logo
२०८० चैत्र १६ शुक्रवार



प्रमको ऐतिहासिक भ्रमण (सम्पादकीय)

विचार/दृष्टिकोण |




छिमेकी मुलुकहरूबीचको सम्बन्ध सुमधुर बनाउन बेलाबेलामा हुने उच्चस्तरीय पारस्परिक भ्रमणको ठूलो महत्त्व हुन्छ । उच्चस्तरीय भ्रमणमध्ये पनि समय र सन्दर्भले कतिपय भ्रमण अझ विशेष ऐतिहासिक महìवका हुन्छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत १८ देखि २० गतेसम्म गर्नुभएको तीन दिवसीय भारत भ्रमण समय र सन्दर्भले विशेष ऐतिहासिक बनाएको छ । विशेष गरी कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर दुई वर्षअघि नेपालले नयाँ नक्सा जारी गरेपछि दुई देशबीचको सम्बन्धमा चिसोपन बढेको अनुभव गरिएको थियो । एक प्रकारले उच्च राजनीतिक स्तरमा संवादहीनताको अवस्था नै सिर्जना भयो । विगतको सरकारले त्यो संवादहीनता भङ्ग गरी नयाँ शिराबाट संवाद थाल्न अलमल गरेको कूटनीतिक क्षेत्रमा चर्चा नै चल्यो । त्यसक्रममा नौ महिनाअघि वर्तमान सरकार बनेपछि नयाँ प्रयास थालनी भयो । अन्तर्राष्ट्रिय सम्बन्ध सुधारमा निरन्तर प्रयास जारी रहँदा दुई छिमेकीसँगै अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ आयाम देखिन थाल्यो ।

प्रधानमन्त्री देउवालाई नयाँदिल्ली र वारायणसीले गरेको स्वागत र उपलब्धि यसै आभामा हेर्नुपर्ने हुन्छ । भूगोल र संस्कृतिलगायतले नेपाल र भारतबीच ऐतिहासिक कालखण्डदेखि नै अनुपम सम्बन्ध रहँदै आएको छ । जनस्तरका सम्बन्धको यस्ता आयाम विश्वमै दुर्लभ रहेको छ । दुवै देशको यो सम्बन्ध र साधनलाई दुवै मुलुकको जनताको हितमा जसरी लगाउनु पर्ने थियो, त्यसमा ध्यान पुग्न नसकिरहेकै बेला प्रधानमन्त्री देउवाको यो भ्रमणले नयाँ आशा जगाएको छ । खासगरी नेपालको जलस्रोत लगानीमा नयाँ सम्भावना देखिएका छन् । दुई देशबीचको संयुक्त लगानीका क्षेत्र फराकिलो भएको छ ।

नेपालको जलस्रोतमा संयुक्त लगानी बढ्ने भएको छ । नेपालमा उत्पादित विद्युत्ले भारतीय बजार पाउन सक्ने भएको छ । यसका लागि नयाँदिल्लीमा प्रधानमन्त्री देउवाका भारतीय समकक्षी नरेन्द्र मोदीसित भएको वार्ता, समझदारी, सहमति र संयुक्त पत्रकार सम्मेलनले नवीन सन्देश दिएको छ । अब देशको आर्थिक तथा सामाजिक विकासले नयाँ मार्ग प्रशस्त गर्ने आधार सिर्जना गरेको छ । सबैभन्दा मूल विषय त ती सबै कार्यले नेपालको राष्ट्रिय हितलाई सर्वोपरि महत्त्व दिएको छ ।
प्रधानमन्त्री देउवाले शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा सम्बोधन गर्दा नेपाल–भारतबीचको सम्बन्धलाई नयाँ उचाइ दिने विश्वास व्यक्त गर्नुभएको थियो । भारतका प्रधानमन्त्री मोदीले पनि नेपाल–भारतबीचको जस्तो सम्बन्ध विश्वमा अन्यत्र कतै नभएको स्पष्ट पार्नुभयो । उच्च कार्यकारी तहको यो सन्देश दुवै मुलुकका सम्बन्धको भावी दिशा हो ।

भ्रमणको अवसरमा भएका चारवटा समझदारी दुवै देशको आर्थिक विकासका लागि दूरगामी महत्त्वका छन् । सम्पन्न समझादारीअनुसार नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सौर्य ऊर्जा संयन्त्रमा अगाडि बढ्ने भएको छ । जैविक ऊर्जाले पर्यावरणीय प्रतिकूलता थपिरहेको सन्दर्भमा यो समझदारी आफैँमा महत्त्वपूर्ण छ । स्वच्छ ऊर्जा विकासमा अब नेपालले विकसित अन्तर्राष्ट्रिय प्रविधिमा जान सक्नेछ । अर्को समझदारीमा रेल्वेसम्बन्धी प्राविधिक सहयोग रहेको छ । भारतसित रेल्वे सम्पर्क रहेको नेपालले द्रूत यातायात सेवाका लागि अब रेल्वेको विकासलाई तीव्रता दिनुपर्ने हुन्छ । जलविद्युत् उत्पादनले गति लिन थालेको अवस्थामा विद्युतीय रेल्वेको विकास नेपालको आर्थिक विकासको नयाँ आयाम हुनेछ । रोजगारीका नयाँ क्षेत्र खुल्न सक्ने छन् । त्यसैगरी पेट्रोलियम पदार्थ आपूर्तिमा भएको नयाँ समझदारी नेपालको इन्धन आपूर्तिका लागि उत्तिकै महìवको रहनेछ । त्यस्तै नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्राविधिक विज्ञता आदानप्रदान समझदारीले काममा दक्षता र चुस्तता बढ्न सक्ने विश्वास गर्न सकिन्छ ।

वर्तमान सरकारले यताका दिनमा तीनवटा कार्य सम्पादनले अन्तर्राष्ट्रिय उचाइलाई अग्रता दिएको छ । प्रधानमन्त्री देउवाको दक्षिणी छिमेकमा भएको भव्य स्वागतसँगै बढेको प्रगाढ र हार्दिक सम्बन्धले नेपालको राष्ट्रिय हित र आर्थिक विकासलाई केन्द्रबिन्दुमा राखेको छ । ऐतिहासिक सफलता हासिल गरेको छ । एमसीसीका रूपमा चिनिने अमेरिकी अनुदान सहयोगसम्बन्धी सम्झौताले प्रसारण लाइन विस्तार र सडक सुधारमा नयाँ अध्याय थपेको छ । हालै चिनियाँ विदेशमन्त्री वाङ यीको सफल भ्रमणले नेपाल सबैसित मिलेर जान सक्ने दिशाबोध गरेको छ । नेपालको अन्तर्राष्ट्रिय विश्वास बढेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?