logo
२०८१ मंसिर १० सोमवार



कोरोनाविरुद्ध व्यवस्थापन(सम्पादकीय)

विचार/दृष्टिकोण |




कोरोना (कोभिड–१९) कोे बढ्दो सङ्क्रमणसँगै कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयन गर्दै सरकारले मुलुकभरका सम्पूर्ण आधारभूत तथा माध्यमिक विद्यालय आउँदो माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । विगत केही दिनयताको तथ्याङ्क विश्लेषण गर्दा विश्वका साथै नेपालमा पनि कोरोना तथा ओमिक्रोन भेरियन्टको सङ्क्रमण निकै आक्रामक ढङ्गबाट बढिरहेको स्पष्ट रूपमा देखिन्छ । एक हप्ताअघिसम्म नेपालमा दैनिक एक सयको हारहारीमा कोरोना सङ्क्रमित देखापरिरहेको स्थितिमा केही दिन यतादेखि यो सङ्ख्या बढ्दै गएर दैनिक सङ्क्रमितको सङ्ख्या दुई हजार चार सयसम्म पुगिसकेको आँकडा छ । स्थिति यहीँ रहेमा केही दिनमा यो सङ्ख्या निकै आकाशिने स्पष्ट छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सबैभन्दा पछिल्लो आँकडाअनुसार नेपालमा दुई करोड ५२ लाखभन्दा बढी कोरोनाविरुद्धको खोप प्रयोगमा आइसकेको छ । यसो भए पनि जनसङ्ख्याको ठूलो भाग अझै खोपबाट टाढै रहेको यथार्थ कसैबाट लुकेको छैन । विशेषगरी विद्यालयमा अध्ययनरत १२ वर्षमुनिका साना बालबालिकालाई कोरोनाविरुद्धको खोप नेपालमा प्रयोगमा नआइसकेको तथ्यबाट कोही पनि अनभिज्ञ छैनन् । यसैगरी १२ देखि १८ वर्ष उमेर समूहका सम्पूर्ण विद्यार्थीलाई समेत यो खोप लगाउने कार्य सुरु मात्र भएको छ । ती उमेर समूहका किशोरकिशोरीहरूलाई पूर्ण रूपमा खोप सम्पन्न नभइसकेको यथार्थबीच कोरोना सङ्क्रमणको जोखिममा रहेका यो समूहका विद्यार्थीलाई तत्कालका लागि विद्यालय बन्द नीतिलाई उपलब्ध सहज एवं सरल उपायका रूपमा लिन सकिन्छ ।

सीसीएमसीसीको सिफारिसका आधारमा विद्यालयहरू बन्द गरिएपछि पनि विद्यार्थीको पठनपाठनमा विद्यालयहरूले ध्यान दिनु जरुरी छ । त्यसका लागि विद्यालयहरूले विगतका बन्दाबन्दीमा जस्तै अनलाइनलगायतको वैकल्पिक शिक्षण विधिको अवलम्बन गरेर सिकाइ कार्यक्रमलाई सुचारु राख्नु उपयुक्त हुने देखिन्छ । यसबाट जोखिममा रहेका विद्यार्थीमा कोरोनाबाट सुरक्षा एवं पठनपाठनमा समेत कम व्यवधान पर्ने अवस्था सिर्जना हुनसक्छ । यो वर्ष असारदेखि शैक्षिक सत्र सुरु भएको र चैत अन्तिममा शैक्षिक सत्र सम्पन्न गर्नुपर्ने भएकोले पनि विद्यार्थीहरू पठनपाठनमा बढी ध्यान दिनु विद्यालयहरूको मूल दायित्व हुन आउँछ । विद्यालय बन्दको यही अवधिमा सरकारद्वारा १२ देखि १७ वर्ष उमेर समूहसम्मका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भइरहेकोमा यी विद्यार्थीलाई खोपको सुनिश्चितता गर्नु विद्यालय तथा अभिभावकको पनि मुख्य जिम्मेवारी हो । खोपले निश्चय पनि सङ्क्रमणको जोखिम न्यूनीकरण गर्नेछ ।

विद्यालय बन्द गर्ने निर्णय गरिए पनि कतिपय कलेज हिउँदे बिदाका कारण पठनपाठन बन्द नै छ भने कतिपयमा पठनपाठन चलिरहेको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार तय गरिएका क्याम्पसस्तरीय परीक्षाहरू सञ्चालन भइरहेका छन् । क्याम्पसका अधिकांश विद्यार्थीले खोप लगाइसकेका कारण तुलनात्मक रूपमा कोरोना सङ्क्रमणको कमै हुने अनुमान गर्न सकिन्छ । यसैगरी कोरोना सङ्क्रमणको भावी अवस्थाले क्याम्पसका पठनपाठनको माध्यमको दिशानिर्देश गर्नेछ । वैकल्पिक माध्यमहरूलाई उपयोग गर्न उच्च शिक्षामा तुलनात्मक रूपमा उचित हुने भए पनि त्रिभुवन विश्वविद्यालय मातहतकै कलेजहरूको वैकल्पिक शैक्षिक अभ्यासमा कमजोर देखिएको बताइँदै आएको छ ।

कोरोना सङ्क्रमणले आक्रामक गति लिँदै गरेको वर्तमान अवस्थामा विगतमा जस्तै पूर्णरूपमा देशव्यापी बन्दाबन्दीको असर थेग्न मुलुकलाई गाह्रो हुने विगतका अनुभवले देखाएको छ । यस सम्बन्धमा सरकारले स्थानीय स्तरमा कोभिड–१९ को जोखिमको अवस्था विश्लेषण गरेर वडाभित्रको निश्चित क्षेत्रमा मात्र पनि ‘स्मार्ट लकडाउन’ गर्न सक्ने स्थानीय प्रशासनलाई दिनुलाई समसापेक्ष तथा सकारात्मक ढङ्गबाट लिइनुपर्दछ । लकडाउनबाट समग्र क्षेत्रमा हुने प्रभावलाई कम गर्न यसबाट सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ । कोरोना सङ्क्रमणको अहिलेको जटिल स्थितिबाट मुक्ति पाउने आधारका रूपमा व्यक्तिगत सरसफाइ, भीडभाड नियन्त्रण तथा सचेतना कार्यक्रम नै मुख्य हुन् । यसका साथै बुस्टर डोज लगाउनुका साथै मौज्दात खोपको अधिकतम प्रयोग गरेर कोरोनाविरुद्धको खोप कार्यक्रमलाई सशक्तता साथ अगाडि बढाउन अहिलेका लागि मुख्य कार्यसूची हो । यी कार्यमा सबैको सहकार्यले अति नै महìवपूर्ण भूमिका खेल्ने परिप्रेक्ष्यमा सरकारद्वारा कोरोना नियन्त्रणका लागि गरिने सबै कार्यमा आमजनताको सहयोग एवं सहकार्यले निकै प्रभावकारी एवं महìवपूर्ण भूमिका हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?