नेपाल वन्यजन्तुको प्राकृतिक वासस्थानका लागि विश्वप्रसिद्ध छ । एकसिङे गैँडा, पाटे बाघजस्ता विश्वमै दुर्लभ वन्यजन्तुको वासस्थान तथा उनीहरूको संरक्षणका लागि नेपालले विश्वमै ख्याति कमाएको पनि हो । यिनै वन्यजन्तुका कारण बर्सेनि हजारौँ पर्यटक नेपाल आकर्षित हुने तथ्य पनि कसैले बिर्सनु हुँदैन । विशेष तवरले गरिएको संरक्षणकै परिणामस्वरूप विश्वमै लोपोन्मुख यी जनावरहरूको सङ्ख्या पनि विगत केही वर्ष यतादेखि उल्लेखनीय वृद्धि भएको यथार्थ सबैसामु छ तर विगत केही समय यतादेखि नेपालकै सबैभन्दा पुरानोमध्येको एक चितवन राष्ट्रिय निकुञ्जलगायतका वन्यजन्तु प्राकृतिक वासस्थलमा पाटे बाघ, एकसिङे गैँडाजस्ता लोपोन्मुख जनावरको सङ्ख्यामा कमी आउन थालेको पाइनु चिन्ताको विषय बन्न थालेको छ । सन् २०१३ मा गरिएको गणनामा चितवन राष्ट्रिय निकुञ्जमा १२० वटा बाघको गणना गरिएको थियो ।
सन् २०१८ मा बाघको सो सङ्ख्या घटेर ९३ मा सीमित भएको भयो । पाँच वर्षको अवधिमा झन्डै अढाई दर्जन जति लोपोन्मुख पाटे बाघको सङ्ख्यामा कमी आउनु समग्रमा मुलुककै वन्यजन्तु संरक्षण तथा प्रमुख निकुञ्जका लागि निकै चिन्ताको विषय बन्नु स्वाभाविकै हो ।
मानव मात्र नभई वन्यजन्तुलगायत सबै प्राणीलाई उपयुक्त आहार, विहार तथा वासस्थलको आवश्यकता न्यूनतम आधारभूत विषयवस्तुअन्तर्गत नै पर्छ । अमेरिका, युरोपलगायतका पश्चिमा विकसित मुलुकमा नेपालीको बढ्दो पलायनलाई पनि यस तथ्यसँग अन्तरसम्बन्धित गर्न सकिन्छ । तसर्थ मानव जातिलाई जस्तै उपयुक्त आहार, विहार तथा वासस्थलको उपयुक्त व्यवस्थापन गर्न सकिएन भने जङ्गली जनावरहरूले पनि यी वस्तुहरूको खोजीमा अन्यत्र जान्छन् । त्यसरी जान खोज्नु वा जानु सामान्य प्राकृतिक नियम नै हो । तसर्थ यी वन्युजन्तुको संरक्षण तथा नेपाली निकुञ्जहरूमा टिकाइराख्न उनीहरूको वासस्थानका साथै आहार व्यवस्थापनमा जोड दिइनु अत्यावश्यक छ ।
चितवन राष्ट्रिय निकुञ्जमा आहार, बिहार तथा वासस्थलको उपयुक्त व्यवस्थापनको अभावमा पाटे बाघ सीमामा रहेको भारतको वाल्मीकि बाघ संरक्षण केन्द्रमा पुगेका समाचार गोरखापत्र दैनिकमै सार्वजनिक भयो । वन्यजन्तु संरक्षणको दिशामा नेपालले वर्षौंदेखि गरेको यो प्रयासमा यो एक किसिमको धक्का नै हो । यस तथ्यले पनि तत्कालै राष्ट्रिय निकुञ्ज तथा सम्बद्ध सरकारी निकायले यस दिशामा प्रभावकारी कदम चाल्न कुनै ढिलाइ गर्न नहुने स्पष्ट सन्देश दिएको छ । त्यसो त चितवनमा हरेक वर्ष एक पटक बाघको वासस्थानका लागि निकुञ्जभित्रका घाँसे मैदान व्यवस्थापनका लागि कार्य नहुने होइनन् तथापि यति प्रयासले मात्र पर्याप्त नभएको बाघको बसाइँसराइले पुष्टि गरेको छ । तसर्थ यसका लागि वर्षैभरि घाँसे मैदानको उपयुक्त व्यवस्थापन गरिनुपर्दछ । सरकारले त्यस दिशामा आवश्यक कदम चाल्ने भएको छ । सार्वजनिक सञ्चार माध्यममा आएको खबरपछि तत्कालै संवेदनशील भई समस्याको सम्बोधन गर्नु प्रशंसनीय कदम हो ।
नेपालको चितवन राष्ट्रिय निकुञ्जको समीपवर्ती क्षेत्रमा रहेको बिहारको वाल्मीकि बाघ संरक्षण केन्द्रमा बाघ, गौरी गाई, एक सिङे गैँडालगायतका वन्यजन्तुको वासस्थान निर्माणले तिब्रता पाएपछि यो केन्द्रमा यी जनावरको सङ्ख्या उल्लेखनीय रूपमा बढेको पाइएको छ । दस वर्षअघि एउटा पनि एकसिङे गैँडा नभएको यस केन्द्रमा अहिले गैँडा मात्र नभएर गौरी गाईजस्ता वन्यजन्तुको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भएको जनाइएको छ । यस्तै सन् २००८ सम्म एउटा मात्र पाटे बाघ रहेको यस केन्द्रमा सन् २०१८ बाघको सङ्ख्या बढेर ४० पुगेको पाइएको थियो । यस आँकडाले चितवनबाट चरणका लागि उता गएका वन्यजन्तु उपयुक्त वासस्थान तथा आहार पाउन थालेपछि यतातिर नफर्किएका अनुमान गर्न गाह्रो छैन । भविष्यमा यस प्रकार दोहोरिने छैनन् भन्ने आधार निर्माणका लागि सम्बन्धित निकायको अहिले नै प्रभावकारी कदम चाल्न ढिलाइ गर्नु हुँदैन ।
यसका लागि घाँसे मैदानहरूको उपयुक्त व्यवस्थापन, बाघजस्ता जनावरका आहारका लागि आवश्यक वन्यजन्तुको पालन, यी वन्यजन्तुका लागि पानीको स्रोतलगायतका विषयमा तत्काल ध्यान पु¥याएर यी समस्याको निराकरण गर्ने वन्यजन्तुको पलायन नियन्त्रण गरिनु जरुरी हो । विश्वमै दुर्लभ वन्यजन्तु रहेको चितवन राष्ट्रिय निकुञ्जभित्रका वासस्थान रहेका बाघ, गैँडा, हात्तीलगायतका तन्तु नै निकुञ्जका मुख्य आकर्षण हुन् भन्ने कुरा बिर्सनु हुन्न ।