logo
२०८१ मंसिर १० सोमवार



प्रभावकारी स्वास्थ्य मापदण्ड (सम्पादकीय)

विचार/दृष्टिकोण |




विश्वभर फैलिएको कोरोना (कोभिड– १९) को यो सातामा नेपालमा अति उच्च प्रसार हुन थालेको छ । चिकित्सकहरूको भनाइ मान्ने हो भने कोरोनाको अमिक्रोन भेरियन्ट अति तीव्र गतिमा फैलिने प्रकृतिको हुन्छ । त्यसैले होला नेपालमा दैनिक ११ हजार हाराहारीसम्म कोरोना सङ्क्रमित देखिन थालिएको छ । सबैभन्दा आश्चर्यको विषय त पछिल्लो सङ्क्रमणबाट २१ देखि ३० वर्षसम्मका उमेर समूहका युवा सबैभन्दा बढी सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा २१ देखि ३० वर्ष उमेर समूहका मङ्गलबार एकै दिन तीन हजार ६४ जनामा कोरोना पुष्टि भएको छ । यसैगरी दोस्रोमा ३१ देखि ४० वर्षकालाई पनि कम सङ्क्रमित छैनन् । मङ्गलबार मात्र ३१ देखि ४० वर्षसम्मका दुई हजार ३०८ जना भए । यसले के देखाउँछ भने युवा वयका मानिसहरू पछिल्लो समय बढी सङ्क्रमित भइरहेका छन् ।

तीव्र गतिमा कोरोना सङ्क्रमण बढ्न थालेपछि समाजको चौतर्फी आयाम प्रभावित भएको छ । अस्पतालहरूमा बिरामीको भीड बढ्न थालेको छ । अस्पतालमा बिरामीका लागि श-याको अभाव देखिन थालेको छ । सरकारी तथा निजी क्षेत्रका कामकारबाहीहरू प्रभावित हुन थालेका छन् । सरकारले विद्यालय तथा विश्वविद्यालयका तहका नियमित पठनपाठन रोकेर केही हदसम्म सङ्क्रमण न्यून भएको छ तर कोरोनाविरुद्धको खोप अहिले पनि सहज नहुँदा सर्वसाधारण मर्कामा परिरहेका छन् । खोपका लागि अस्पताल तथा खोप केन्द्रमा असाध्यै लामो लाम देखिन थालेको छ । खोप केन्द्रहरू व्यवस्थित नहुँदा त्यहीबाट कोेरोना सङ्क्रमण बढ्दै जाने खतरा छ । कोरोनाविरुद्धको खोपविना सार्वजनिक स्थलमा उपस्थित हुन तथा सार्वजनिक सेवा लिन नसक्ने सरकारीको नियम आफैँमा स्वागतयोग्य छ तर खोप सहज र सुलभ अझै नभइसकेको अवस्थामा खोप केन्द्रहरू सर्वसाधारणको पहुँचमा पु-याउनु अति आवश्यक छ ।


कोरोनाको पहिल्लो लहरबाट देशभर नै प्रभाव पर्न थालेको छ । उपत्यकाका काठमाडाँै, भक्तपुर, ललितपुर सबैभन्दा बढी प्रभावित छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका कारण यी जिल्ला बढी प्रभावित भएका हुन् भने चितवन, काभ्रेपलाञ्चोक र मकवानपुरमा कोरोना सङ्क्रमण बढ्दै गएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित उपचार गराइरहेका जिल्लामा प्रदेश १ मा मोरङ, सुनसरी र झापा रहेका छन् । यसैगरी दुई सयभन्दा बढी उपचार गराइरहेका जिल्लामा मधेस प्रदेशमा धनुषा र पर्सा, गण्डकीमा नवलपरासी पूर्व, लुम्बिनीमा बाँके र दाङ, सुदूरपश्चिममा कञ्चनपुर रहेका छन् । यसरी हेर्दा कोरोना सङ्क्रमणको वेग देशभर पुगेको छ । एक साता अघिसम्म दैनिक तीन चार सयको हाराहारीमा सङ्क्रमित रहेकोमा अहिले दैनिक ११ हजारसम्म पुग्नु तीव्र फैलावट नै हो ।

पछिल्लो समय ओमिक्रोन सङ्क्रमणलाई कम नआक्न विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आह्वान गरेको छ । युरोप र अमेरिकामा यताका एक महिनामा नराम्ररी प्रभावित भएको छ । दक्षिण अफ्रिकामा देखिएको यो नयाँ भेरियन्टको अति तीव्र प्रसारका कारण छिमेकी भारतसमेत तीव्र रूपमा प्रभावित छ । बन्दाबन्दीदेखि सेवा कटौतीलगायतका रणनीति अख्तियार गरी बाह्य मुलुक कोरोनाको पछिल्लो भेरियन्टविरुद्ध लडिरहेको तथ्य नेपालले समेत गम्भीर रूपमा मनन गर्नुपर्छ ।

जनस्वास्थ्य विज्ञहरूले अप्रत्याससित रूपमा बढ्न थालेको कोरोनाको सङ्क्रमण गम्भीर रूपमा लिन आग्रह गरेका छन् । जनस्वास्थ्य विज्ञ डा.बाबुराम मरासिनीले कोरोना सङ्क्रमितको सङ्ख्या हेर्दा अप्रत्यासित रूपमा बढेकोले लक्षण देखिना साथ परीक्षण गर्न आग्रह गर्नुभएको छ तर अझै पनि सर्वसाधारणको पहुँचमा पीसीआर सहज छैन । पीसीआरलाई सहज बनाउनु सरोकार निकायको अहिलेको मूल कर्तव्य हो । जनस्वास्थ्यविद् डा. शेरबहादुर पुन पनि अहिले स्थिति डरलाग्दो भइसकेकोले सरकार र सर्वसाधारण सबैले सचेत हुनुपर्ने बताउनुहुन्छ । मास्क लगाउने, भीडभाडबाट अलग रही भौतिक दूरी कायम गर्ने, पटक पटक हात धुने, सेनिटाइजरको प्रयोग गर्नेलगायतका न्यूनतम स्वास्थ्य मापदण्डले पनि कोरोनाबाट टाढा रहन ठूलो मद्दत गर्छ । अति सङ्क्रमणका प्रसार हुँदै गएको अवस्थामा अति कडा बन्दाबन्दी समेत अलवम्बन गर्नुपर्ने हुनसक्छ । त्यसले अर्थतन्त्र तथा जीविकामा प्रतिकूल प्रभाव पर्न सक्ने हुँदा स्वास्थ्य मापदण्डको प्रभावकारी परिपालना नै कोरोनाविरुद्धको पहिलो बलियो हतियार हो । यसैमा सबै पक्ष गम्भीर हुनैपर्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?