यमा इतिहासबाट सिक्नुको बाटो त्यसैलाई मेटाउने होडबाजी चलेको छ ।