मुलुकमा पाँच राजनीतिक दलहरूको गठबन्धनको सरकारले राज्य सत्ता सञ्चालन गरिरहेको छ । यस अवधिमा मुलुकमा विकास निर्माणलगायत विविध पक्षमा उल्लेखनीय कार्य सम्पन्न भएको सर्वविदितै छ । विशेषगरी वर्षौंदेखि गुजुल्टिएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सबैको सहमतिमा संसद्बाट पारित भएको छ । लोकतन्त्र मुख्य आधारका रूपमा रहेको आवधिक निर्वाचनअन्तर्गत स्थानीय, प्रदेश तथा सङ्घीय निर्वाचनको सम्पन्न गर्ने जिम्मा पनि यही सरकारले लिएको छ ।
२०७९ वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनको तयारी निकै तीव्रता साथ अगाडि बढिरहेको छ भने अन्य दुई तहका निर्वाचनहरूको तयारीको क्रममा छन् । यीबाहेक पनि सन्तुलित वैदेशिक सम्बन्ध, सुदृढ गृह व्यवस्था, अर्थतन्त्रको सुधारलगायतका सम्बन्धमा थुप्रै उल्लेखनीय कार्य नेपाली काँग्रेसको नेतृत्वमा रहेको यसै गठबन्धन सरकारले सम्पन्न गरिरहेको छ । यी विषयहरू मुलुक विकासका लागि आवश्यक न्यूनतम आधारभूत सर्त हुन् साथै यी क्षेत्रमा भएका सहमति एवं कार्यान्वयनले मुलुकमा निश्चित रूपमा सकारात्मक प्रभाव पार्नेमा विश्वस्त हुन सकिन्छ ।
बूढापाकाको एउटा भनाइ छ, मिल्नु जस्तो छ चिल्नु हुँदैन अर्थात् मिलेर नै कामहरू फत्ते गर्न सहज हुन्छ । यी तथ्यहरूबाट हाम्रोजस्तो विकासोन्मुख राष्ट्रको लोकतन्त्रका लागि दलहरूबीचको एकता, गठबन्धन सकारात्मक पाटो हुनसक्ने सन्देश प्रवाहित भएको छ । यसले दलहरूबीचको तिक्तता तथा वैमनस्यतामा पनि कमी ल्याउन सघाउ पुग्ने अपेक्षा गर्न सकिन्छ ।
राजधानी काठमाडाँैंमा शनिबार आयोजित एक कार्यक्रममा गठबन्धन सरकारका नेतृत्वकर्ता तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सत्ता साझेदार दलबीच उच्च विश्वास तथा समझदारी कायम गरेर निर्वाचनमा जानुपर्ने अभिव्यक्तिबाट पनि राजनीतिक दलहरूबीचको गठबन्धनको महìव उजागर भएको मान्न सकिन्छ । नेपाली काँग्रेसको नेतृत्वमा सबै राजनीतिक दलबीच राष्ट्रिय एकता कायम गरेर विकास र समृद्धिको मार्ग तय गर्नुपर्ने प्रधानमन्त्रीको भनाइले गठबन्धभन्दा पनि अझ बृहत तथा विस्तारित रूपमा राजनीतिक दलहरूबीचको सहमतितर्फ सङ्केत गरेको छ । प्रधानमन्त्रीले सङ्केत गर्नु भएजस्तो राष्ट्रिय एकता, सहमति तथा गठबन्धन नेपाली राजनीतिक दलहरूबीच कायम हुन सकेमा यो मुलुकको विकास निर्माण तथा समृद्धिको सन्दर्भममा कायापलट हुने विषयमा कुनै द्विविधा नै हुने छैन तर दुर्भाग्य नेपाली राजनीतिमा सबै दलबीचको यस्तो अभूतपूर्व एकता हालसम्म पनि वास्तविकतामा परिणत हुन सकेको छैन ।
नेपाली काँग्रेसका महान् नेता बीपी कोइराला पनि लामो समय विदेशमा निर्वासित जीवन बिताएर वि.सं २०३३ मा स्वदेशमा फर्किनुभयो र उहाँको स्वदेश फिर्तीको मुख्य आधार राष्ट्रिय मेलमिलाप नीति थियो । यसैको जगमा टेकेर मुलुकमा दूरगामी प्रभावका विभिन्न राजनीतिक परिवर्तन सम्भव भएको थियो जसमा मुलुकका प्रायः सबै ठूला राजनीतिक दलहरूको सक्रिय सहभागी थियो । यसको तात्पर्य राजनीतिक दलको गठबन्धन नै परिवर्तनको संवाहक बन्न पुग्यो । यदि मुख्य राजनीतिक दलहरूबीच मुलुकको राजनीतिक उथपुथलका क्रममा मेलमिलाप वा अर्को शब्दमा गठबन्धन कायम हुन नसकेको भए अहिलेको यथार्थ कोरा कल्पनामा सीमित हुन्थे, यो तथ्य कसैले बिर्सनु हुँदैन ।
प्रधानमन्त्री देउवाले सार्वजनिक मञ्चबाटै आफ्ना गठबन्धनका सहयात्री दलका साथै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई समेत देश विकास तथा समृद्धिका मिलाएर अगाडि बढ्न सकिने सम्बन्धमा व्यक्त गर्नुभएको विचार वास्तवमै मननीय छ । यसतर्फ प्रमुख प्रतिपक्षी दल एमालेले पनि गम्भीरता साथ चिन्तन गर्नुपर्ने आवश्यकता देखिएको छ ।
राजनीतिक दलहरूबीचको एकता, सहमति तथा गठवबन्धन आवधिक निर्वाचनका क्रममा मात्र सीमित नराखी मुलुकको विकास एवं समृद्धिका लागि समेत अनिवार्य छ । मुलुक विकासमा पछाडि पर्नुको एक प्रमुख कारण दलहरूबीचको खिचातानी तथा एकलौटे प्रवृत्ति पनि हो । यसतर्फ दलहरूले मनन गर्नु नै उपयुक्त हुन्छ । साथै दशकौँ राजनीतिमा व्यतित गरिसकेका दलहरूले मुलुकको हितका साथै आफ्नो दल, कार्यकर्ता तथा आवश्यकताको सिद्धान्तअनुसार गठबन्धनको यात्रालाई थपघट वा निरन्तरता दिने अनुमान गर्न सकिन्छ ।