हावाहुरी चल्न सुरु भइसकेको छ । यसै बेला आगजनीका घटना सबैभन्दा बढी हुने गर्छ । सहरी क्षेत्रमा सडक साँघुरा छन् । गल्ली बढी छन् । पछिल्लो समय आवासीय वा व्यावसायिक बहुतले भवन निर्माण गर्ने क्रम बढेको छ । दमकल उपलब्ध भए पनि साँघुरा सडक छेउका र बहुतले घरमा आगो निभाउन निकै समस्या हुने गरेको छ । काठमाडौँ महानगरपालिकाले २० तलासम्मका भवनमा लागेको आगो निभाउनसक्ने तीनवटा नयाँ दमकल खरिद गरेको र ती दमकल आगामी फागुन महिनाभित्र काठमाडौँमा ल्याइसक्ने समाचार सार्वजनिक भएको छ । महानगरपालिकासँग हाल भएका दमकलले बढीमा आठ तलासम्म आगो निभाउनसक्ने क्षमता राख्छन् । नयाँ दमकलको प्रयोगपछि भवन अग्लो भएका कारण आगो निभाउन नसक्ने अवस्था पक्कै पनि सिर्जना हुने छैन । विदेशमा २० तलासम्मका भवनमा आगो निभाउन सक्ने दमकल भित्रिनु नयाँ समाचार हुँदैन तर नेपालका लागि नयाँ कुरा नै हो । यसबाट नयाँ प्रविधिको प्रयोगमा हामी कति पछाडि छौँ भन्ने पनि प्रष्ट हुन्छ ।
तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर जबराको पालामा नेपालमा पहिलो पटक बारुणयन्त्र भित्र्याइयो । सुरुमा काठमाडौँमा स्थापना भएको जुद्ध बारुणयन्त्र पछि ललितपुर र भक्तपुरमा पनि विस्तार गरियो । मुलुक सङ्घीय संरचनामा गइसकेपछि जुद्ध बारुणयन्त्र कार्यालयलाई गृह मन्त्रालयअन्तर्गतको विपत् व्यवस्थापन महाशाखाबाट २०६८ सालमा स्थानीय सरकारको मातहतमा लगिएको हो । भक्तपुरको कार्यालयबाहेक देशका सबै दमकल सम्बन्धित पालिकाले नै व्यवस्थापन गर्दै आएका छन् । पानी ट्याङ्कीसमेत जोडिएका दमकल काठमाडौँमा दुईवटा, ललितपुर र भक्तपुरमा एक एकवटा सञ्चालनमा छन् भने उनीहरूसँग रहेका त्यस्ता अरू दमकल बिग्रिएर थन्किएका छन् । दमकलका पार्टपुर्जा नेपाली बजारमा नपाइने हुँदा बिग्रिएका दमकललाई मर्मत गर्न विदेशबाटै पार्टपुर्जा झिकाउनुपर्ने अवस्था छ । दमकल नयाँ भए पनि पार्टपुर्जा उपलब्ध हुन नसक्दा मर्मत हुन नपाएर थन्किएका छन् ।
विदेशी दातृ निकायले दिएका कतिपय दमकलमा भ-याङको मात्र व्यवस्था भएकाले आगलागी हुँदा पानी ओसार्ने ट्याङ्करलाई अगाडि लगाइ पछाडि भ-याङ मात्र भएको दमकललाई साथमा पठाउने र आगलागी भएका स्थानमा दमकलको भ¥याङ चढी पानी ट्याङ्करको पाइपको सहायताले आगो निभाउनुपर्ने अवस्था छ । विदेशमा सडक किनारमा धारा रहने र त्यहाँ पानी ट्याङ्की नभएका दमकलबाट तिनै धारामा पाइप जोडेर आगो निभाउने गरिएकाले भ-याङ मात्र भएका दमकल बनाइन्छन्, प्रयोगमा ल्याइन्छन् । त्यस्ता दमकल पनि नेपालमा त ल्याइए तर प्रयोगमा आउनै सकेका छैनन् । यसर्थ हामी परम्परागत विधि र तौरतरिकाबाट आगो निभाउने गरेका छौँ भन्ने यसै उदाहरणबाट थाहा हुन्छ ।
चालू अवस्थामा भएका दमकल तीन हजार लिटर पाटी अट्ने क्षमताका छन् । यो थोरै परिणाममा पानी अटाउने । पानी सकिएपछि तोकिएको ठाउँमा नै पानी लिन जानुपर्ने बाध्यता छ । काठमाडौँको दमकलले महाङ्कालबाट र ललितपुरको दमकलले भैँसेपाटीबाट पानी भर्ने गरेको छ भने भक्तपुरमा बारुणयन्त्र रहेको स्थान नजिकैबाट पानी भरिन्छ । गएको पुस २४ गते ललितपुरको सानेपा र गोदावरीका साथै काठमाडौँको कोटेश्वरमा थप सहायताका लागि जानुपर्दा ललितपुरको जुद्ध बारुणयन्त्रका प्राविधिकलाई निकै समस्या प-यो । ठूलो वा धेरै स्थानमा आगजनी हुँदा बारुणयन्त्र अभावले उपत्यकाका सबै दमकल एक अर्काे जिल्लामा गई सहयोग गर्ने गरेका छन् । गोदावरीमा आगो निभाउँदा पानी सकिएपछि पानी भर्न भैँसेपाटी जानुपर्ने बाध्यताले आगजनी स्थलमा क्षति नियन्त्रण सम्भव प्रभावकारी नहुनसक्छ । तसर्थ बाटो बाटोमा पानी उपलब्ध हुने गरी पाइपलाइनको व्यवस्थापन जरुरी देखिएको छ । त्यस्तै ‘फायरम्यान’ले प्रयोग गर्ने पोसाक निकै वर्ष पुराना छन् ।
नयाँ खरिद गर्दा महँगो पर्ने भनेर पुरानाले नै काम चलाइएको अवस्था छ । आगोसँग जुध्नुपर्ने पेसाकर्मीलाई पुराना पोसाकबाट काम चलाउनु भन्नु उपयुक्त हुँदैन । जुद्ध बारुणयन्त्रमा निकै लामो समयदेखि अस्थायी रूपमा जनशक्ति व्यवस्थापन गरिँदै आएको छ । सेवामा स्थायित्व नहुँदा काम गर्ने मनोबल, उत्साह, हौसला र जाँगर रहँदैन भने जनशक्ति छिटो छिटो विस्थापित हुँदा दमकल सेवा नै प्रभावित हुनसक्छ । तसर्थ यस्ता प्राविधिक जनशक्तिको स्थायित्व र प्रशिक्षणको आवश्यकता पर्दछ । आगोसँग पौठेजोरी गर्ने जनशक्तिको बीमा गरिनु सेवाको पहिलो सर्त बन्नुपर्छ । नयाँ दमकल आउने उत्साहसँगै यी कुरामा ध्यानु दिनु वाञ्छनीय छ ।