logo
२०८१ बैशाख २४ सोमवार



प्रम देउवाको भारत भ्रमण (सम्पादकीय)

विचार/दृष्टिकोण |




अन्तर्राष्ट्रिय सम्बन्धका अनेक आयाम हुन्छन् । विश्वमा कतिपय मुलुकको सम्बन्ध पौराणिककालदेखि इतिहास, संस्कृति, परम्परा तथा धर्मका कारणले अटुट रहेको पाइन्छ । नागरिक–नागरिक सम्बन्ध अनुपम हुन्छ । कतिपय मुलुकका सरकार–सरकारबीचको सम्बन्ध औपचारिकतामा सीमित हुन सक्छ तर सर्वसाधारणबीचको सम्बन्धले दुई देशबीचको आपसी सम्बन्ध सौहार्द र सुदृढ हुन्छ । दक्षिण एसियाका दुई छिमेकी नेपाल र भारतबीचको सम्बन्ध यसैको अनुपम उदाहरण हो । बेलाबेलामा नेपाल र भारतबीच विभिन्न खाले समस्या सिर्जित नहुने होइनन् तथापि त्यस्ता समस्याको शान्तिपूर्ण समाधानमा दुवै मुलुक तत्पर रहने गरेका विगतका अनेक असल कूटनीतिक अभ्यासहरू छन् ।

नेपाल र भारतबीचको यो परम्परागत र सौहार्दपूर्ण सम्बन्धको कडीलाई बेलाबेलामा भइरहने उच्चस्तरीय राजनीतिक भ्रमणले समेत थप उचाइमा पु-याउने गरेको छ । दुवै देशका राष्ट्राध्यक्ष, कार्यकारी प्रमुखलगायत उच्चपदस्थ नेतृत्वले गर्ने एकअर्को मुलुकको भ्रमण विगतदेखिकै निरन्तरताको कडी हो । ताजा सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत १८ गतेदेखि २० गतेसम्म भारत भ्रमण गर्दै हुनुहुन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उहाँले गर्न लाग्नुभएको भ्रमण अहिले दुवै देशका लागि महìवपूर्ण विषय भएको छ । प्रधानमन्त्री देउवाको यस तीन दिने औपचारिक भ्रमण दुवै मुलुकबीचको आपसी सम्बन्ध थप प्रगाढ र सुदृढ हुने दिशामा महìवपूर्ण कडी साबित हुने अपेक्षा छ । पक्कै पनि यस भ्रमणताका दुई मुलुकका सरकार प्रमुखबीच पारस्परिक हितका विषय अगाडि बढ्ने छन् । त्यति मात्र होइन क्षेत्रीय तथा अन्तर्राष्ट्रिय साझा चासोका विषयवस्तुमा गहन एवं गम्भीर छलफल हुनेछ । यसबाट दुवै मुलुकको आपसी विश्वासमा अभिवृद्धि हुनुका साथै सहयोगका नयाँ क्षेत्रको समेत पहिचान हुन सक्ने देखिएको छ तर त्यसका लागि नेपालले आवश्यक सबै तयारी गर्न पछाडि पर्नु हुन्न ।

पाँचवटा राजनीतिक दलको गठबन्धनमा आठ महिनाअघि वर्तमान सरकार गठन भएपछि विदेश नीतिलाई जतनका साथ अगाडि बढाइएको छ । राष्ट्रिय हितलाई सर्वोपरि राख्दै सन्तुलित वैदेशिक नीतिलाई प्राथमिकता दिएको छ । यसैको फलस्वरूप विश्वका सबै ठूला साना राष्ट्रसँग नेपालको सम्बन्ध पञ्चशीलको नीतिमा आधारित भएर मैत्रीपूर्ण एवं विश्वासका साथ अगाडि बढिरहेको छ । आमनेपालीका लागि यो सन्तोषको विषयसमेत हो । चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको उच्च प्राथमिकता कूटनीतिक सन्तुलनका निम्ति महìवपूर्ण पक्ष हो । साउदी राजकुमारको भ्रमणसमेतले वर्तमान सरकारको कूटनीतिक क्रियाशीलता स्पष्ट हुन्छ ।

नेपालले भारतसँगको सम्बन्धलाई सधैँ प्राथमिकतामा राखेको छ । आसन्न भ्रमणका क्रममा प्रधानमन्त्री देउवा तथा उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच हुने द्विपक्षीय वार्ता दुवै मुलुकबीचको सम्बन्ध थप सुदृढीकरणका दिशामा आयामिक हुने विश्वास गर्न सकिन्छ । भारतमा रहँदा प्रधानमन्त्री देउवाले गर्नुहुने अन्य उच्चस्तरीय भेटघाट नेपालका लागि उपयोगी हुन सक्नेछ । यसैगरी भारतीय व्यापारिक समुदायलाई प्रधानमन्त्री देउवाबाट हुने सम्बोधनमा नेपालमा वैदेशिक लगानीका निम्ति उपयोगी वातावरण बन्न सक्नेछ । यसबाट भारतीय लगानीकर्ता नेपालमा थप लगानी गर्न आकर्षित हुन सक्ने वातावरण बन्न सक्नेछ ।

नेपाल र भारतको सम्बन्धको आधार दुई देशबीचको खुला सिमाना र नागरिकको सम्बन्धसमेत हो । खुला सिमाना एकातिर अवसर हो भने अर्कोतिर चुनौती पनि । कतिपय बेला आपराधिक क्रियाकलापका घटनाहरूले प्रश्रय पाइरहेका हुन्छन् । तिनको निराकरणमा असल छिमेकीको नाताले नेपालद्वारा सदैव भारतप्रति सम्मान एवं सद्भाव व्यक्त गरिएका प्रशस्तै उदाहरण छन् । यसैको परिणामस्वरूप नेपाली भूमिमा कुनै पनि मुुलुकविरुद्ध गतिविधि हुन नदिने नेपालको नीति नै छ । नेपालले पनि भारतका तर्फबाट यस्तै किसिमको व्यवहार अनि नीतिको अपेक्षा स्वाभाविक हो ।

नेपाल र भारतबीचको प्राचीन कालदेखिको सम्बन्ध विश्वका अन्य मुलुकबीच पाइनु लगभग असम्भव प्रायः छ । यस्तो अवस्थामा यो अनुपम सम्बन्धको संरक्षण एवं जगेर्ना गर्नु दुवै मुलुकको प्राथमिकता एवं दायित्व हो । दुई सार्वभौम सम्पन्न मुलुकबीच ठूला र सानाको सम्बन्ध हुँदैन । यहाँ मित्रता, सहयोग, विश्वास अनि सद्भावको अपेक्षित हुन्छ । प्रधानमन्त्री देउवाको आउँदो भ्रमणबाट दुवै मुलुकको सम्बन्धले युग निर्देश गर्ने आयाम बन्न सक्ने अपेक्षा गर्न सकिन्छ ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?