कुनै पनि संस्थाले आगामी दिनको योजना बनाउनु आफैँमा सराहनीय काम हो । त्यस क्रममा मुलुकका केन्द्रीय बैङ्कले निश्चित अवधिका लागि आफ्ना रणनीतिक योजना तर्जुमा गर्ने प्रचलन विद्यमान छ । यसै प्रचलनलाई अनुसरण गर्दै देशको केन्द्रीय बैङ्क नेपाल राष्ट्र बैङ्कले आगामी पाँच वर्षका लागि रणनीतिक योजना तयार गरी ‘रोडम्याप’ सार्वजनिक गरेपछि नयाँ बहस सुरु हुँदै छ । सन् २००६ मा राष्ट्र बैङ्कले यस खाले पहिलो रणनीतिक योजना तय गरेको थियो । त्यसैको निरन्तरता दिँदै केन्द्रीय बैङ्कले पाँच वर्षे रणनीतिक योजना ल्याएको हो । सन् २०२२ देखि २०२६ सम्म पाँच वर्षका लागि तर्जुमा गरिएको यो पछिल्लो रणनीतिक योजना शृङ्खलाको चौथो हो । यस रणनीतिक योजनासँगै नेपाल राष्ट्र बैङ्कले आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने विभिन्न मुख्य कार्यको स्पष्ट कार्यदिशा निर्धारित हुनेछ ।
बैङ्कले सार्वजनिक गरेको यस नीतिअन्तर्गत समेटिएका सात रणनीतिक खम्बा छन् । यसमा १८३ कार्ययोजना छन् । यसै सेरोफेरोमा आफ्ना कामकारबाही अगाडि बढाउन कार्ययोजना मार्गनिर्देशकका रूपमा रहेको छ । मुख्यतया आगामी दिनमा केन्द्रीय बैङ्कले विद्युतीय कारोबार प्रवद्र्धन गर्नेछ । आर्थिक अनुसन्धानको क्षेत्रलाई व्यापक रूपमा अगाडि बढाउनेछ । यसैगरी मौद्रिक व्यवस्थापन, भुक्तानी प्रणाली, सुशासन, नियमनकारी तथा अनुगमनकारी भूमिकामा थप सबल बनाउन केन्द्रीय बैङ्कको ध्यान जानेछ । त्यस्तै साङ्गठनिक विकास र बौद्धिक व्यवस्थापन, पूर्वाधार निर्माणमा बढी ध्यान दिइनेछ । पाँच वर्षे रणनीतिक योजनाले यी विविध क्षेत्र समेटिएका हुनाले केन्द्रीय बैङ्कको आगामी बाटो सुस्पष्ट देखिन्छ ।
रणनीतिक योजनामा अरू पनि विषय समेटिएका छन् । गोर्खा महाभूकम्पका कारण भत्किएको बैङ्कको भवन निर्माण सम्पन्न गरिनेछ । मुद्रा व्यवस्थापनको आधुनिकीकरण गरिनेछ भने थोत्रा नोट धुल्याउने नयाँ प्रविधि प्रयोगमा ल्याइनेछ । आगामी दिनमा मुलुकको केन्द्रीय बैङ्कले नवीन प्रविधिमा जोड दिने देखिएको छ । प्रविधिले नै अबको चामत्कारिक विकासको बाटो देखाउँछ । यसका अतिरिक्त विद्युतीय कारोबारको प्रवद्र्धन, नेसनल पेमेन्ट स्विच कार्यान्वयनमा ल्याउनेजस्ता योजना मुलुकलाई नवीनतम वैज्ञानिक आर्थिक प्रविधितर्फ अग्रसर गराउने महìवपूर्ण कदम साबित हुने आधार हुन् भन्न सकिने अवस्था छ ।
कुनै पनि संस्थाको गतिशील प्रगतिका निम्ति सुशासनसहितको पारदर्शिता आवश्यक पर्छ । त्यसैगरी जवाफदेहिता, सङ्गठनात्मक विकास तथा प्रतिभा प्रवद्र्धनका अतिरिक्त स्रोतको प्रभावकारी व्यवस्थापनसमेत उत्तिकै आवश्यक छ । यस सन्दर्भमा केन्द्रीय बैङ्कको रणनीतिक योजनाले यी महìवपूर्ण पक्षमा जोड दिनुको अर्थ सबल एवं सक्षम तवरले संस्थालाई अगाडि बढ्न सहज हुने विश्वास निर्माण हुनु हो । मुलुकको केन्द्रीय बैङ्क आफैँमा सबै पक्षमा सक्षम एवं सबल नहुँदासम्म अनुगमनकारी एवं नियमनकारी भूमिका निर्वाह गर्न सहज वातावरण सिर्जना हुँदैन । यसैगरी सहकार्य एवं सहसंयोजनको निम्ति समकक्षी सिकाइमा जोड, सूचना आदानप्रदान प्रभावकारी बनाउनेजस्ता रणनीतिक योजनामा समेटिनु सकारात्मक पक्ष हो ।
समष्टिमा देशको केन्द्रीय बैङ्कको यस पटकको रणनीतिक योजनाले बैङ्किङ पद्धतिप्रतिको थप विश्वास आर्जनलाई केन्द्रबिन्दु बनाएको छ । अन्तर्राष्ट्रिय समुदाय र विकास साझेदारसँग प्रभावकारी संयोजनमा ध्यान पु-याएको छ । वित्तीय र बाह्य क्षेत्रसँगको स्थायित्व कायम गर्न विश्ोष र नवप्रवद्र्धनात्मक उपायसहित आएकाले पनि यो उपलब्धिमूलक हुनेमा विश्वस्त हुन सकिन्छ । विशेषतः आर्थिक, मौद्रिक तथा वित्तीय क्षेत्रका धेरै पक्षलाई सम्बोधन गरिनु यो रणनीतिक योजनाको मुख्य विशेषताका रूपमा लिन सकिन्छ ।
कुनै पनि योजना, नीति, रणनीति आफैँमा साध्य होइनन्, ती लक्ष्यमा पुग्ने साधन मात्र हुन् । तसर्थ यस्ता योजनाको सफल कार्यान्वयनमा यिनीहरूको सफलता निर्भर हुन्छ । यसै परिप्रेक्ष्यमा राष्ट्र बैङ्कको यस पटकको पाँच वर्षे रणनीतिक योजनाको सफलता यसको कार्यान्वयन पक्षमा निर्भर हुन्छ । यसर्थ रणनीतिक योजनाको वस्तुनिष्ठ कार्यान्वयनकै फलस्वरूप लक्षित उद्देश्यको प्राप्ति सम्भव हुनेछ । यस रणनीतिक योजना सफलीभूतका लागि राष्ट्र बैङ्कको इमानदार प्रयासमा सरकारलगायत सबै सरोकारवाला पक्षको सहयोग तथा सहकार्यको जरुरत अवश्य नै पर्छ । मूलतः केन्द्रीय बैङ्कको नेतृत्वले रणनीतिक योजना कार्यान्वयनमा अर्जुनदृष्टि दिनु आवश्यक छ । योजना बन्ने तर समयमा काम हुन नसक्ने कतिपय संस्थाका रोग केन्द्रीय बैङ्कमा देखिनु हुन्न ।