logo
२०७९ जेष्ठ २ सोमवार



ताजा आर्थिक परिसूचक( सम्पादकीय)

विचार/दृष्टिकोण |




देशको अर्थतन्त्रबारे अनेक चर्चा–परिचर्चा चल्न थालेपछि सरकारले ताजा अवस्था स्पष्ट गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले सोमबार पत्रकार सम्मेलन गरेर नेपाली अर्थतन्त्र कतिपयले हल्ला गरेजस्तो गम्भीर सङ्कटमा नरहेको स्पष्ट पार्नुभयो । अर्थतन्त्रका ताजा परिसूचक सार्वजनिक गर्दै नेपाली अर्थतन्त्र श्रीलङ्काजस्तो नहोस् भनेर सरकारले सुधारका कदम चालिसकेको पनि उहाँले जानकारी दिनुभयो । अर्थतन्त्रलाई स्वाभाविक गतिमा जान दिनुपर्नेछ र यसमा स्वार्थको रोटी सेक्नेको भनाइमा नलाग्नु राम्रो हुन्छ ।

अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको फागुनसम्मको मुद्रास्फीति पाँच दशमलव चार प्रतिशत रहेको छ । यसले महँगीको औसत अवस्था देखाउँछ । यो आठ महिनामा आयात भने उच्च नै देखिएको छ भने निर्यातमा समेत बढोत्तरी आएको छ । यो अवधिमा १४ खर्ब ५० अर्ब रुपियाँको आयात भएको छ भने निर्यात एक खर्ब ५९ अर्ब रुपियाँ रहेको छ । अर्थमन्त्री शर्माले आयात बढ्दा विदेशी मुद्राको सञ्चिति घटेको र अब त्यसलाई बढाउन प्रयास थालिसकिएको जानकारीसमेत दिनुभयो । विदेशी मुद्रा सञ्चिति ११ खर्ब ७१ अर्ब रुपियाँ रहेको छ । यसले छ महिनाभन्दा बढी आयातलाई धान्न सक्छ । कम विकसित मुलुकमा तीन महिनाको आयात धान्ने विदेशी मुद्रालाई समेत ठीकै मानिन्छ ।

नेपालको आयात उच्च हुँदै गएकाले त्यसलाई खरिद गर्न बढी विदेशी मुद्राको दबाब परेका कारण समस्या आउन सक्ने भनी सचेत हुनु बेग्लै पक्ष हो । यो एकै पटक आएको समस्या पनि होइन । विगत दुई वर्षयता कोरोना (कोभिड–१९) महामारीले पर्यटक आवागमनमा कमी भएका कारण पनि विदेशी मुद्रा आर्जनमा समस्या भएको हो तर यताका दिनमा कोरोना प्रभाव न्यून भएसँगै पर्यटक आवागमन बढ्न थालेको छ । यसले विदेशी मुद्रा आर्जनमा सकारात्मक प्रभाव पार्ने देखिएको छ ।

विदेशमा काम गर्न गएका नेपालीले पठाउने विपे्रषण पनि बढेको छ । विगत महिनामा यस्तो आय घटेको भए पनि फागुनमा बढेर कुल विप्रेषण आप्रवाह छ खर्ब ३१ अर्ब रुपियाँ पुगेको छ । फागुन एकै महिनामा ९१ अर्ब रुपियाँ विप्रेषण प्राप्त भएको छ । यताका वर्षमा नेपालको विदेशी मुद्रा आयको प्रमुख स्रोत नै विप्रेषण भएको छ । यसको वृद्धिले नेपाली घरपरिवार खुसी हुने मात्र नभई देशको आर्थिक प्रणालीमा समेत सकारात्मक योगदान पुग्ने गरेको छ । यसैगरी यो आठ महिनामा वैदेशिक लगानी प्रतिबद्धता ३३ अर्ब ३८ करोड रुपियाँ रहेको छ । वैदेशिक लगानी विदेशी मुद्रामै प्राप्त हुन्छ र त्यसलाई केन्द्रीय बैङ्कमा राखेर सोहीबराबरको नेपाली मुद्रामा लगानीकर्ताले काम गर्छन् । वैदेशिक लगानीले विदेशी मुद्रा भण्डार बढ्नुका साथै लगानीले बहुआयामिक प्रभाव पर्छ । नयाँ क्षेत्रमा लगानीले नयाँ रोजगारी सिर्जना गर्छ भने आय र उत्पादनसमेत बढाउँछ ।

सरकारले सरकारी खर्च तथा राजस्वको अवस्थासमेत सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयका अनुसार चालू साधारण खर्च छ खर्ब पाँच अर्ब रुपियाँ भएको छ । अन्य खर्चको तुलनामा यो आठ महिनामा साधारण खर्च उच्च नै देखिएको छ । त्यसैगरी पुँजीगत खर्च ९७ अर्ब ६६ करोड रुपियाँ मात्र भएको छ । झन्डै चार खर्ब रुपियाँ पुँजीगत खर्चमा एक खर्ब पनि नपुग्ने अवस्था भने लक्ष्यअनुसारको काम होइन । अर्थमन्त्री शर्माले अब पुँजीगत खर्च बढ्नेछ भन्नुभयो । त्यसैगरी साँवा तथा ब्याज तिर्न वित्तीय व्यवस्थापन खर्च ६४ अर्ब ९७ करोड रुपियाँ देखिएको छ । यो अवधिमा राजस्व उठ्तीको अवस्था सकारात्मक छ । कुल सात खर्ब ५० अर्ब रुपियाँ आठ महिनामा राजस्व सङ्कलन हुनु भनेको बजेटले निर्धारण गरेको लक्ष्यमा पुग्न सकिने बाटो नै हो ।

बैङ्क तथा वित्तीय संस्थामा निक्षेप सङ्कलनमा कमी भए पनि उच्च ऋण लगानी भइरहेको छ । सहुलियत कर्जासमेत बढेको छ तर त्यसको उत्पादनमा सकारात्मक प्रभाव भने परेको छैन । कतिपय अवस्थामा अमिल्दा परिसूचकमाथि अर्थ मन्त्रालय र यसका सम्बद्ध निकायले निगरानी बढाउनुपर्ने हुन्छ । कतिपयमा अर्थशास्त्रीय अध्ययन विश्लेषणसमेत गर्नुपर्ने हुन्छ । समग्रमा परिसूचक अति नराम्रा छैनन् तर अर्थतन्त्रको मौजुदा अवस्था सुधार गर्न भने आर्थिक अनुशासन र कठोर मेहनत वाञ्छनीय छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?