भनिन्छ, सञ्चारबिना मानव संसार सम्भव छैन । सञ्चार नै मानिस–मानिसलाई जोड्ने कडी हो । सञ्चारले नै मानव संस्कृति निर्माण गर्छ । सभ्यताको विकास गर्छ । जङ्गली फिरन्ते जीवनमा रहेका मानिसलाई कृषिले स्थायी बसोबासका लागि जोड्यो । त्यसको फलस्वरूप गुफामा बस्दा प्रयोग भएका सङ्केत चिह्न भाषामा रूपान्तरण हुँदै गए । भाषा नै सञ्चारको माध्यम भयो । कृषियुगदेखि नै परम्परागत सञ्चारका माध्यम विकास हुँदै गए । सञ्चार विधामा तिनलाई परम्परागत सञ्चारका रूपमा लिइँदै आएको छ । नेपालको ग्रामीण बस्तीमा युगौँदेखि परम्परागत सञ्चार प्रयोग हुँदै आएको पाइन्छ । झ्याली पिट्ने, शङ्ख फुक्ने, कटवाल कराउनेजस्ता परम्परागत सञ्चारले लामो समय समाजलाई जोड्दै आयो । अझै पनि यो माध्यमको प्रभावकारिता कायमै छ, जसले आधुनिक समाजलाई समेत जोड्दै रहेको देखिएको छ ।
नेपालको गाउँबस्तीमा कटवाल कराउने प्रथा लामो समयदेखि समाज र राजकीय प्रथासँग जोडिएको थियो । त्यो प्रथालाई अहिले स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका–१, राजास्वाराकी रूपा कटुवालले विशिष्ट रूपमा जोड्दै आउनुभएको पाइएको छ । उहाँ अहिले ८० वर्ष पुग्नुभयो र कटवाल बनेर समाजलाई जोडिरहनुभएको छ । मानिसको हातहातमा मोबाइल छन् तर रूपाले अग्लो ठाउँमा गएर कराउँदै सूचना गरेपछि मात्र मानिस सामाजिक काम गर्न निश्चित स्थानमा भेला हुन्छन् । उहाँका ससुरा कटवाल हुनुहुन्थ्यो । ससुराको शेषपछि पतिले कटवालको भूमिका निर्वाह गर्दै आउनुभएको थियो । पतिको निधनपछि रूपाले यो भूमिका प्रभावकारी रूपमा सम्पादन गर्दै आउनुभएको छ । महिला भएर पनि उहाँ विशेष हुनुहुन्छ । उहाँको भूमिकाबाट स्थानीय समाज खुसी छ र उहाँलाई घरैपिच्छेबाट मकै, धान, कोदो आदि पारिश्रमिकका रूपमा दिने गरिएको जानकारीमा आएको छ ।
नेपालको इतिहासमा बाइसे–चौबिसे राज्यताकादेखि नै गाउँबस्तीमा कटवाल लगाउने सञ्चार पद्धति कायम थियो । शासकीय पद्धतिमा फेरबदल हुँदै गए पनि कटवाल प्रथाले निरन्तरता पाउँदै गयो । आधुनिक सञ्चार पद्धतिको विकास हुँदै गएपछि भने धेरै गाउँबस्तीमा कटवाल लगाउने प्रथा हट्दै गएको थियो । राजकीय सूचनादेखि स्थानीय तहका सूचनासम्म गाउँबस्तीमा कटवालले सम्प्रेषण गर्ने पद्धति थियो, कतिपय स्थानमा बदलिँदै गयो । घरैपिच्छेबाट कटवाललाई एक पाथी अन्न दिने चलन पनि कतिपय ठाउँमा थियो । त्यसलाई कटवाले पाथीका रूपमा समेत चिनिन्थ्यो । कटवाल प्रथा कायम भएका स्थानमा उनीहरूको पीरमर्का र न्यून पारिश्रमिकलाई स्थानीय तह र जनप्रतिनिधिले मानवीय मूल्यका आधारमा विचार गर्नु वाञ्छनीय छ ।
सूचना र सञ्चार प्रविधिको विकास तथा विस्तारले व्यापकता पाए पनि पुराना कुरालाई चटक्कै बिर्सन मिल्दैन । आधुनिक सञ्चारमाध्यमले परम्परागत सञ्चारमाध्यमलाई विस्थापित गर्दै लगेका छन् । खासगरी सन् १९६८ मा अमेरिकी सेनाले आन्तरिक सञ्चार प्रयोजनका लागि आविस्कार गरेको इन्टरनेट शीतयुद्धको समाप्तिपछि विश्वकै निम्ति उपयोगी बन्यो । अमेरिकी सरकारले सन् १९९० पछि इन्टरनेट सञ्चारको व्यावसायिक विकासका लागि नियन्त्रणमुक्त गरेसँगै आधुनिक सञ्चारमाध्यमको विकासले तीव्रतर गति लियो । नयाँ माध्यमले अखबार, रेडियो र टेलिभिजनजस्ता सञ्चारमाध्यमलाई समेत परम्परागत सञ्चारमाध्यममा धकेलिदियो । इन्टरनेटमा आधारित सञ्चारमाध्यमले नयाँ माध्यमका रूपमा विशिष्ट चिनारी पायो । पत्रपत्रिका, रेडियो, टेलिभिजनजस्ता सञ्चारका सशक्त माध्यमले समेत ‘न्यून मिडिया’को शरण लिएर मात्र विश्वभर तत्काल पुग्न सक्ने अवस्था आयो ।
सन् १९६० कै दशकमा मार्शल मक्कुहानले भनेको विश्व नै एउटा गाउँ बन्ने सपना इन्टरनेटमा आधारित सञ्चारले साकार गरिदियो । विश्वव्यापी सञ्चार अर्थात् वल्र्डवाइड वेब (डब्लूडब्लूडब्लू)को विस्तार अहिले दुईवटा पुस्ता पार गर्दै तेस्रो पुस्तामा पुगेको छ । पहिलो पुस्ताले अक्षरको सङ्ग्रहलाई मात्र प्रसार गर्न सक्थ्यो र दोस्रो पुस्ताले अक्षरको समूहसँगै चित्र पनि प्रसार गर्न सक्यो । तेस्रो पुस्ता अब कृत्रिम बौद्धिकताको युगमा पुगेको छ । अग्लो स्थानमा पुगेर सञ्चार सम्प्रेषण गर्नुपर्ने स्थान अब कृत्रिम बौद्धिकताका रोबर्टहरूले आधुनिक सहरमा स्थान दिँदैछन् तर समाज जति अगाडि बढे पनि परम्परागत वस्तु र पद्धतिलाई समयानुकूल गर्दै लैजानु आवश्यक हुन्छ । अमेरिकी समाजले आधुनिक सञ्चारमा व्यापक रूपमा अगाडि बढे पनि हुलाक पद्धतिलाई प्रभावकारी रूपमा कायम राखेको छ । नेपालको बाँकी रहेको कटवाल प्रथालाई अग्लो स्थानमा कराउने नबनाई सञ्चारका साधन उपलब्ध गराउँदै त्यसलाई समयानुकूल गर्दा अझ राम्रो हुन सक्नेछ ।