logo
२०८१ मंसिर ८ शनिवार



पूर्वाधार निर्माणमा गुणस्तर (सम्पादकीय)

विचार/दृष्टिकोण |




दिगो पूर्वाधार विकासको मुख्य आधार हो । सडक संरचना दिगो र सवारी आवागमनमा सहज हुँदा त्यसले ढुवानी खर्च न्यून गर्छ । सहरका औद्योगिक उत्पादन गाउँसम्म पुग्छन् भने गाउँको उत्पादनले सहरमा बजार पाउँछ । सहज सडक आवागमन नहुँदा ढुवानीमा मात्र समस्या हुने होइन, मानिसको आवतजावतमा समेत समस्या पर्छ । श्रम उत्पादनको साधन हो र यो सञ्चय गर्न सकिन्न । सडक र सवारीमै समय बढी बिताउँदा श्रम गर्ने समय खेर जान्छ । उत्पादनमा प्रतिकूल असर पर्छ । सडकजस्तै पुल, भवन, जलविद्युत्, नहर आदि बलियो संरचना आर्थिक विकासका मूलभूत आधार हुन् । त्यस्ता संरचना कमजोर हुँदा एकातिर साधन र स्रोत खेर जान्छ भने अर्कातिर तिनले प्रदान गर्ने सेवा र सुविधाबाट सर्वसाधारण वञ्चित हुनुपर्छ ।

नेपालको भौतिक पूर्वाधारका धेरैजसो संरचनाको गुणस्तरमा बारम्बार प्रश्न उठ्ने गरेको छ । बन्दाबन्दै सडक भत्किनु सामान्यजस्तै बनेको छ । बन्दाबन्दैका पुल भाँचिन्छन् । हावाले पनि पक्की पुल भत्काउँछ । पहिलो कुरा त तोकिएको पूर्वनिर्धारित समयमा अधिकांश भौतिक संरचना तयार नै हुँदैनन् । कामको जिम्मा लिएका ठेकेदार कम्पनीले म्याद थपिरहन्छन् । अनेक कारण दिएर म्याद थपिन्छ र बजेटसमेत थप्ने गरिन्छ । यसले आयोजना लागत बढ्छ भने निर्माण पूरा हुने समय पनि लम्बिन्छ । नेपाली श्रम र साधनबाट बनेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पूर्वनिर्धारित पाँच वर्षको समयमा दोब्बर लाग्यो भने लागतसमेत दोब्बरले बढेर ७० अर्ब रुपियाँभन्दा बढी भयो । यस्तो हालत सबैजसो आयोजनामा रहने गरेको छ ।

अझ कतिपय संरचना त बन्दाबन्दै नै भत्किने गरेका छन् । पछिल्लो उदाहरण लिनु पर्दा दुई बेग्लाबेग्लै स्थानमा निर्माणाधीन पुल भत्किएका समाचार बाहिर आएको छ । कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको बिम सोमबार खस्दा कामदार घाइते भएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका ८ कालीगण्डकी नदीमा यस्तो घटना भएको हो । निर्माणाधीन पुलले दामाचौर र पाल्पाको रामपुरवासीलाई जोड्ने गरी निर्माण हुँदै गरेको हो । बन्दाबन्दै बिम खसेपछि निर्माण कार्य अवरुद्ध भएको छ । क्रेनको सहायताले फलामे बिम उठाउने क्रममा बिमसहित कामदार भुइँमा खसेका थिए । सो घटनामा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रह्यो । संरचना निर्माण गर्दा किन पर्याप्त होस पु-याइएन ?

सिन्धुलीको सदरमुकाम हुँदै बग्ने ग्वाङ खोलामा समेत सोमबारै अर्को घटना भयो । सोमबार राति आएको बाढीले पक्की पुल ढलानका लागि तयार पारिएको संरचना बगाएको छ । चैतमै आएको बाढीले संरचना भत्काउनु आफैँमा आश्चर्यजस्तै बनेको छ । तीन वर्षअघि नै ठेक्का लागेको भए पनि धेरै ढिलो गरी पुल निर्माण सुरु भएको थियो । सिन्धुलीको मुख्य बजार क्षेत्र र सिन्धुली कारागारलाई जोड्ने सो पुल ३० मिटर लम्बाइको बन्दै थियो । पुल बगाउँदा करिब तीन करोड रुपियाँ बराबरको क्षति भएको निर्माण कम्पनीको दाबीसमेत आइसकेको छ । यी ताजा घटना पछिल्ला उदाहरण हुन् । समयमा काम नहुने मात्र होइन, गुणस्तरीय पूर्वाधार निर्माण नहुने रोगले मुलुकी पूर्वाधार क्षेत्र पीडित बनेका यस्ता अनेकौँ उदाहरण छन् ।

चालू आर्थिक वर्षको नौ महिना बित्न लाग्दा बल्ल २४ प्रतिशत हाराहारी पुँजीगत खर्च भएको छ । पुँजीगत भौतिक पूर्वाधार निर्माणसँग जोडिएको छ । पुँजीगत बजेट खर्च समयमा हुन सक्दा पूर्वाधार निर्माणले गति लिने मात्र नभई त्यसले रोजगारी, लगानी, आय र उत्पादनसमेत बढाउँछ । आर्थिक वर्षको अन्तिम अन्तिमतिर पुँजीगत खर्चले व्यापकता लिने गरेको देखिन्छ । असारमा पानी झमझम परिरहँदा सडक कालोपत्रे गरिरहेको देख्न सकिन्छ । आर्थिक वर्षको अन्तिममा जसरी पनि खर्च गरेर बजेट सक्ने एक प्रकारको प्रवृत्ति नै देखिन्छ र त्यसले दिगो पूर्वाधार निर्माण समस्या खडा गर्ने गरेको छ । बलियो र गुणस्तरीय पूर्वाधार निर्माणका लागि सरोकार सरकारी निकायले बलियो कदम चाल्नु जरुरी छ । अनुगमन गर्ने निकायले राम्ररी अनुगमन गर्नुपर्छ । दिगो पूर्वाधार निर्माण नगर्नु भ्रष्टाचारको मुख्य कारण हुन सक्छ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको मान्यतालाई पूर्वाधार निर्माणको क्षेत्रमा कडाइका साथ लागू गर्नु वाञ्छनीय भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?