डा. निर्मलमणि अधिकारी
सिद्धान्तहरूको सङ्ख्या धेरै भएपछि अध्ययन सहजताका लागि तिनीहरूको समूहकरण वा वर्गीकरण आवश्यक पर्छ । अन्य विधामाझैँ सञ्चार विधामा पनि सिद्धान्तहरूको उत्तरोत्तर वृद्धि भइरहेको हुनाले समूहकरण आवश्यक परेको हो । यसको एउटा तरिकामा सञ्चारविद्हरूले सञ्चार सिद्धान्तलाई चार विभिन्न दृष्टिकोणका आधारमा वर्गीकरण गरेको पाइन्छ । यसमा सञ्चारलाई प्रेषण वा प्रवहन (ट्रान्समिसन) मान्ने दृष्टिकोण पहिलो हो भने सञ्चारलाई नैयमिक वा सहभागितात्मक क्रियाकलाप (रिचुअल) मान्ने दृष्टिकोण दोस्रो हो । साथै सञ्चारलाई प्रचार (पब्लिसिटी) मान्ने दृष्टिकोण तेस्रो हो भने सञ्चारलाई सूचना–प्राप्ति एवं बोध–प्रधान प्रक्रिया (रिसेप्सन) मान्ने दृष्टिकोण चौथो हो।
मूलतः अमेरिकी सन्दर्भमा भएका सञ्चार चिन्तनबाट निरूपित उक्त चार दृष्टिकोणले सञ्चारको परिभाषा एवं व्याख्या आफ्ना आफ्नै मान्यता वा दृष्टिबिन्दुका आधारमा गर्छन् । सञ्चारलाई प्रेषण वा प्रवहन मान्ने दृष्टिकोणअनुसार, सञ्चार भनेको स्रोत वा प्रेषकले चाहेअनुसार सूचनाको सम्प्रेषण वा प्रवहन वा स्थानान्तरण हुने प्रक्रिया हो । यस्तो सम्प्रेषण वा प्रवहन वा हस्तान्तरण एक स्थानबाट अर्को स्थानमा वा एक समयबाट अर्को समयमा वा दिक् (स्थान) र काल (समय) दुइटैको दूरी पार गर्ने गरी पनि हुन सक्छ ।
एउटा मेसिनबाट अर्को मेसिनमा सूचना पठाउन सकिएझैँ एक मस्तिष्कबाट अर्को मस्तिष्कमा सूचनालाई जस्ताको जस्तै प्रवाहित गर्न, सार्न वा बोध गराउन सकिन्छ भन्ने पूर्व–मान्यता यो दृष्टिकोणमा रहेको हुन्छ । यस दृष्टिकोणमा सिद्धान्ततः सम्प्रेषण वा प्रवहनका लागि बनेको सञ्चार संरचनालाई प्राथमिकता दिइएको हुने भए तापनि व्यवहारतः चाहिँ प्रेषकको भूमिका सर्वशक्तिमान मानिएको हुन्छ र उसले मनोवाञ्छित तरिकाले प्रापकमाथि निर्णायक प्रभाव पार्न सक्छ भन्ने ठानिन्छ । पाश्चात्य परिप्रेक्ष्यमा यो दृष्टिकोणले कुनै निश्चित ‘हामी’ समूहले ‘अरू’ वा ‘पराइ’ समूहलाई सञ्चारमार्फत कसरी शक्ति अभ्यास गर्दछ भन्ने देखाउँछ । क्रियाकलापको तहमा त शक्तिशाली प्रेषकले आफ्नो मत, विचारधारा, जीवनपद्धति एवं विश्व दृष्टिकोणलाई जसरी पनि प्रापकमाथि थोपर्ने हदसम्म यो दृष्टिकोण छ ।
संसारका विभिन्न भूभागमा आस्था परिवर्तन (धर्मान्तरण पनि भनिने) का लागि अपनाएको सञ्चार रणनीतिलाई सञ्चारलाई सम्प्रेषण वा प्रवहन मान्ने दृष्टिकोणको एक मुख्य उदाहरण मानिन्छ । त्यस्तै उपनिवेशकालीन विजेताहरूले विजित क्षेत्रमा अपनाएका सञ्चार रणनीति पनि यस्तै उदाहरण हो । विगतमा बडाहाकिम, मुखिया, जिम्मावाल र अरू कोही अधिकारवालाले कटुवाल कराउन लगाउने वा झ्याली पिटाएर सूचना फैलाउनेजस्ता क्रियाकलाप पनि सञ्चारलाई सम्प्रेषण वा प्रवहन मान्ने दृष्टिकोणकै व्यावहारिक उदाहरण हुन् । सञ्चारलाई सम्प्रेषण वा प्रवहन मान्ने दृष्टिकोणलाई अचेल यान्त्रिक सञ्चारका केही अपवाद अवस्थामा बाहेक प्रायः आलोचना गरिन्छ । यो दृष्टिकोणले प्रेषकको वर्चस्वलाई पक्षपोषण गर्छ र प्रापकलाई निशाना (तारो) जस्तो मात्र ठान्छ भन्ने आलोचकहरूको विश्लेषण देखिन्छ ।
यो दृष्टिकोण कार्यान्वयनमा रहँदा समाजमा शक्तिशाली वर्गले अन्यलाई अधीनमा ल्याउने अवस्था रहने तथा कतिपय अवस्थामा त बहिष्करण तथा उत्पीडन हुने शक्ति संरचनालाई यो दृष्टिकोणले मद्दत पु¥याउने भनेर कतिपय अध्येताले कठोर निन्दा गरेका पनि छन् ।सञ्चारलाई नैयमिक वा सहभागितात्मक क्रियाकलाप मान्ने दृष्टिकोणअनुसार, सञ्चार सहभागिता वा साझेदारीको प्रक्रिया हो र यसमा प्रेषक र प्रापक दुवै उत्तिकै महìवपूर्ण मानिन्छन् । समाज वा समुदायका संस्कृति, संस्कार, रीतिथिति– सम्बद्ध सञ्चार क्रियाकलापको अध्ययन गर्न यो दृष्टिकोण उपयोगी छ ।
पश्चिमा समाजमा हुने सञ्चार व्यवहारको सञ्चारविद् जेम्स केरीद्वारा भएको सिद्धान्तीकरणमार्फत यो दृष्टिकोण प्राज्ञिक बहसमा प्रस्तुत भएको हो । सञ्चारलाई सम्प्रेषण वा प्रवहन मान्ने दृष्टिकोणले ‘हामी’ समूहले ‘अरू’ वा ‘पराइ’ समूहसँग गर्ने सञ्चारको स्वरूप पेस गरेको थियो भने सञ्चारलाई सहभागिता मान्ने दृष्टिकोणले ‘हामी’ समूहभित्रै सञ्चारलाई साझेदारी, साझा पहिचान, एकजुटता, सामूहिकता आदि प्रदर्शन गर्ने सञ्चार प्रवृत्तिलाई प्रतिनिधित्व गर्छ । जस्तै अमेरिकामा आइतबार कुनै चर्चमा उपस्थित भएका मानिसहरूका बिचमा हुने सञ्चारको उद्देश्य आफूहरू समान सम्प्रदायका अनुयायी भएको सामूहिक अभिव्यक्ति र साझापनको प्रदर्शन हो । नेपालमा जात्रा, मेला, पर्व आदिमा हुने समान आस्थावान्हरूको सहभागिता पनि यो दृष्टिकोणको कार्यान्वयनको उदाहरण मान्न सकिन्छ ।
यस्तो सञ्चार परिदृश्यमा सञ्चार प्रक्रिया वा कुनै परिघटनामा व्यक्तिहरूको सहभागिता नै मुख्य उद्देश्य हुन्छ र सूचना वा सन्देशको सम्प्रेषण र बोधको पाटो गौण हुन्छ । यो दृष्टिकोण समान सञ्चार परिवेश रहेका अवस्थामा प्रभावकारी मानिन्छ र यसले समाजको यथास्थिति कायम राख्ने मान्यतालाई प्रवद्र्धन गर्छ । त्यसैले परिवर्तनकारी समूहले यो दृष्टिकोणलाई मन पराउँदैनन् । यो दृष्टिकोणको सीमा वा आलोच्य पाटो के हो भन्ने बारे चर्चा गर्दा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा अन्य आयाममा पनि विविधता भएको समाजमा यो दृष्टिकोण केवल काल्पनिक आदर्श मात्र ठहरिने र यसको व्यवहार्यता सम्भव नहुने सञ्चारविद्हरूको विश्लेषण देखिन्छ । बहुलता तथा विविधता धेरै भएका समाजमा चाहिँ सञ्चारको साधारणीकरण ढाँचा उपयुक्त हुन्छ ।
सञ्चारलाई सहभागिता वा रीतिथिति– सम्बद्ध क्रियाकलाप मान्ने दृष्टिकोणले समाजमा साझापन स्वतः छँदैछ भन्ने मानेर त्यो साझापनमा सहभागिता वा साझेदारीलाई मात्र जोड दिन्छ भने सञ्चारको साधारणीकरण ढाँचाले समाजमा बहुलता वा कतिपय अवस्थामा वैभिन्यसमेत रहेको यथार्थलाई पनि दृष्टिगत गर्दै तिनलाई जोड्ने सूत्रका रूपमा सहृदयतालाई प्रस्तुत गर्छ । सञ्चारलाई प्रचार मान्ने दृष्टिकोणअनुसार, सञ्चार सूचना सामग्री (जस्तै ः विज्ञापन) द्वारा अरूको मन–मस्तिष्कलाई आकर्षण गर्ने र प्रभाव पार्ने प्रक्रिया हो । यसमा सूचना सामग्रीको रोचकता एवं आकर्षकलाई प्राथमिक मानिएको हुन्छ । युरोप–अमेरिकामा भएका औद्योगिकीकरण, बजार अर्थतन्त्रको विकास र उपभोक्तावादको प्रवद्र्धनसँगै मिडियाले विज्ञापनमा खेलेको भूमिका तथा सम्भाव्य प्रभावको परिप्रेक्ष्यमा यो दृष्टिकोण अगाडि आएको हो ।
सञ्चारका लक्षित जनसमुदाय वास्तवमा सम्भाव्य उपभोक्ता हुन् र प्रभावकारी विज्ञापन–सन्देशको सञ्चारबाट तिनीहरूको मनस्थिति, जीवनशैली र उपभोग–प्रवृत्तिमा परिवर्तन ल्याउन सकिन्छ भन्ने मान्यता यसमा रहेको छ । कपाल नभएका व्यक्तिलाई समेत काइँयो किनाउन सक्ने हदसम्मको अभिप्रेरणा विज्ञापन–सन्देशबाट हुन सक्छ भन्ने गरिन्छ । नेपालमा पनि बजार अर्थतन्त्र र उपभोगमुखी जीवनशैलीको विस्तारसँगै सञ्चारलाई प्रचार मान्ने दृष्टिकोणको सान्दर्भिकता बढेको दाबी गरिएको देखिन्छ । वस्तुका उत्पादक, वितरक एवं व्यवसायीका हितलाई मात्रै महìव दिने र प्रापकलाई सुसूचित गर्ने कार्यलाई वास्तै नराखी जसरी पनि उपभोक्ता बनाउने उद्देश्य राख्ने सोच भएको भनी यो दृष्टिकोणलाई आलोचना गरिएको देखिन्छ ।
सञ्चारलाई सूचना–प्राप्ति (ग्रहणता) एवं बोध–प्रधान प्रक्रिया मान्ने दृष्टिकोणले प्रापकको दृष्टिबन्दिुबाट सञ्चारको विश्लेषण गर्ने मान्यता लिएको छ । यस दृष्टिकोणअनुसार, सूचनाको प्राप्ति एवं बोध नै सञ्चार प्रक्रियाको केन्द्रीय कुरा हो । यसमा अर्थापनका निम्ति प्रापक नै प्राथमिक हुन्छन् र प्रापकमाथि प्रेषकले मनोवाञ्छित प्रभाव पर्न सक्दैन भन्ने मानिएको हुन्छ । प्रेषकद्वारा अभिव्यक्त दृश्य वा श्रव्य वा श्रव्य–दृश्य सामग्रीलाई उसले जुन अर्थ बुझाउनका लागि सम्प्रेषण गरेको हो, प्रापकले त्योभन्दा फरक अर्थमा बुझ्न सक्छ ।
एउटै माध्यमबाट एकै पटक प्रकाशित वा प्रसारित सूचनालाई अलग अलग प्रापकहरूले आफ्ना आफ्नै अर्थापनअनुसार बोध गर्छन् । पाश्चात्य प्राज्ञिक जगत्मा भाषा विज्ञान, भाषाको दर्शन, सङ्केतन शास्त्र, वाक्कला, साहित्यिक समीक्षा तथा समालोचना आदि क्षेत्रमा गरिएका आधुनिक अनुसन्धान, चिन्तन एवं विश्लेषणले पाठक, श्रोता, दर्शक (समष्टिमा प्रापक) को भूमिकालाई सञ्चारका लागि प्राथमिक रहेको मान्यतालाई मूलप्रवाहमा ल्याएसँगै सञ्चारलाई बोध मान्ने दृष्टिकोण अगाडि आएको हो । यो दृष्टिकोणको मूलप्रवाहीकरणसँगै पाश्चात्य प्राज्ञिक जगत्ले प्राच्य परम्परागत दृष्टिकोणको निकटतामा आफूलाई उभ्याएको देखिन्छ ।
सञ्चार मानव–मानव बीचमा पनि हुन सक्छ, मानव र अन्य प्राणीबीचमा पनि हुन सक्छ, मानव र मेसिनबीचमा पनि हुन सक्छ र मेसिन–मेसिनबीचमा पनि हुन सक्छ । हामीले कम्प्युटरलाई दिएको निर्देशन बाइनरी प्रणालीमा त्यसले बुझेर हाम्रो निर्देशनअनुसार काम गर्छ । यो मानव र मेसिनबीचमा हुने सञ्चारको उदाहरण हो । एउटा कम्प्युटर र अर्को कम्प्युटरबीच हुने तथ्याङ्क साझेदारी (डाटा सेयरिङ) मेसिन–मेसिनबीचमा हुने सञ्चारको उदाहरण हो । मानवबाहेकका अन्य प्राणीहरूबीच पनि सञ्चार हुन सक्छ र भइरहेको हुन्छ । बोटविरुवाबीचमा पनि सञ्चार हुन्छ भन्ने तथ्य वैज्ञानिकहरूले पत्ता लगाएकै छन् । वास्तवमा सञ्चार बृहत् अवधारणा हो भने त्यसभित्रको एक अङ्ग मानव सञ्चार हो । मानव सञ्चार घटित हुने अनेक तरिका, विधि, पद्धति, परिवेश, परिघटना आदिको सिद्धान्तीकरण अनेक दृष्टिकोणबाट गर्न सकिने यथार्थलाई यी चार दृष्टिकोणले देखाएका छन् ।