logo
२०८१ मंसिर १० सोमवार



गोही संरक्षणको दुःख (सम्पादकीय)

विचार/दृष्टिकोण |




नेपालमा चलेको उखान छ, ‘काम गर्ने कालु, मकै खाने भालु ।’ किसानले मरीमरी श्रम र पसिना बनाएर खेतबारी बनाउँछ । मल बीउको जोहो गर्छ । मकै खेती लगाउँछ । मकै पाकेपछि भने किसानले घर ल्याउन नपाउँदै, अझ मकैको सुत्लो छिप्पिन नपाउँदै भालुले सखाप बनाउँछ । भालु रुङ्न किसानलाई हैरान हुन्छ ।

त्यही परिघटना नभए पनि झन्डै त्यस्तै भएछ चितवनमा । त्यहाँस्थित चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको कसराको घडियाल प्रजनन केन्द्रले घडियाल गोही प्रजनन तथा बढी बढाउमा राम्रो गर्दै गएको छ । चार दशकयता प्रजनन केन्द्रको काम नै गोही हुर्काउने र तिनलाई नेपालका विभिन्न नदीमा छाड्ने हो तर दुःखले हुर्काएर छाडिएको गोही भारतका विभिन्न नदीमा भेटिन थालेका छन् । नेपालका गोही नेपालमै रोक्न कठिन भएछ । संरक्षणमा चुनौती थपिएछ ।

घटना विवरण पनि अनौठो तरिकाले विकसित हुँदोरहेछ । अहिले मात्र होइन, पहिल्यैदेखि । नेपालमा रेडियो कलर जडान गरेको घडियाल गोही ३२ वर्षअघि विसं २०४६ मा भारतको पटनामा भेटियो थियो रे । वास्तविकता नबुझी त्यसलाई अमेरिकाले भारतमा जासुसी गर्न गोही प्रयोग गरेको भनेर हल्ला नै फैलिएछ । भएछ के भने निकुञ्जअन्तर्गतको प्रजनन केन्द्रले नदीमा छाड्ने गोहीको अनुगमनका लागि रेडियो कलर जडान गर्ने रहेछ । यो स्वाभाविक पनि हो तर पटनामा पुग्दा त रेडियो संयन्त्र जडान गरेको गोहीले जाजुसको उपाधि पाएछ ।

पुरानै घटना भए पनि सम्झने पात्र अझै छन् । घटना सम्झँदै चितवन राष्ट्रिय निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत रामप्रित यादवको भनाइ रोचक नै छ । उहाँ भन्नुहुन्छ– “अनुगमन गर्न कसरास्थित घडियाल प्रजनन केन्द्रले रेडियो कलर जडान गरेर राप्ती नदीमा छाडेको गोही भारतको पटना पुगेको थियो तर त्यहाँ त अमेरिकी जासुस भनेर अनावश्यक चर्चा पो भएछ ।” नेपाली संरक्षणविद्हरूले दुःख गरेर हुर्काएको घडियालको मर्म कसले बुझ्ने ?

नेपालका नदीहरूमा निरन्तर छाडिएका घडियाल गोही भारतका नदीमा भेटिने क्रम रोकिएको छैन । रेडियो कलर जडान गरेका गोही २०७५ जेठ ४ गते भारतकै पश्चिम बङ्गालको हुग्ली नदीमा र साउन ५ गते महानन्दी नदीमा भेटियो । प्रजनन केन्द्रले छाडेका ६१ दिनमा हुग्लीमा पहिलो र १२० दिनमा महानन्दीमा दोस्रो घडियाल भेटिएको तथ्याङ्क छ । त्यसो त विश्वमै दुर्लभ मानिएको घडियाल नेपाल र भारतमा मात्रै पाइने सरिसृप हो । नारायणी र राप्तीबाहेक बबई, कोसी र कर्णालीमा पनि यो गोही भेटिन्छ ।

विश्वमै दुर्लभ भएका कारण नेपालमा पहिलो पटक चितवन राष्ट्रिय निकुञ्जले सन् १९७८ मा घडियाल प्रजनन केन्द्र स्थापना गरेर गोही प्रजनन थालियो । सन् १९८१ देखि तनदीहरूमा छाड्न थालियो । यसरी हुर्काइएका मध्ये एक हजार ५९७ गोही नेपालका नदीहरूमा छाडिएका बताइन्छ । सबैभन्दा बढी चितवनको राप्ती नदीमा ९५२ गोही छाडिएका छन् । पछिल्लो पटक यस नदीमा गत मङ्सिर १९ गते १२ वटा घडियाल छाडिएका छन् ।

यसै गरी नारायणीमा ३९९, काली गण्डकीमा ३५, सप्तकोसीमा ९५, कर्णालीमा ४१ र बबईमा ११० वटा गोही छोडिएका छन् । पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही छन् । यो दुई वर्षअघि अर्थात् सन् २०२० को गणनाको तथ्याङ्क हो । यद्यपि अहिले राप्ती र नारायणीमा गरी २४० देखि २५० घडियाल रहेको विज्ञहरूको दाबी छ । नेपाली नदी हुँदै कति गोही भारत पुगे भन्ने यकिन छैन । ठूलै सङ्ख्यामा गोही भारत पुगेको अनुमान मात्र छ ।

अब नेपाली संरक्षणविद्हरूले संस्थागत रूपमै केही प्रक्रिया अवलम्बन गर्नु जरुरी छ । भारत गएका गोही भारतले ठाउँ ठाउँमा भनाएका ब्यारेजका कारण फर्केर आउन कठिन रहेछ । त्यसका लागि सीमा क्षेत्रमा रहेका नदीका ब्यारेजहरूमा सहजै जलचर ओहोरदोहोर गर्नसक्ने ‘फिस ल्याजर’ को व्यवस्था जरुरी रहेछ । त्यसो गरेर भए पनि बगेर गएका घडियाललाई फर्कन सक्ने वातावरण मिलाउन जरुरी देखिएको कतिपय जानकारको सुझाव छ । भारतको सरोकार निकायहरूसँग दुर्लभ घडियालको मिलेरै संरक्षण गर्ने प्रस्ताव राख्ने र प्रजननमा समेत लागत साझेदारी गर्नु पनि जरुरी देखिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?