केन्द्रीय तथ्याङ्क विभागले जनगणनाको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० पुगेको छ । वार्षिक जनसङ्ख्या वृद्धिदर भने ०.९३ प्रतिशत छ । २०६८ को जनगणनाअनुसार कुल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार थियो । अघिल्लो जनगणनाअनुसार, वार्षिक जनसङ्ख्या वृद्धिदर १.३५ प्रतिशत थियो । पछिल्लो वृद्धिदर ८० वर्षयताकै न्यून भएको तथ्याङ्क विभागले प्रक्षेपण गरेको छ । पछिल्लो एक दशकमा २७ लाख जनसङ्ख्या बढेको छ । यो न्यून वृद्धिदर हो । सङ्ख्यात्मक रूपमा पुरुषको भन्दा महिलाको जनसङ्ख्या बढी छ । जसअनुसार महिलाको सङ्ख्या एक करोड ४९ लाख एक हजार एक सय ६९ छ भने पुरुषको सङ्ख्या एक करोड ४२ लाख ९१ हजार तीन सय ११ छ । पुरुषभन्दा महिलाको सङ्ख्या छ लाख नौ हजार ८५८ बढी देखिएको छ ।
प्रजनन दर घट्नु र बसाइँसराइ जनसङ्ख्या वृद्धिदर घट्नुको मुख्य कारण मानिएको छ । धेरै सन्तान जन्माएर दुःख बेहोर्नुभन्दा थोरै सन्तान जन्माएर उचित पालनपोषण र शिक्षादीक्षालाई प्राथमिकता दिन थालियो । मुलुकको सहरी क्षेत्रमा मात्रै नभएर ग्रामीण क्षेत्रमा पनि दुईभन्दा बढी सन्तान नजन्माउनेको प्रवृत्ति देखापरेको छ । ग्रामीण भेगबाट सहरमा बसाइँ सर्नेको सङ्ख्या बढेसँगै त्यहाँको आर्थिक जनजीवन महँगो हुने भएकाले पनि मान्छेले धेरै सन्तान जन्माउन चाहँदैनन् । विदेशमा बसाइँसराइ पनि जनसङ्ख्या वृद्धिदर घट्नुको मूलकारण हो । पुरुष मात्र नभई महिला विदेशिने क्रम पनि बढ्दो छ । विदेश पलायन हुने र उतै बस्ने संस्कृति मौलाउँदो छ । श्रम गर्न मात्र नभई उच्च शिक्षा लिन विदेश जानेको सङ्ख्या बढ्दो छ । शिक्षा तथा स्वास्थ्यको आवश्यक सुविधा र जनचेतनामा आएका परिवर्तन तथा बढ्दो सहरीकरण पनि जनसङ्ख्या वृद्धिदर घट्नुको कारण हो ।
बालबालिका हुर्काउन पर्याप्त समय र आवश्यक खर्च अभावले पनि ढिलो विवाह गर्ने, छिटो सन्तान नजन्माउने, एउटा सन्तान जन्मेपछि अर्को नजन्माउने बढ्दो क्रम र छोरा र छोरीबीचको लैङ्गिक विभेद हटाउने शिक्षित मानसिकताले पनि जनसङ्ख्या वृद्धिदर घटाउन मद्दत गरेको छ । जनसङ्ख्या वृद्धिदर घट्नुसँग शिक्षा, स्वास्थ्य र आर्थिक अवस्था पनि जोडिएको छ । यही जनचेतनाका कारण बाल मृत्युदर मात्र घटिरहेको छैन बच्चा जन्माउन प्रोत्साहित हुनेको दर पनि शून्य हुँदै गइरहेको छ । शिक्षाले मानिसलाई चेतनशील मात्र नभई उद्यमशील पनि बनाएकाले पारिवारिक वातावरणमा त्यसको प्रभाव पर्नु स्वाभाविक हो । त्यसले एउटा मात्र सन्तान जन्माउने प्रवृत्ति बढ्दो छ ।
जनसङ्ख्याको यो तस्बिर दीर्घकालीन रूपमा मुलुकका लागि हितकर छैन । भूगोलको हिसाबमा मधेस र कर्णालीको जनसङ्ख्याको बढ्दो खाडल सकारात्मक सन्देश होइन । मधेसको जनसङ्ख्या वृद्धिदर झन्डै २०.९९ प्रतिशत र भूगोलमा ठूलो मानिने कर्णालीको ५.८१ हुनुलाई सुखद मान्न सकिन्न । यसको कारण पत्ता लगाई सन्तुलन मिलाउन नीति निर्माताको ध्यान जान जरुरी छ ।
जनसङ्ख्या बढ्नु र घट्नुमा राज्यको नीतिले पनि प्रभाव पार्छ । जनसङ्ख्या वृद्धिदर घट्नु मुलुकको आर्थिक, सामाजिक र शैक्षिक विकासमा राज्यले गरेको प्रयास सकारात्मक भएको सन्देश पनि हो । स्वास्थ्य, शिक्षा, सडक विस्तार र विद्युत्मा धेरै जनसङ्ख्याको पहँुच छ । के यसलाई मात्र पर्याप्त मान्ने कि हाम्रो सांस्कृतिक पहिचान, एक जात र अर्को जातिबीचको आपसी सामाजिक सद्भाव र विश्वास, विद्यमान धार्मिक सहिष्णुता पनि जोगाउने ? युवालाई रोजगारको व्यवस्था मात्र गर्न सक्ने हो भने पनि पलायन संस्कृति रोकिनेछ । पहाडी भेगबाट बढ्दो बसाइँसराइ नियन्त्रण गर्न मध्यपहाडी लोकमार्गमा अधिकांश क्षेत्रलाई सहरीकरण गर्न आवश्यक छ ।
सहरी क्षेत्रमा औद्योगिकीकरण, कृषि पेसाको सम्मान, सांस्कृतिक सहनसहन र सामाजिक परम्पराको मात्र विकास गर्न सक्ने हो भने गाउँको विकासमा टेवा पुग्नुका साथै र बढ्दो पलाउन हुने क्रम पनि रोकिनेछ । तत्काल हेर्दा जनसङ्ख्या वृद्धिदर घटेको देखिए पनि दीर्घकालीन रूपमा यसले मुलुकलाई ठूलो नोक्सान पु¥याउनेतर्फ राज्यका नीति निर्माता र सरोकारवाला निकायको ध्यान जान आवश्यक छ ।