मानव स्वास्थ्यका लागि पूर्वीय दर्शनमा आधारित आयुर्वेदिक उपचारको आफ्नै किसिमको महत्त्व रहिआएको छ । आहार विहार, जीवनशैलीमा परिवर्तनसँगै प्राकृतिक विज्ञानका माध्यमबाट उपचार गरिने यो विधिमार्फत रोगको दीर्घकालीन समाधानमा खोज्न जोड दिइएको हुन्छ । नेपालको पूर्वपश्चिम, उत्तरदक्षिण सबैतिर अनेक प्रकारका बोटविरुवा पाइन्छन् । ठाउँपिच्छे फरक मौसम र बोटविरुवामा औषधीय महत्त्वका जडीबुटीको अनन्त स्रोत नै हो नेपाल । प्रकृतिप्रदत्त जडीबुटी, रुखविरुवा तथा खनिज अनि अनेक रसको अनुपात मिलाएर आयुर्वेदिक औषधि निर्माण गरिने आयुर्वेद दर्शनले उल्लेख गर्छ । यसरी अनेक तìव मिलाएको हुनाले पनि यसको आधुनिक औषधिजस्ता विकृत प्रभाव आयुर्वेद औषधिमा निकै कम हुन्छन् । त्यसैले पनि यो आयुर्वेद ज्ञानमा आधारित औषधि मानव स्वास्थ्यका लागि अब्बल उपचार विधि मानिँदै आएको हो ।
नेपाल भूगोल जडीबुटीको खानी नै हो । देशका हरेक ठाउँ वनस्पतिक सम्पदाले भरिपूर्ण रहेको छ । परापूर्व कालदेखि नै आयुर्वेदको अभ्यास गरिएको क्षेत्र मानिने नेपालजस्तो भूमिमा आयुर्वेदिक उपचार विधिको निकै प्रचार प्रसार तथा विस्तार हुनु सामान्य विषय हो तर धरातलीय यथार्थ भने पृथक् छ । मुलुकमा आयुर्वेदिक उपचार विधि क्रमशः कमजोर हुँदै गएको छ । परम्परागत ज्ञान, सीप र अनुवभव विस्तारै लोप हुने अवस्था छन् । आयुर्वेदको संस्थागत उपस्थिति पनि बलियो छैन । भएको संस्था प्रभावकारी हुन सकिरहेको देखिँदैन । वर्तमानमा आयुर्वेद उपचार सबैको आकर्षण बन्न नसकिरहेको यथार्थ हामी सबैका सामुन्ने नै छ । यस उपचार विधिप्रति सरोकारवाला पक्षबाट उपयुक्त ध्यान नदिइएकै फलस्वरूप मुलुकले आधुनिक औषधि आयातमा बर्सेनि करोडौँ रुपियाँको खर्चिरहनु परेको अवस्था पनि हामीसामु छ ।
नेपालमा परापूर्व कालदेखि नै आयुर्वेदिक उपचार पद्धतिको अभ्यास निरन्तर रूपमा जारी थियो । देशका सबै ठाउँ क्षेत्रमा स्वास्थ्य उपचार भन्नु नै आयुर्वेदिक उपचार हुने गर्दथे । हरेक गाउँ ठाउँमा आयुर्वेदका जानकार वैद्यहरूले औषधि उपचारको सेवा पु-याइरहेका हुन्थे । यो विगतको इतिहासलाई अगाडि बढाउँदै तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरका पालामा सिंहदरबार वैद्यखानाको स्थापना गरिएको थियो । वैद्यखानाको मुख्य उद्देश्य आयुर्वेदिक औषधि निर्माण र प्रवद्र्धन गर्नु थियो । उत्पादन भएको औषधिको सबैतिर सहज वितरण अर्को उद्देश्य थियो । विशेषतः नेपालमा आयुर्वेदिक औषधि खोज, निर्माण तथा वितरणको मुख्य आधार नै यही सिंहदरबार वैद्यखानालाई औँल्याउन सकिन्छ । तर विगत केही समय यतादेखि यो वैद्यखाना सुस्ताएको पाइन्छ । सम्भवतः सरकारी निकायहरूको समुचित ध्यानदृष्टि पुग्न नसकेर पनि हुनसक्छ । देशमा आधुनकि र आयातित औषधिको प्रभावले पनि हुन सक्छ । प्राकृतिक तवरले रोगीलाई उपचार गर्ने औषधि निर्माणको यो गहन परम्परा अहिले आफैँ बिरामी संस्थामा परिणत भएको प्रतीत हुन्छ ।
कोरोना (कोभिड–१९) महामारीले नेपाललगायत संसारैलाई आक्रान्त पारेको बेला सरकारको मातहतमा रहेको यो वैद्यखानाले स्थानीय जडीबुटीबाटै कोभिडविरुद्धको केही औषधि निर्माणमा जुट्नु पर्दथ्यो । व्यवहारमा त्यस्तो देखिएन । वैद्यखानाको संस्थागत सक्रियतालाई कोभिडले सुस्त बनायो । मुलुकमा आयुर्वेदिक औषधि निर्माणमा अग्रणी तथा गहन जिम्मेवारी पाएको वैद्यखाना आर्थिक वर्षको लगभग अन्त्यमा आएर बल्ल अहिले औषधि निर्माणका लागि जडीबुटी खोजीमा जुटेको सार्वजनिक हुनु आफँैमा सुखद खबर होइन । यसले दुईवटा तथ्य स्पष्ट्याउँछ । पहिलो, वैद्यखाना आफैँ आफ्नो जिम्मेवारीप्रति गम्भीर देखिँदैन । दोस्रो, सरकार पनि वैद्यखानाप्रति उपयुक्त दृष्टि पु-याएर मुलुकमा आयुर्वेदिक उपचार विधिलाई प्रोत्साहित गर्न त्यति रुचि राखिरहेको छैन ।
हाल २३५ वटा विभिन्न आयुर्वेदिक औषधि उत्पादन गरिरहेको वैद्यखानाले थप औषधिका लागि बोलपत्रलगायतका कागजी औपचारिकता अझै पूरा नगरिसकेको सन्दर्भमा औषधि उत्पादन अनिश्चित रहेको देखिन्छ । यस्तो स्थितिमा आयुर्वेदिक उपचारको विस्तारमा सङ्कुचन आउनु स्वाभाविकै हो । यस्ता परिस्थितिबाट पार पाउनका लागि सरकारले आयुर्वेदको विकास एवं विस्तारका लागि सुदृढ नीति ल्याउनु आवश्यक छ । यसबाट यो उपचार विधिअन्तर्गत नयाँ खोज र अनुसन्धानको सम्भावनाको वातावरण तयार हुन्छ भने सर्वसाधारण सहज एवं आर्थिक दृष्टिकोणबाट मितव्ययी ढङ्गको प्राकृतिक उपचार विधि अवलम्बन गर्ने अवसर पाउँछन् । औषधिको आयातसमेत प्रतिस्थापन गर्ने र सकेसम्म निर्यातसमेत बढाउने गरी अगाडि बढ्नु वाञ्छनीय छ ।