आधुनिकतासँगै बढ्दो सवारी साधन सङ्ख्याका कारण अस्तव्यस्त सडक व्यवस्थापनमा सहजता, सडक सुरक्षा, समयको बचत, प्रविधि हस्तान्तरण आवश्यक हुन्छ । यस दृष्टिकोणबाट सडक सुरुङ मार्ग निर्माणको अवधारणालाई उपयुक्त माध्यमका रूपमा लिइन्छ । विश्वमा सडक सुरुङ मार्गको इतिहास झन्डै दुई शताब्दी पुरानो भए पनि नेपालका लागि सडक यातायातको यो उपयोगी माध्यमले आधिकारिक प्रवेश पाएको धेरै भएको छैन । सही रूपमा भन्नुपर्दा योजना नै निर्माण तथा प्रारम्भिक कार्यान्वयनको क्रममा छ । जापानी सहयोग नियोग (जाइका) अन्तर्गत निर्माणको क्रममा रहेको काठमाडौँको नागढुङ्गा र धादिङको नौबिसे सडक सुरुङ मार्ग सडक विभागको इतिहासमै बनेको पहिलो सुरुङ मार्ग हो ।
नेपालजस्ता भूपरिवेष्टित मुलुकहरूका लागि सुरुङ मार्ग निर्माण सतही सडक निर्माणको तुलनामा महँगो भए पनि सञ्चालन खर्च तथा जोखिमका दृष्टिकोण उपयोगी भएको विज्ञहरूको राय छ । नागढुङ्गा र धादिङको नौबिसे सडक सुरुङ मार्ग निर्माण सम्पन्न भइसकेपछि राजधानी प्रवेश गर्ने तथा बहिर्गमन हुने सवारी साधनको चाप एवं समयमा समेत निकै सुधार आउने विश्वास गरिएको छ । यससँगै प्रत्यक्ष एवं परोक्ष रूपमा सवारी साधनसँग आबद्ध इन्धन, सवारी मर्मतलगायत विविध पक्षको लेखाजोखामा अनुकूल प्रभाव पर्ने निश्चित छ । अबको केही समयभित्रै नै नेपालको पहिलो नागढुङ्गा र धादिङको नौबिसे सडक सुरुङ मार्ग सञ्चालन आउने लगभग निश्चित भइसकेको परिप्रेक्ष्यमा यसै योजनाको निर्माणमा उत्साही भएकै सङ्केत स्वरूप नेपालमा अन्य थप पाँच स्थानमा समेत सडक सुरुङ मार्ग निर्माणका लागि सरकारले प्रक्रिया थालेको समाचार पनि सार्वजनिक भएको छ ।
जापानी प्रविधिअन्तर्गत निर्माण सम्पन्न हुँदै गरेको नागढुङ्गा र धादिङको नौबिसे सडक सुरुङ मार्गको महìवपूर्ण पक्षका रूपमा जापानी सुरुङ मार्ग प्रविधिको ज्ञान, सीप हस्तान्तरणलाई पनि लिन सकिन्छ । फलतः यसै सडक सुरुङ मार्ग अनुभवको आधारमा नेपालमा थप सडक सुरुङ मार्ग निर्माण अपेक्षित रूपमा सहज रहेको विश्वाससहित मुलुकका अन्य स्थानमा सुरुङ मार्ग निर्माणका लागि उत्साह एवं प्रेरणा प्राप्त भएको तथ्य वास्तविक हो ।
तत्कालीन योजनाअनुरूप मुलुकका चार गण्डकी, कर्णाली, लुम्बिनी, तथा बागमती प्रदेशमा थप योजना अगाडि बढेका छन् । बागलुङ–बिहुँ–नरेठाँटी, फुस्रेखोला– छोरेपाटन (पोखरी) स्याङ्जा – गुडीखोला, जाजरकोट–जुम्ला, जोरटे (पाल्पा) तथा भक्तपुरको ताथली–सिन्धुपाल्चोकको रविओपी सडकमा सुरुङ मार्ग निर्माणको सम्भावना अध्ययनका लागि परामर्शदाता छनोटका लागि राष्ट्रिय कम्पनीहरूसँग आशयपत्र मागिनुले सरकार यी सडक सुरुङ मार्ग निर्माणमा गम्भीरता साथ लागेको प्रतीत हुन्छ । यी पाँच अध्ययनका लागि मात्र साढे दुई करोड रुपियाँ लागत लाग्ने छ । तीन महिनाभित्र कम्पनी छनोट तथा यसपछि चार महिनाभित्र सम्भाव्यता अध्ययन गरेर सडक विभागमा प्रतिवेदन बुझाइने समयसीमा निर्धारण गरिएबाट यसमा कुनै ढिलाइ नहुने अपेक्षा गर्न सकिने आधार तय भएका छन् ।
पचास प्रतिशतभन्दा बढी जनसङ्ख्या पहाड तथा हिमाली क्षेत्रमा बसोवास गर्ने नेपालमा सडक यातायातका लागि सडक सुरुङ मार्ग निकै उपयुक्त विकल्प रहेको विज्ञहरूको भनाइ छ । विज्ञहरूको भनाइलाई आधार मान्दा सुरुङ मार्ग निर्माणको बलियो, भरपर्दो एवं किफायती प्रविधि भिœयाएर यसलाई मुलुकभरि नै विस्तार गर्नु श्रेयष्कर देखिन्छ । यससँगै अब निर्माण गरिने योजनामा राखिएका पाँच सडक सुरुङ मार्गको निर्माण यथाशक्य समयमा सम्पन्न गर्न सके नेपाली सडक यातायात व्यवस्थामा नै सकारात्मक सन्देश प्रवाह हुनेमा विश्वस्त हुन सकिन्छ ।
हुन पनि सडक भनेको विकास पूर्वाधारको मूलभूत आधार हो । सुरुङ मार्गले समयको बचत गर्छ भने सडक दुर्घटनालाई पनि न्यूनीकरण गर्ने छ । सडकको चापलाई कम गर्नुका साथै पर्यावरणीय रूपमा पनि डाँडापाखामा धेरै भत्काउनु पर्दैन । समय र इन्धनको बचत आर्थिक विकासका मूल आधार हो तर के पनि बिर्सनु हुँदैन भने नेपाली भूधरातल कलिला पहाडमा आधारित छन् । नेपाल भूकम्पको दृष्टिकोणबाट पनि उच्च जोखिमै पर्छ । सुरुङ मार्गका अध्ययन, डिजाइन र कार्यान्वयन गर्दा यी पक्षलाई समेत ध्यान दिनु वाञ्छनीय छ ।