logo
२०८१ मंसिर ९ आईतवार



आविष्कार केन्द्रको प्रयास (सम्पादकीय)

विचार/दृष्टिकोण |




नवीन अन्वेषणबिना कुनै पनि समाजको आर्थिक तथा सामाजिक विकास सम्भव छैन । आधुनिक विज्ञान प्रविधि तथा नवीन प्रयोगसँग कुनै पनि देशको आर्थिक विकास गाँसिएको हुन्छ । विज्ञान प्रविधिको वर्तमान युगमा मानव जीवनका दैनिक जीवनयापनलगायतका वस्तुको वैज्ञानिक आविष्कार एवं नवीन प्रयोगले हरेक क्षेत्रमा सहजता तथा सरलतापूर्ण बनाइदिएको यथार्थ हामीसामु छ । विकसित देशले विज्ञान र प्रविधिको बढी प्रयोगसँगै अगाडि बढेको पाइन्छ । नेपाल आर्थिक तथा सामाजिक विकासमा पछाडि पर्नुको कारण पनि समयमै विज्ञान तथा प्रविधि क्षेत्रमा ध्यान दिन नसक्नु पनि एउटा कारण हो ।

नेपालमा एउटा भनाइ छ, यहाँ सियो पनि बन्न सक्दैन । यसको अर्थ वैज्ञानिक आविष्कार एवं नवीन प्रविधि अँगाल्ने दिशामा हामी निकै पछि परेको कटु वास्तविकताको चित्रण हो । वास्तविकता पनि यही हो । बिहान उठेदेखि नसुतुन्जेलसम्म हामीले प्रयोग गर्ने हरेक चीजवस्तु विदेशी वैज्ञानिक तथा औद्योगिक आविष्कार तथा उत्पादनकै उपज हुन् । ती वस्तुले हाम्रा आवश्यकता टारेको छ । जीवनयापनलाई सहज एवं सरलीकृत बनाइदिएको छ ।
सम्भवतः हाम्रो शिक्षा प्रणाली वा हाम्रो सामाजिक व्यवस्थाको दोष छ । नवीनतम वैज्ञानिक प्रणाली वा आविष्कारबारे सोच्ने, सम्झिने, घोत्लिने संस्कार नै बसेन हाम्रो ।

इतिहासमा गेहेन्द्रशमशेर राणाजस्ता केही विज्ञान प्रविधिका अभियन्ताको नाम नसुनिएका होइनन् तथापि त्यो फल फुल्ने मौका नै पाएनन् । आर्थिक लगानी, प्रोत्साहन तथा यस्तै विषम वातावरणका फलस्वरूप नेपालमा वैज्ञानिक आविष्कार एकादेशको कथा बन्न पुगेकोमा शायदै कसैको दुई मत होला । यसैको परिणाम अहिले हामी वैज्ञानिक प्रविधिको जगत्मा विश्वमा नै सबैभन्दा पिछडिएका मुलुकहरूको श्रेणीमा अग्रपङ्क्तिमा पर्दछौँ । एक्काइसौँ शताब्दीमा मुलुकमा नवीन वैज्ञानिक प्रविधि तथा आविष्कारका दिशामा केही गर्ने प्रयासस्वरूप तीन वर्षअघि राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरिएको थियो । यसमा विज्ञान प्रविधि अभियन्ता डा. महावीर पुनको सक्रियता र नेतृत्वमा यो शुभ कार्य अगाडि बढेको छ । सीमित साधन स्रोतका बीच स्थापना गरिएको यो केन्द्र स्वदेश तथा विदेशमा बसोवास गरिरहेका नेपाली तथा विदेशीको सहयोगबाट सञ्चालनमा आइरहेको छ । यसैबाट नेपालको वैज्ञानिक आविष्कारको क्षेत्रमा केही योगदान पुगिरहेको अनुभूत हुँदैछ ।

आविष्कार केन्द्र स्थापनाको अवधि लामो छैन । यस अवधिमा सङ्कलन भएको १५ करोड रुपियाँको धनराशि वैज्ञानिक आविष्कारका लागि कुनै उल्लेखनीय धनराशि होइन तथापि यस अवधिमा केन्द्रले दुई दर्जन औजार तथा उपकरण आविष्कार वा परीक्षणको अन्तिम चरणमा गर्न सक्षम हुनु उपलब्धिको विषय मान्नु पर्दछ । नेपाली युवा पुस्ताका लागि स्वदेशमै बसेर केही गर्न सकिन्छ भन्ने नमुना पनि हो । ठूला वा अत्याधुनिक वैज्ञानिक आविष्कारको दाँजोमा नेपाली समाजका लागि आवश्यक तथा दैनिक प्रयोगमा आउने स्वास्थ्य, कृषि तथा बजारका लागि आवश्यक उपकरणमा अध्ययन अनुसन्धान अगाडि बढाउनु पनि सराहनीय कुरो हो ।

यसबाट सामान्य उपकरण पनि विदेशबाट आयात गर्नुपर्ने अवस्थाबाट मुलुकले मुक्ति पाउन सक्ने छ । केन्द्रले निर्माण गरेको नवजात शिशुलाई बिजुलीको माध्यमबाट न्यानो पार्ने ‘न्यानो नानी’ उपकरण, कफी भुट्ने उपकरण, मोटरसाइकल एम्बुलेन्स, हरियो चियापत्ती सुकाउने, खुवा तथा नान रोटी बनाउने विद्युतीय उपकरण आदिको निर्माण तथा निर्माणको अन्तिम चरणमा पुग्नु पक्कै पनि खुसीका विषय हुन् । हुन त यी उपकरण वैज्ञानिक प्रविधि वा आविष्कारको दिशामा ठूलो फड्को मार्ने निर्माण होइनन् । यसलाई अन्वेषणको कुन श्रेणीमा राख्ने भन्ने मत विभाजन हुन सक्छ । तथापि यी उपकरणका निर्माणले मुलुकमा वैज्ञानिक खोज मार्गमा उत्साह थप्ने कार्यमा सघाउ पुग्ने विश्वास लिन सकिन्छ ।

स्थापनको तीन वर्षमा केन्द्रले यस्ता विभिन्न उपयोगी उपकरण निर्माणले, सरकारी क्षेत्रमा कार्यरत नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानबीच कतिपय वैज्ञानिक आविष्कार वा निर्माणमा सहकार्यको सम्भावनालाई आधार तयार गरिदिएको पक्षलाई बेवास्ता मिल्दैन । मुलुकलाई आधुनिक वैज्ञानिक प्रविधि एवं आविष्कारका दिशातर्फ अग्रसर गराउन प्रयासरत यी दुवै संस्थाले मिलेर काम गर्ने वातावरण तयार हुन सके समग्रमा मुलुककै विज्ञान प्रविधिको दिशामा उल्लेखनीय आयामको निर्माण सम्भव हुन सक्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?