कोरोना (कोभिड–१९)को महामारी अझै पनि मानव जातिका लागि विश्वभर नै निकै ठूलो चुनौती बनिरहेको छ । चीनको वुहानबाट दुई वर्षअघि सुरु भएको यो महामारीले मानव समुदायलाई थप कति लामो समयसम्म त्रासदीपूर्ण जीवनयापन गर्न बाध्य पारिरहने हो भन्ने अझै यकिन छैन । हालसम्म विश्वले कोभिडको तीनवटा लहरको कष्टपूर्ण दर्द सामना गरिसकेको छ । त्यसक्रममा विश्वभरका ५७ लाखभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । कोभिडबाट सङ्क्रमित हुनेको सङ्ख्या अझ कैयौँ गुणा बढी रहेको पाइन्छ । विभिन्न रूप फेरेर मानव जातिलाई दुःख दिने यो कोरोना भाइरस निर्मूल गर्नका खातिर गरिएका प्रयासले ठोस रूपमा मूर्त रूप लिन अझै बाँकी नै रहेको देखिन्छ तर प्रयासहरू भने जारी नै छ । कोरोनाविरुद्धको खोप महाव्याधि सामना गर्ने दिशातर्फ सकारात्मक पाइला भए पनि यसबाट मात्रै कोभिडको निर्मूलीकरण हुने सम्भावना कमै रहेको छ । यसर्थ पूर्ण मात्राको खोप लगाइसके पनि बुष्टर खोप लगाउनुको यथार्थ पनि यही हो ।
परिस्थिति जे भए पनि कोरोना सङ्क्रमणसँग जुध्नका लागि स्वास्थ्य क्षेत्रको सबलता निकै महìवपूर्ण हुन्छ । यसै सन्दर्भमा नेपालका हकमा कोरोनाको तीनै लहरमा स्वास्थ्यकर्मी तथा यससँग सरोकार राख्ने व्यक्तिहरूले आफ्नो भूमिका निकै प्रभावकारी तवरले निर्वाह गरेको तथ्यमा कुनै शङ्का छैन । स्वास्थ्य सतर्कता तथा सुरक्षाका सीमित साधन स्रोत हुँदाहुँदै पनि नेपाली स्वास्थ्यकर्मीहरूले कोरोनाका लहरहरूमा सङ्क्रमितहरूलाई प्रदान गरेको सेवा, हेरचाह वास्तवमै प्रशंसनीय रहेको छ । आफ्नो स्वास्थ्यलाई समेत जोखिममा पारेर सङ्क्रमितलाई सेवा पु¥याउन दिनरात खट्ने चिकित्सक, नर्सका साथै अस्पताललगायतका स्वास्थ्य केन्द्रमा अन्य भौतिक पूर्वाधार बन्दोबस्ती अवस्थामा राख्ने सबै कर्मचारीको उच्च मूल्याङ्कन गर्नु राज्य तथा समाजको कर्तव्य हुन आउँछ । सङ्क्रमितहरूको सेवामा दिनको १२ घण्टाभन्दा बढी समय व्यस्त हुनुले स्वास्थ्यकर्मीको बिरामीप्रतिको सेवाभावलाई प्रतिविम्बित गर्दछ जुन अधिकांश नेपाली अस्पतालमा देखिएको थियो । आफूलाई सङ्क्रमणबाट जोगाएर सङ्क्रमितको उपचारमा संलग्न हुनु वास्तवमै जोखिमपूर्ण कार्य हो ।
मानवीय धर्मको उच्च अवस्था पनि हो । जागिर मात्र होइन । सेवा भावको उच्च संस्कार हो । यसका अतिरिक्त स्वास्थ्यकर्मीहरूका लागि घरपरिवारको हेरचाह तथा सङ्क्रमणमुक्त वातावरण बनाउनु पनि अर्को जिम्मेवारी थियो । यी सबै जिम्मेवारी पनि स्वास्थ्यकर्मीले पूरा गर्न सक्षम भएका थुप्रै अनुभवका उदाहरण सार्वजनिक भएका छन् । साथै सङ्क्रमितप्रतिको आफ्नो जिम्मेवारी तथा सेवा प्रदान गर्ने क्रममा कैयौँ स्वास्थ्यकर्मीले ज्यान गुमाउनु कुरालाई बिर्सन मिल्दैन । देशको स्वास्थ्य क्षेत्रले ती परोपकारीहरूको संस्मरण गर्नुपर्छ । उनीहरूको घरपरिवारको अवस्था के कस्तो छ भन्ने कुरालाई पनि ध्यानमा राख्नुपर्ने हुन्छ ।
स्वास्थ्यकर्मीका यस्ता अनुभव तथा चुनौतीले स्वास्थ्य सेवा कर्मलाई अझै विश्वासिलो एवं भरपर्दोका साथै जिम्मेवारीपूर्ण बनाएको तथ्यमा दुई मत छैन । विशेषतः सरकार तथा समाजले महाव्याधिमा निरन्तर सेवामा प्रतिबद्ध स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहन गर्न कुनै कदम बाँकी राख्न हुँदैन । यस्तो प्रोत्साहनले आगामी चुनौतीपूर्ण दिनका लागि थप तयारी अवस्थामा रहने वातावरण सिर्जना गर्दछ । दुःख परेका बेला राज्यले हेर्छ भन्ने अवस्था सिर्जना हुन्छ ।
स्वास्थ्यकर्मीको सेवाप्रतिको उत्साह एवं हौसला बढाउने कार्यमा सबैको सामूहिक प्रतिबद्धताको खाँचो पनि निकै छ । कोरोना त्रास अझै सिद्धिएको छैन र स्वास्थ्यकर्मी प्रतिबद्ध सेवाको कुनै विकल्प पनि देखिँदैन । साथै स्वास्थ्यकर्मीहरूले पनि आफ्नो सेवाको गम्भीरता एवं गहनता आत्मसात् गर्दै बिरामीको उपचारमा थप ऊर्जासहित सेवा पु-याउन सके समग्रमा स्वास्थ्य क्षेत्रका लागि समेत सकारात्मक प्रभाव पर्नेछ । महामारी अझै पनि कायमै रहेको अवस्थामा स्वास्थ्य मापदण्डलाई प्रभावकारी रूपमा परिपालना गराउनु आवश्यक छ । निरन्तर खटिरहने स्वास्थ्य क्षेत्रका ती ऊर्जाशील चिकित्सक, नर्स, भौतिक पूर्वाधारमा तथा सरफाइमा लाग्ने जनशक्तिको सामूहिक प्रयासले मात्र महामारी परास्त हुने छैन । प्रभावकारी स्वास्थ्य मापदण्ड लागू गर्दा नै भाइरस विस्तारले विश्राम पाउने छ । विस्तार हुन नसकेपछि भाइरस आफैँ समाप्त भएर जानेछ । माक्स लगाउने, भौतिक दूरी कायम गर्ने, भीड नगर्ने, काम नपरी घरबाहिर नजाने र जानै परे स्वास्थ्यका मापदण्ड अपनाउँदा नै सबैलाई फाइदा हुन्छ । अस्पताललाई चाप पर्दैन । महामारीविरुद्ध सामूहिक ऊर्जा उच्च हुन्छ ।