logo
२०७९ जेष्ठ २ सोमवार



विदेशी मुद्रा सञ्चिति (सम्पादकीय)

विचार/दृष्टिकोण |




मुलुकी अर्थतन्त्रमा अहिले आशालाग्दो उज्यालो छैन । यताका आठ–दस महिनामा विदेशी मुद्रा सञ्चिति घट्दै गएको छ । त्यसै पनि नेपालमा विदेशी मुद्रा आर्जनका बाटा सीमित छन् । सीमित बाटोमध्ये विदेशमा काम गर्न गएका नेपाली दिदीबहिनी र दाजुभाइले त्यहाँ गर्ने आर्जन पहिलो हो । त्यो आर्जन विदेशी मुद्रामै नेपाल आउँछ । नेपाल भित्रिएपछि त्यो विदेशी मुद्रा नेपाल राष्ट्र बैङ्कमा सञ्चय हुन्छ र घरपरिवार तथा आफन्तलाई नेपाली रुपियाँ दिइन्छ । त्यसलाई अर्थशास्त्रीय भाषामा विप्रेषण आय भनिन्छ । नेपाली अर्थतन्त्रमा यताका वर्षमा कुल गार्हस्थ्य उत्पादनको झन्डै एकचौथाइ अंश विप्रेषण आयले धानेको छ । धेरै देशले गर्ने निर्यात व्यापार विदेशी मुद्रा आर्जनको बलियो स्रोत हो तर हाम्रो निर्यातको आकार सानो हुँदा समस्या छ ।

विदेशी पर्यटक नेपाल घुम्न आउँदा ल्याउने खर्च अर्को विदेशी मुद्राको स्रोत हो । कोरोना (कोभिड–१९) पछि विश्वमै पर्यटन आयमा बादल लाग्यो । त्यो प्रतिकूल प्रभाव विदेशी मुद्रा आयमा प-यो । भर्खर बादल फाट्दै छ । नेपालमा पनि पर्यटनको उज्यालो आउन थालेको छ । विदेशी लगानी विदेशी मुद्राको अर्को स्रोत हो । विदेशी मुद्रा केन्द्रीय बैङ्कमा सञ्चय गरेर नेपाली मुद्रामा लगानीकर्ताले लगानी गर्छन् । वैदेशिक लगानीसमेत अर्थतन्त्रलाई बलियो बनाउने गरी आउन नसकेको यथार्थ हाम्रोसामु छ ।

विदेशी मुद्रा सबैजस्तो अर्थतन्त्रका लागि त्यति सहज हुँदैन । झन् नेपालजस्तो कम विकसित मुलुकले आयातमै बढी निर्भर हुनुपर्छ । नेपालको वैदेशिक व्यापार ९० प्रतिशतभन्दा बढी आयात र बाँकी मात्रै निर्यातमा आधारित छ । चालू आर्थिक वर्षको आठ महिनामा १३ खर्ब रुपियाँभन्दा बढी आयात पुगिसकेको छ । महँगिँदो अन्तर्राष्ट्रिय बजार र पेट्रोलियमको बढ्दो मूल्यले हाम्रो आयातलाई सकस पारिरहेको छ । आयातका लागि विदेशी मुद्रा नै चाहिन्छ । यस्तो बेला विदेशी मुद्राको जतनले प्रयोग आवश्यक हुन्छ । सरकारले विदेशी विनिमय सञ्चिति बढाउन आयात नियन्त्रण तथा बाह्य क्षेत्रबाट विदेशी मुद्रा आप्रवाह बढाउन एकसाथ पहल थालेको देखिएको छ  । अर्थ मन्त्रालयका अनुसार विदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै विप्रेषण ल्याउन पहल थालिएको छ । नेपाल कोरोना प्रभावबाट मुक्त हुँदै गएको परिवेशमा पर्यटक बढाउन प्रवद्र्धनात्मक पहल आरम्भ भएको हो । यसमा विदेशस्थित नियोगलाई नेपालमा पर्यटन प्रवद्र्धनका लागि पहल गर्न आवश्यक गृहकार्य गरिएको छ ।

सङ्कटको बेला कम खर्च गर्नु पनि बुद्धिमानी हुन्छ । आयात वृद्धिका कारण विदेशी विनिमय सञ्चितिमा परेको चापलाई ध्यानमा राखी केही वस्तुको आयात केही समयका लागि रोक्नसमेत गृहकार्य भएको छ । नेपाल राष्ट्र बैङ्कले त्यसका लागि गृहकार्य गरेकै फलस्वरूप नेपाल बैङ्कर्स सङ्घले अत्यावश्यकबाहेकका विलासिताका वस्तुको आयातका लागि प्रतीतपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ । त्यसअघि नै केन्द्रीय बैङ्कले नगद मार्जिन तोकेका ४७ समूहका वस्तुको एलसी तत्काललाई नखुलाउन गृहकार्य गरेको थियो । राष्ट्र बैङ्कको गृहकार्यबमोजिम सङ्घको आइतबारको बैठकमा अत्यावश्यकबाहेकका गाडी, चकलेट, पफ्र्युमलगायत वस्तुको एलसी नखोल्ने अनौपचारिक सहमतिले ठूलो मात्रामा विदेशी मुद्रा बाहिर जान रोकिनेछ । बैङ्कर्स सङ्घका अनुसार नगद मार्जिन तोकेका चिनी, चकलेट, चुइगम, इनर्जी ड्रिङ्क, चुरोट, अत्तर, शृङ्गारका सामग्री, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामग्री र फर्निचर, कृत्रिम फूल, मार्बल, चाँदी, फलामका फर्निचर, प्लास्टिकका फर्निचर र गाडी तथा मोटरसाइकलको आयातको एलसी खुल्ने छैन ।

विदेशी मुद्रा सञ्चयका यी रणनीतिक उपायसँगै पछिल्ला तथ्याङ्कले केही सकारात्मक सङ्केत पनि दिएको छ । विप्रेषण आय पछिल्ला दिनमा बिस्तारै बढ्ने क्रम आरम्भ भएको छ । लगानी प्रोत्साहन गर्नसमेत गृहकार्य भइरहेको छ । त्यस सन्दर्भमा विदेशमा काम गर्ने नेपालीलाई स्वदेशमा लगानी गर्न सहज हुने गरी नीति तथा कार्यक्रममा सम्बद्ध सरकारी निकायको प्रयास छ । यसले विदेशी मुद्रा सञ्चयलाई बढोत्तरी दिने छ । श्रीलङ्काले विदेशी मुद्रा सञ्चितिमा कमी आएका कारण भोगिरहेको मौजुदा आर्थिक सङ्कटलाई नेपालले समयमै चिन्नु जरुरी छ । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नबाटै बच्नु राम्रो हुन्छ । अहिले नेपालले गरेको रोग लाग्नै नदिने प्रयास आफैँमा सकारात्मक छ । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?