logo
२०८० चैत्र १६ शुक्रवार



ऊर्जामा थपिएको उत्साह (सम्पादकीय)

विचार/दृष्टिकोण |




नेपालको आर्थिक विकासका केही आधारमध्ये जलस्रोत प्रमुख हो । सेतो सुन भनेर चिनिने जलविद्युत्बाटै नेपालको आर्थिक विकासको कायापलट हुन सक्छ तर लामो समय नेपालको जलस्रोत उपयोग हुन सकेन । कुल ८३ हजार मेगावाट जलविद्युत्को सम्भावना भए पनि आर्थिक तथा प्राविधिक रूपले नेपालमा ४३ हजार मेगावाट जलविद्युत् उत्पादन गर्न सकिने तीन दशकअघि नै अध्ययनले स्पष्ट गरेको हो तर अझै पनि दुई हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिएको छैन । उत्पादित बिजुलीको समेत बजार सुनिश्चित हुन सकेको थिएन । प्रसारण लाइनको तथा बजार अभावले एक प्रकारको अनिश्चितता थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको हालैको भारत भ्रमणबाट ऊर्जा बाजारमा उत्साह छाएको छ ।

आन्तरिक खपतपछि नेपालको विद्युत् निर्यात गर्ने हालको बजार भारत नै हो । नेपालको भारतीय बजारमा थप ३२५ मेगावाट विद्युत् निर्यात गर्न पाउने भएको छ । प्रधानमन्त्री देउवाको हालै सम्पन्न भारत भ्रमणका क्रममा जारी भएको ऊर्जासम्बन्धी संयुक्त दृष्टिकोण अनुरूप यस्तो अनुमति प्राप्त भएको ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले बुधबार जानकारी दिनुभएको छ । यसअघि ३९ मेगावाट विद्युत् भारत निर्यात हुँदै आएको थियो । पछिल्लो उपलब्धिसँगै नेपालको अब कुल ३६४ मेगावाट विद्युत् भारत निर्यात हुने भएको छ ।

यसले नेपालमा सरकारी तथा निजी क्षेत्रबाट निर्माणाधीन जलविद्युत् आयोजनामा लगानी बढाउन थप उत्साह बढ्ने भएको छ । नेपालको विद्युत् व्यापारको सन्दर्भमा प्रधानमन्त्री देउवाका यो पटकको भारत भ्रमण कोसेढुङ्गा नै साबित भएको छ । भ्रमणको अवसरमा जारी भएको ऊर्जासम्बन्धी संयुक्त दृष्टिकोणले नेपालको ऊर्जा बजारमा नयाँ आयाम थपेको छ । संयुक्त दृष्टिकोणमा नेपाल भारत विद्युतीय व्यापारलाई व्यावसायिक हिसाबले सहज बनाउने सहमति भएको थियो । सहमतिको एक साता नबित्दै सरकारी स्वामित्वका तीन र एक निजी प्रवद्र्धकको जलविद्युत् आयोजनाको बिजुली भारतीय बजार प्रवेशका लागि त्यहाँको विद्युत् मन्त्रालयमार्पmत केन्द्रीय विद्युत् प्राधिकरण (एनभीभीएन) ले अनुमति दिएको खबर आउनु नेपालको विद्युत् व्यापारका लागि राम्रो उपलब्धि हो ।

त्यसो यो नेपालका लागि मात्र उपलब्धि होइन । कोइलालगायतको थर्मल परियोजनाबाट विद्युत् उत्पादन गरिरहेको भारतलाई हालैको रुस र युक्रेनबीचको युद्धपछि ठूलो समस्या परेको थियो । पेट्रोलियम तथा कोइला आपूर्तिमा अवरोध आएका कारण भारतीय स्वतन्त्र ऊर्जा बजारमा प्रति युनिट विद्युत् दर २२ भारतीय रुपियाँ परेको थियो । नेपालले समेत सोही दरमा केही दिन विद्युत् खरिद गर्न बाध्य भएको जानकारी आएकै हो । यताका दिनमा बढेको गर्मी यामसँगै पग्लेको हिउँले नेपालका नदीहरूमा जलप्रवाह बढेको छ । बढेको जलप्रवाहले विद्युत् जलविद्युत् आयोजनाको विद्युत् उत्पादनमा बढोत्तरी आएको छ । यसै मौसममा भारतसित विद्युत् व्यापारमा प्राप्त ताजा अवसरले बढी भएको विद्युत् खेर जाने अवस्थाबाट नेपालले पार पाउनु ऊर्जा क्षेत्रको ठूलो उत्साह हो ।

नेपालको विद्युत् खरिद गर्ने भारतीय सहमतिले नेपालले अब जुनसुकै बेला चारवटा जलविद्युत् आयोजनाको बिजुली बेच्न सक्ने भएको । नेपाल विद्युत् प्राधिकरणका अनुसार अनुमति पाएका आयोजनामा कालीगण्डकी ‘ए’को १४० मेगावाट, मध्य मस्र्याङ्दीको ६८ मेगावाट, मस्र्याङ्दीको ६७ मेगावाट र निजी क्षेत्रको लिखु–४ को ४१ मेगावाट छ । यसअघि गत कात्तिकमा १५ मेगावाटको त्रिशूली र २४ मेगावाटको त्रिशूली जलविद्युत् आयोजनाको विद्युत् भारतीय विद्युत्को अनुमति पाएर बिक्रीसमेत भइसकेको छ । यसै बेला सोलु करिडोरको प्रसारण लाइनसमेत तयार भइसकेको छ । प्रधानमन्त्री देउवाको भारत भ्रमणको अवसरमा सो प्रसारण लाइन उद्घाटन भयो र विद्युत् आपूर्ति सुरु भयो ।

तीन वर्षअघिदेखि सोलुमा उत्पादन भई प्रसारण लाइनको अभावमा खेर गएको ३५ मेगावाट विद्युत्समेत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सोलु जलाधार क्षेत्रमा थप आयोजना विद्युत् उत्पादनका लभभग अन्तिम चरणमा छन् । उत्पादन हुनासाथ राष्ट्रिय प्रसारण लाइनमा जोडिन अब प्रसारण लाइनको पूर्वाधारले छेक्न सक्ने छैन । आन्तरिक उपभोगलाई थप औद्योगिकीकरण गरी विद्युत्बाट आय, उत्पादन र रोजगारी बढाउनतिर लाग्न अब ढिला गर्नु हुन्न । निर्यातसमेत सुनिश्चित हुँदै गएको परिवेशमा अब जलविद्युत्मा लगानी अरू बढ्ने बाटोसमेत खुला हुनु सकारात्मक ऊर्जा क्षेत्रको सकारात्मक सन्देश हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?