logo
२०८१ मंसिर ८ शनिवार



महँगीको कुरुप प्रवृत्ति (सम्पादकीय)

विचार/दृष्टिकोण |




एक सय एक्काइस वर्ष पहिले गोरखापत्र प्रकाशनका लागि राणा प्रधानमन्त्री देवशमशेरले नरदेव पाण्डेलाई सनद लेखेर दिएका थिए । त्यससँगसँगै गोरखापत्रमा छाप्न हुने र नहुने सामग्रीको सूची पनि थियो । गोरखापत्रमा छाप्नुपर्ने कुरामा कोलकता (तत्कालीन कलकत्ता) र काठमाडौँको बजार दरभाउसमेत थियो । कोलकता त्यतिबेला बेलायती औपनिवेशिक भारतको राजधानी थियो । पछि सन् १९११ मा मात्र राजधानी दिल्ली सरेको हो । त्यसबेला कोतकता नै प्रमुख व्यापारिक सहर थियो । काठमाडौँमा त्यहीबाट सरसमान आउँथ्यो । कोलकतामा पर्ने भाउ र काठमाडौँ पर्ने भाउ स्पष्ट भएपछि व्यापारीले के कति नाफा लिने भन्ने पारदर्शिता कायम हुने थियो । शताब्दीपछि कुनै वस्तुको स्रोतमा कति मूल्य पर्छ र त्यो सरसामना नेपालभित्र ल्याएर के कतिमा बेचिन्छ भन्ने यकिन छैन । मनलाग्दी बजार मूल्यले उपभोक्ता पीडित हुने क्रम अहिले बढ्दो छ ।

हुन पनि यता केही समयदेखि बजार भाउ अचाक्ली भएको छ । देशभित्र उद्यमधन्दा गर्नुभन्दा बाहिरबाट मालवस्तु ल्याएर मुनाफा गरी चाँडो धनी हुने प्रवृत्ति यता केही दशकदेखि मौलाएको देखिन्छ । दुई वर्षअघिको कोरोना महामारीबाट थलिएको अर्थतन्त्र छ÷सात महिनायता केही उक्सिन खोजेको हो । नेपालमा मात्र नभई संसारैभरि कोरोनाविरुद्धको खोप प्रयोगमा आएपछि अर्थतन्त्र चलायमान भयो । त्यसैको फलस्वरूप अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्यसमेत बढ्न थाल्यो । त्यसैबेलादेखि नेपालमा आउने पेट्रोलियमको भाउ बढ्न थालेसँगै महँगीले फँडा उठाउन थालेकोे हो । पेट्रोलियमको निहुँ बनाएर सबै वस्तुको मूल्यवृद्धिले उपभोक्तालाई मारमा पार्न थालेको थियो । पछिल्ला दिनमा रुस र युक्रेनबीचको युद्ध थपियो । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अर्को निहुँ भयो ।

खाने तेलदेखि सबै वस्तुको बजार भाउ सहनै नसक्ने गरी बढेको छ, बढाइएको छ । केही समयअघि प्रतिलिटर २७० रुपियाँ पाइने भुटेको तोरीको तेल अहिले चार सय रुपियाँसम्म पुगेको छ । काँचो तोरीको तेल प्रतिलिटर १७० बाट बढेर ३८५ सम्म पु-याइएको छ । त्यस्तै भटमास तेल प्रतिलिटर १६० बाट बढेर २७०, सूर्यमुखी प्रतिलिटर १६० बाट २९० रुपियाँ पुगेको छ । यी वस्तुको कच्चा पदार्थ रुस तथा युक्रेनबाट आउँथ्यो, अहिले आउन छाड्यो भनेर मूल्य बढाइएको छ । नेपालभित्रै उत्पादन हुने घिउसमेत प्रतिलिटर ८५० बाट बढेर एक हजार २५० रुपियाँसम्म पु-याइएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार सबैभन्दा बढी तराईमा मूल्य बढेको छ । काठमाडौँ उपत्यकादेखि हिमाल पहाड कतै महँगी बढ्ने कुराले छोडेको छैन । सास्ती थपिएको छ ।

नाफा गर्नु व्यापार व्यवसायको एउटा लक्ष्य अवश्य हो तर त्यही नै सम्पूर्ण लक्ष्य होइन । हरेक व्यापारी आफैँमा उपभोक्तासमेत हुन् । व्यापार गर्नेले कहिलेकाँही उपभोक्ता भएर सोच्नु पर्छ । निजी क्षेत्रका व्यावसायिक सङ्घसंस्थाले व्यापार व्यवसायको आचारविचारलाई पनि ध्यान दिनुपर्छ । कुनै वस्तुको स्रोत बिन्दुमा कति मूल्य छ र नेपालसम्म ल्याइ पु-याउँदा के कति ढुवानी खर्च लाग्छ ? लगानीको प्रतिफलका लागि के कति छुट्याउनु पर्छ ? कर के कति छ र त्यसको बजार भाउ के कसरी तय भएको छ भन्ने बजार अध्ययन र पारदर्शिता पटक्कै छैन । बजारैपिच्छे र व्यापारीपिच्छे बजार भाउ फरक फरक छ । सरोकारी अनुगमन निकायले पनि बजार अनुगमन सही तवरले गर्नुभन्दा देखाउनका लागि अनुगमन गर्ने शास्त्रीय प्रचलन छ । अनुगमनभन्दा प्रचारप्रसार बढी गर्ने प्रवृत्ति देखिएको गुनासोसमेत छ ।

कृत्रिम महँगी अर्थतन्त्रको क्यान्सर हो । सीमित मुनाफाखोरी व्यापारीलाई यसले धनी बनाउँछ र आमउपभोक्तालाई जुकाले रगत चुसेझैँ चुस्छ । विपन्न परिवारलाई महँगीले अझ बढी सताउँछ । त्यसैले चाहे युद्ध, चुनाव वा पेट्रोलियम, केहीको नाममा पनि अनावश्यक महँगी स्वीकार्य छैन । सरोकार निकायले तत्काल र कडा अनुगमन गर्नुपर्छ । देशभित्रकै उत्पादनलाई ध्यान दिने विकल्पतिर समेत लाग्नुपर्छ । उतिबेला कोलकत्ता र यहाँको बजार भाउ दिएझै मूल्य संयन्त्र र पारदर्शिता कायम गर्नु वाञ्छनीय भएको छ । निश्चय नै महँगीको यो कुरुप प्रवृत्ति मान्य छैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?