logo
२०८१ जेष्ठ १ मंगलवार



पार्टी निर्णयप्रति नेपालको असहमति

राजनीति |


पार्टी निर्णयप्रति नेपालको असहमति



गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ४ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य माधवकुमार नेपालले पार्टीले गरेको केही निर्णयप्रति असहमति जनाउनुभएको छ ।
सचिवालय सदस्य नेपालले मङ्गलबारको सचिवालय बैठकमा सातबुँदे असहमतिपत्र बुझाउनुभएको छ । उहाँले नेकपा विधानअनुरूप विधि, पद्धति, मापदण्ड र कमिटी प्रणालीका आधारमा चल्नुपर्नेमा जोड दिनुभएको छ । सो बैठक भने कार्यसूचीमै प्रवेश नगरी स्थगित भयो ।
दुई पार्टीको एकता प्रक्रियालाई गुटगत स्वार्थका कारण अनावश्यक रूपमा लम्ब्याएको गुनासो गर्दै उहाँले एकता लम्बिँदा नेता कार्यकर्ता निरुत्साहित भएको दाबी गर्नुभएको छ । विधानमा व्यवस्था भएअनुरूप पोलिटब्युरो गठनलाई विभिन्न बहनामा टार्दै गएको दाबी गर्दै उहाँले केन्द्रीय कमिटीको कार्यविभाजनमा पनि असन्तुष्टि जनाउनुभएको छ ।
पार्टीको निर्णयविपरीत अत्यन्तै व्यस्त रहनुुपर्ने मुख्यमन्त्री, मन्त्री, मेयरजस्ता राज्यको पदमा रहेकालाई जिम्मेवारी दिनुका साथै पहिले प्रदेश कमिटीमा रहेका तथा वरिष्ठहरूलाई पन्छाउँदै कनिस्ठहरूलाई प्रदेश सदस्य बनाइएकोलाई सच्याउन उहाँले माग गर्नुभएको छ । त्यसैगरी जिल्ला तथा मातहत कमिटीहरूमा पनि नवप्रवेशीहरूलाई स्थान दिएकोप्रति पनि उहाँले आपत्ति जनाउनुभएको छ ।
यसैबीच नेकपाका केन्द्रीय सदस्य प्रभु साहले प्रदेश २ कमिटीको अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ । उहाँले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष मङ्गलबार राजीनामा दिनुभएको हो । आफूलाई अध्यक्ष बनाइए पनि भूमिकाविहीन बनाएको गुनासो गर्दै नेता साहले राजीनामा दिनुभएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?