काठमाडौँको बौद्धबाट विद्युतीय माध्यम अर्थात् अनलाइन जुवा ‘बिङ्गो’ सञ्चालकसहित ७४ जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । रेस्टुरेन्टमा अनलाइन जुवा खेलिरहेका मध्ये ६६ जना पुरुष र आठजना महिला छन् । मोबाइलमा बिङ्गो एपबाट जुवा खेल भइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनीहरूबाट अनलाइन बिङ्गो खेल्न प्रयोग भएका मोबाइलसहित छ लाख १९ हजार २५० रुपियाँसमेत बरामद गरेको छ । अनलाइन एपमार्फत कम्तीमा पनि १० डलर वा सोभन्दा माथिको जुवाको कारोबार हुने गरेको तथ्यसमेत सार्वजनिक भएसँगै अपराधको नयाँ काइदा बाहिर आएको छ ।
माघ ११ गते ठमेलबाट भारतीय एक नागरिकसहित अनलाइन जुवा सञ्चालक दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूबाट एक लाख ५५ हजार नगद र बैङ्क भौचर तथा चेक बरामद भएको थियो । उनीहरूले अनलाइन बेटिङ र सट्टेबाजीसमेत गर्ने गरेका थिए । उनीहरूबीच जुवा कमिसन विवादपछि प्रहरीले सो घटना चाल पाएको थियो । कीर्तिपुरबाट माघ ६ गते अनलाइन जुवा सञ्चालन गरेको आरोपमा १२ जना पक्राउ परेका थिए । उनीहरू १७ वर्षदेखि ४५ वर्ष उमेर समूहका थिए । उनीहरूले कीर्तिपुरका फरक–फरक तीन ठाउँमा कोठा भाडा लिई कर्मचारीसमेत राखेर विदेशीलाई जुवा खेलाउने गरेका थिए । दस महिनाअघिदेखि अनलाइन जुवा सञ्चालन गरेका उनीहरूबाट दर्जनौँ थान मोबाइल र कम्प्युटर बरामदसमेत भएको थियो ।
फेसबुक आईडीमार्फत विदेशी नागरिकलाई साथी बनाई जुवा, फायर काइरिङ, रिभर स्विप्स, रिभर मन्स्टर, भेगास एक्सलगायतका अनलाइन जुवा खेल्न लिङ्क सेयर गर्ने गरेका थिए । त्यस खेलमा अमेरिकन डलर लोड गर्न लगाई गेम खेलाउने तथा जित्ने पक्षलाई तोकिएको धनराशिसमेत पुरस्कारको रूपमा दिने गरेको अनुसन्धानबाट खुल्न आएको छ । गएको असार १४ गते ठमेलबाट चिनियाँ नागरिकसहित पक्राउ परेका अभियुक्तबाट अनलाइन जुवा सञ्चालन हुने गरेको तथ्य जानकारीमा आएको हो । उनीहरूबाट प्रहरीले एक लाख २३ हजार नगद तथा जुवा सञ्चालन गर्ने विभिन्न उपकरणसमेत बरामद गरेको थियो । यसअघि गुल्मी, चितवन, नवलपरासी, धनगढी, नुवाकोटलगायतका जिल्लाबाट पनि ठूलो सङ्ख्यामा जुवाडे पक्राउ परेका थिए ।
यी घटनाक्रमले नेपालमा पछिल्लो समय अवैध रूपमा अनलाइन जुवाको कारोबार बढिरहेको देखिन्छ । प्रविधिको सहज पहुँच र प्रभावकारी नियमनमा अभावमा अनलाइन जुवाको कारोबार फस्टाउँदो छ । अझ यस कारोबारमा किशोर किशोरी, महिला र युवा पुस्ताको डरलाग्दो संलग्नता रहेको पाइन्छ । नेपालबाट हुने अनलाइन जुवामा विदेशीको समेत संलग्नताले विश्वभर फैलिएको यसको जालोलाई प्रस्ट पार्छ । राजधानी काठमाडौँमा मात्र नभई देशका विभिन्न सहर र गाउँगाउँमा अनलाइन जुवाका विविध रूप देखापरिरहेका छन् । जसले विदेशी मुद्राको अपचलन र गैरकानुनी रूपमा आर्थिक कारोबार हुने भच्र्युल खेल सञ्चालनले नेपाली मुद्रासमेत गुमिरहेको छ । जसले नेपालको अर्थतन्त्रमा समेत गम्भीर प्रभाव पार्न सक्ने देखिन्छ ।
कोरोना सङ्क्रमण फैलिएसँगै अनलाइन कारोबारको प्रयोग बढ्न पुग्यो । अनलाइन कारोबारले अवैध रूपमा हुने जुवाका खेलाडी र कारोबारीलाई समेत विद्युतीय कारोबारतिर आकर्षित गरेको अनुमान प्रहरीको छ । सरकारले कानुनी रूपमा नै जुवा घर सञ्चालनका लागि अनुमति दिएको छ । यद्यपि, त्यस्ता जुवाघरमा नेपालीलाई जान निषेध छ । जसका कारण धनाढ्य व्यापारी, उद्यमी, जुवाका लती र जग्गा कारोबारी राजधानी काठमाडौँलगायत देशका विभिन्न भागमा गैरकानुनी सञ्चालन गरिएका जुवाघरमा पुगिरहेका छन् । त्यस्ता स्थानमा प्रहरीले छापा मारेर जुवाडे पक्राउ गरे पनि पछिल्लो समय जुवा खालबाट ज्यादै थोरै मात्र रकम जफत हुने गरेको छ । यसको कारण हो, जुवाडेहरूले आर्थिक कारोबार विद्युतीय माध्यमबाट गरिरहेका छन् । प्रहरीले पनि यही शङ्कामा भुक्तानी सेवा प्रदायक ई–सेवा, खल्तीलगायत आधा दर्जन ब्याङ्कहरूमा भएका कारोबारलाई निगरानी गरिरहेको छ ।
अनलाइनबाट सञ्चालन हुने कतिपय ‘एप्स’ नेपालमा खुलेआम प्रयोग हुनु र कानुनी कारबाहीको पक्ष कमजोर हुँदा अनलाइन जुवा कारोबार अझ बढ्नसक्ने अनुमान प्रहरीको छ । अनलाइन जुवाको ‘ट्रयाकिङ’ गर्ने प्रविधिको अभाव र जुवा कारोबारीविरुद्ध कडा कानुन नभएका कारण यस्तो गतिविधि अझ बढ्नसक्ने अनुमान गर्न सकिन्छ । यसका लागि अवैध रूपमा सञ्चालन भइरहेको अनलाइन जुवा र अन्य गैरकानुनी आर्थिक कारोबार नियन्त्रणका लागि आर्थिक कारोबारको निगरानी, सबल प्राविधिक पक्ष र कानुनी आधार बलियो बनाउनु वाञ्छनीय छ ।